स्वास्थ्य विशेष : किन हुन्छ, हृदयघात ? यस्ता छन् बच्ने उपाय (भिडियोसहित)

स्वास्थ्य विशेष : किन हुन्छ, हृदयघात ? यस्ता छन् बच्ने उपाय (भिडियोसहित)


दैनिक जीवनशैलीमा भएको परिवर्तन र अव्यवस्थित खानपानले पछिल्लो समय धेरैजसो मानिसमा हृदयघात हुने गरेको छ । हृदयघात विशेष गरी ४० वर्षमाथिका मानिसहरूमा देखा पर्दछ । तर गलत खानपान र शारीरिक व्यायामको अभावमा आजकल युवा उमेरका मानिसमा पनि हृदयघातको समस्या देखिन थालेको छ । त्यसैले हृदयघात जो कसैलाई, जहाँ पनि हुन सक्छ । हृदयघात आकस्मिक दुर्घटना हो । यो रोग अकस्मात घटित भएतापनि यसको पछाडि धमनीहरूमा कोलेस्ट्रोल जम्न गई धमनी साँघुर्याउने आर्थरोस्क्लेरोसिस् भन्ने रोगको सिलसिला वर्षौ वर्षदेखि जोडिएको हुन्छ । धमनीहरुमा कोलस्टोरोल जमाउन एउटा नभएर धेरै कारणहरू जिम्मेवार भएकाले यस रोगलाई बहुकारणिक रोग पनि भनिन्छ ।

के हो हृदयघात ?

मुटुको कार्यसंचालनमा अकस्मात अवरोध पैदा हुनुलाई हृदयघात भनिन्छ । मुटु मांशपेशीहरुले बनेको अंग हो । जसले शरीरका विभिन्न अंगहरुमा रगत पम्प गर्छ । मुटुको रक्त प्रवाहित गर्ने धमनीहरुमा जब रोकावट आउँछ, त्यस हिस्सामा रक्त सञ्चार नहुँदा मांसपेशीहरु मर्न थाल्छन् । यसबाट मुटुको क्रिया प्रभावित हुन्छ र हृदयघात हुन पुग्छ । यी धमनी वा धमनीका शाखाभित्र अकस्मात रगत जम्न जाँदा, जमेको रगतको थेग्लाले धमनी थुनिदिँदा, थुनिएको भागभन्दा अगाडिका हृदयपेशीहरू अक्सिजन र पोषकतत्वको अभावमा मर्न गई देखा परेको आपतकालीन समस्या हो, हृदयघात । जसमा व्यक्तिको छाती वा शरीरको माथिल्लो भागमा समस्या हुने गर्दछ । विरामीलाई सास फुल्ने समस्या तथा वान्ता आउने समस्या हुने गर्दछ । 

हृदयघातको लक्षण केहीमा विस्तारै, एक दिन पहिला वा हप्ता दिन पहिलेबाट देखिन सुरु हुने गर्दछ । यसमा मुटु बढी धड्किने गर्दछ । त्यस्तै शरीरको एक भागमा सुन्निनु, शरीर कमजोरी हुनु, बोल्न समस्या हुनु, व्यवहारमा परिवर्तन र अनुहारमा चमक हराउनु, मान्छेको कुरा बुझ्न समस्या हुनु, आँखामा समस्या हुनु, अज्ञात किसिमको दुखाइ हुनु, परिश्रम गर्दा दम बढ्नु, खुट्टाहरू सुन्निनु, घाँटीको रक्तनली फुल्नु, देब्रे छातीतिर श्वास फेर्न गार्हो हुने, चिटचिट पसिना आउनु, वाकवाक लाग्नु हृदयघात हुनु अघिका लक्षणहरू हुन् ।

हृदयघातको संकेत

सामान्यतः छातीमा तीब्र दुखाइ हुनु नै हृदयघातको संकेत हो । यद्यपि यति मात्र हृदयघातको संकेत होइन । हृदयघात हुनु अघि नै छालामा केही अरू संकेत देखा पर्छ । मुटुको स्वास्थ्य गडबड भएपछि छालामा अनेक किसिमका संकेत देखिन थाल्छ । शरीरको अचानक जुनसुकै भागमा स–साना बिबिरा आउँछन् भने यो हृदय रोग पनि हुन सक्छ । यस्ता बिबिरा शरीरमा कोलेस्ट्रोलको स्तर बढेपछि देखिन्छ । 

यस्तै दुवै आँखाको छेउमा सेतो–पहेँलो चिप्रा जस्तो देखिन्छ । कसै–कसैमा यो चिप्रा जमेको मैन बत्ती जस्तै पनि देखिन्छ । आँखाका साथै यस्तो चिप्रा हात र खुट्टामा पनि देखा पर्न सक्छ । यसले कुनैपनि बेला हृदयघातको जोखिम निम्त्याउँछ । शरीरको कुनैपनि भागको छालामा नीलो वा बैजनी रंगको देखिनु पनि अस्वस्थ्य मुटुको संकेत हो । यस्तो लक्षण धेरैजसो खुट्टाको औंला आसपासमा देखा पर्छ । छालामा निलो, बैजनी निसानाको अर्थ हो शरीरको कुनै भागमा रगत जमेको छ र पर्याप्त अक्सिजन पुगिरहेको छैन । धमनीमा रगत जम्मा हुँदा धमनी ब्लक हुन्छ, जो हृदयघातको कारण बन्न जान्छ ।

