नेकपा विवाद : शीर्ष नेताबीच संवाद ठप्प, के होला मंसिर १३ पछि ?

नेकपा विवाद : शीर्ष नेताबीच संवाद ठप्प, के होला मंसिर १३ पछि ?


काठमाडौं ।

आरोप प्रत्यारोपका बीच विवाद बढ्दै जाँदा नेकपाका दुई समूहका शीर्ष नेताबीच संवाद ठप्प भएको छ । तर, दश दिनका लागि सचिवालय बैठक स्थगित गरेका शीर्ष नेता समूहगत छलफल र रणनीतिमा निर्माणमा भने व्यस्त छन् ।

दुवै पक्षबीचको संवादहीनता र यसबीचमा उनीहरुले गरेको तयारीले मंसिर १३ को सचिवालय बैठकपछिको नेकपा राजनीति थप टकरावपूर्ण र जटिल हुने सम्भावना बढेको छ ।

पछिल्लोपटक कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टी सचिवालयमा प्रवेश गरेका दुवै अध्यक्षका पत्र र दाहालको राजनीतिक प्रस्तावलाई छलफलका लागि तल्ला तहसम्म पठाएपछि नेकपाभित्र बढ्दो टकराव सतहमा आएको हो । पार्टी विवाद मिलाउन दोस्रो तहका केही नेताहरुको दौडधूप चले पनि गुटगत गतिविधि रोकिएका छैनन् । यसबीचमा ओली र दाहालनिकट नेताहरुसँग भने नियमित संवाद र छलफलमा छन् ।

दाहाल नेपाल समूहले कात्तिक २२ मा सचिवालय बैठक बोलाउन माग गर्दै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई लेखेको पत्र, सचिवालयका पाँच सदस्यले लेखेको पत्रको प्रधानमन्त्रीले कात्तिक २२ मा लेखेको जवाफी पत्र र त्यसको जवाफमा दाहालले कात्तिक २८ मा लेखेको पत्रसहित २८ कै सचिवालय बैठकमा पेस गरेका १९ पेजको राजनीतिक प्रस्तावलाई बुकलेटका रुपमा तल्ला कमिटीमा पठाएको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्षमाथि गम्भीर आरोपसहित आएको दाहाल प्रस्तावले नेकपाभित्र तरंग मच्चाएका बेला दाहाल नेपाल समूहले उक्त प्रस्ताव तल्लो तहमा पठाएपछि नेकपाभित्र धुव्रीकरण बढ्दै गएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले २८ कात्तिकमा दाहालले लेखेको पत्र र राजनीतिक प्रस्तावको मंसिर १३ को सचिवालय बैठकमा लिखितरुपमै जवाफ दिने तयारी गरेका छन् । योसँगै दुवैपक्षका आरोप लिखितरुपमै पार्टी कमिटीमा प्रवेश गर्नेछन् ।

मंसिर ३ को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले राखेको अभिव्यक्ति उनको सचिवालयले जस्ताको त्यस्तै संचारमाध्यममा प्रवाह गरेको र यो अनुशासनविपरित भएको दावीसहित दाहाल नेपालसमूहले लिखित पत्र र प्रस्तावलाई तल्लो तहसम्म पठाउन थालेको बताएको छ ।

प्रधानमन्त्री ओली समूहले मदन भण्डारी फाउन्डेसन र मदन भण्डारी स्पोर्टस् एकेडेमीमार्फत गुटगत गतिविधि गर्दै आएको आरोप अर्को समूहको छ । शनिबार सुर्खेतमा मदन भण्डारी स्पोर्टस् एकेडेमीमार्फत् ओली समूहले प्रदेशस्तरीय भेला गरेर पार्टी विभाजनलाई मलजल गरेको दाहाल नेपाल समूहको आरोप छ ।

शनिबार नै स्थायी कमिटी सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा चितवनमा ओली समूहका कार्यकर्ताले नाराबाजी गरेका थिए । घटनाको वरिष्ठ नेताहरु झलनाथ खनाल, नेपाल र प्रवक्ताले भत्र्सना गर्दै छानविनको माग गरेका थिए । स्थायी कमिटी सदस्य पाण्डेमाथि चितवनमा आफ्नै पार्टीका कार्यकर्ताले दुर्व्यवहार गरेपछि त्यसले नेकपाको केन्द्रीय राजनीति थप तरंगित बनाएको छ ।

त्यसको भोलिपल्ट आइतबार दाहाल नेपाल समूहका नेता कार्यकर्ता सहभागी कार्यक्रममा भाग लिन पोखरा पुगेका थिए । पाण्डेको उक्त कार्यक्रमलाई लिएर ओलीसमूहले गुटगत गतिविधि गरेको आरोप लगाएको छ ।

शनिबार नै प्रधानमन्त्री ओलीले विपक्षी दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेपछि दाहाल नेपाल समूह थप सशंकित बनेको छ । सोमबार ताप्लेजुङ पुगेका ओलीले दाहाल नेपाल समूहका गतिविधिलाई लिएर आक्रोश पोखेका थिए ।

प्रधानमन्त्री ओलीको भनाई थियो, ‘अहिले सरकार चलाइरहेको पार्टीभित्र अनेक प्रकारका, कहिले पार्टी अध्यक्षका विरुद्ध, कहिले प्रधानमन्त्रीका विरुद्ध, कहिले लिखित र कहिले छापेर त्यस्ता सामग्री वितरण गरिएका छन् । सरकार ढलिहाल्छ जस्ता कुराहरू तपाईंहरूले सुन्नुभएको हुन सक्छ । केही–केही मान्छेहरू, केही काम नपाएका मान्छेहरू, देशमा अस्थिरता चाहने मान्छेहरू, देशलाई स्थिरतामा जान नदिन खोज्ने मान्छेहरू र देशको प्रगति हेरेर तर्सिएका मान्छेहरूले यसो गरिरहेका छन् । अहिलेको सरकार लोकप्रिय हुन्छ भन्ने पीर केहीलाई परेको छ ।’

मंसिर २ मा प्रधानमन्त्री ओलीले चिनियाँ राजदूत हाउ यान्छीसँग डेढ घन्टा संवाद गरेका थिए । भेटबारे प्रधानमन्त्रीको सचिवालय र दूतावासले औपचारिक रूपमा केही बताएका छैनन् । नेकपा विवाद हुँदा विगतमा पनि चिनियाँ राजदूतले प्रधानमन्त्रीसहित नेकपाका नेताहरुसँग भेट गर्ने गरेकी थिइन् । राजदूतले सोमबार अर्का अध्यक्ष दाहालसँगसमेत भेट गरेकी छिन् ।

नेकपामा पहिलोपटक दुई अध्यक्षका फरकफरक प्रस्ताव पेश हुँदैछन् । अहिले एकीकृत प्रतिवेदन बनाउने विकल्पमा छलफल भए पनि मंसिर ३ को बैठकपछि ओली र दाहालबीच भेट भएको छैन । दुई प्रतिवेदन फिर्ता वा सहमतितिर नगए नेकपाको राजनीति बहुमत अल्पतमा जाने खतरा पनि बढेको छ । पार्टीको पछिल्लो विवाद छलफलका लागि मंसिर १३ मा सचिवालय, १८ मा स्थायी कमिटी र २५ मंसिरमा केन्द्रीय कमिटीको बैठक बोलाइएको छ ।कान्तिपुरबाट

Logo