त्यस्तै औंलाको माथिल्लो भाग सुन्निएमा यो पनि हृदयघातको पूर्वसंकेत हुन सक्छ । सामान्यतः नङको भाग सुन्निनु भनेको मुटुमा संक्रमण भएको वा अरू रोग भएको संकेत हो । कहिलेकाहीँ फोक्सोको समस्याले पनि यस्तो लक्षण देखाउँछ । यद्यपि यी सबै संकेत हृदयघातको कारण बन्न सक्छ । हात वा खुट्टाको औंलामा स–साना घाउखटिरा जस्तो देखिन्छ र यो दुख्ने किसिमको छ भने यसले पनि हृदयघातको संकेत गर्छ ।

हृदयघातका कारणहरू
–उच्च कोलेस्ट्रोल : कोलेस्ट्रोल रगतमा पाइने र शरीरलाई चाहिने एक किसिमको चिल्लो पदार्थ हो । तर यो तत्वको मात्रा सामान्यभन्दा ज्यादा भएमा मुटु, मस्तिष्क, आँखा, गोडाका धमनीहरूमा जम्न गई हृदयघात, मस्तिष्कघात जस्ता समस्या गराउँदछ । फ्रि रेडिकलहरुसँग मिलेर रगतका नसाहरूलाई घात गर्न सक्ने विषाक्त तत्वमा परिवर्तित हुन पुगी रक्तनलीहरूमा सूक्ष्म घाउहरु बनाउँछ । घाउ भएको स्थानमा कोलेस्ट्रोल क्याल्सियम र मृत कोषहरुले बनेको प्लाक नामक डल्लो बन्छ । यो डल्लोले नसा साँघुर्याएर उक्त अंगहरुको रक्त सञ्चारलाई प्रभावित पार्दछ र हृदयघात गराउँछ ।

–उच्च रक्तचाप : मुटुरोग उच्च रक्तचापको कारण लाग्ने गर्दछ । यो रक्तनलीमा रगत बग्दा रगतले रक्त धमनीहरूमा दिएको अतिरिक्त दबाब हो । यसरी लामो समयसम्म रगतले रक्तनलीको भित्तामा दबाब दिँदा धमनीहरूको भित्री पत्र इन्डोथेलियम लेयर क्षतिग्रस्त हुन गई उक्त भागमा कोलेस्ट्रोल जम्ने र प्लाक बन्ने क्रिया द्रूतगतिमा हुन पुग्छ र हृदयरोग हुन्छ ।

–मधुमेह : मधुमेह हुँदा बढेको ग्लुकोजले स–साना रक्तनलीहरुलाई क्षतिग्रस्त गर्ने र कोषहरुको कोलेस्ट्रोल ग्रहण गर्ने क्षमता कम हुने हँुदा नसालाई क्षतिग्रस्त हुन र कोलेस्ट्रोल बढ्न मदत गर्छ । यसो हुँदा रक्तनलीमा चाँडै बोसो जमी हृदयघात हुन्छ ।

–मोटोपन : मोटोपन भएका व्यक्तिहरूलाई धेरै किसिमका रोगहरु लाग्ने खतरा हुन्छ । मोटोपन भएकाहरुको बोसो तन्तुले र लिपोकाइन्स भन्ने केमिकल उत्पादन गर्दछ, जसलाई मुटुरोगको पनि कारक मानिन्छ । यसका साथ मोटोपनले मुटुरोगका अन्य जोखिमहरूलाई बढी जन्माउँछ ।

–धुम्रपान तथा सुर्ती  सेवन : सुर्तीमा रहेका बिषहरूले रगतको कोलेस्ट्रोललाई अक्सिडाइज गरी झन विषाक्त बनाउन मद्दत गर्दछ जसले धमनीहरूलाई क्षतिग्रस्त पार्छ । धुम्रपान नगर्ने भन्दा गर्नेलाई मुटुरोग लाग्ने खतरा ज्याँदा रहन्छ ।

–मदिरा सेवन : रक्सीमा भएको एल्डिहाइडले बोसो लाग्न मद्दत गर्छ । रक्सीले कलेजो आन्द्राभुँडी तथा मस्तिष्क तथा अन्य कोमल अंगहरूलाई पनि क्षति पुर्याउने हुँदा त्यसको भार पनि मुटुले ब्यहोर्नु पर्छ फलतः मुटुमा गम्भिर असर पर्छ । 

–निष्कृय जीवन : मुटुरोगले श्रम र व्यायाम नगरी निष्कृय जीवन जिउनेहरुलाई ज्यादा मन पराउँछ । निष्कृय जीवन जिउँदा मुटु तथा रक्तनलीलाई व्यायाम हुन सक्दैन । व्यायाम र श्रमबाट भाग्दा कोलेस्ट्रोलको रक्तस्तर, सुगरको रक्तस्तर र शारीरिक तौल घटाउन सकिँदैन । फलतः मुटुरोग चाँडै लाग्ने सम्भावना रहन्छ ।

–मानसिक तनाव–तनावले रक्तचाप, रक्त सुगर, हृदयको गति, कोलेस्ट्रोल, बोसो लाग्ने क्रियालाई बढाउँछ । यसरी सबै कुरा बढ्दै जाँदा हृदयरोग लाग्छ ।

–चोकर र रेसाको कमी : रेसा र चोक्कर नभएको मसिनो मीठो खानाले मुटुलाई राम्रो गर्दैन । चोक्कर भएको खानाले विषाक्त तत्वहरुलाई अवशोषण गरी नशामा बोसो जम्न दिँदैन । मसिनो मीठो खानाले तौल पनि चाँडो बढाउँछ । फलतः मुटु रोग लाग्छ ।

–भिटामिन र एन्टीअक्सिडेन्टको कमी : भिटामिन, खनिज, एन्टिअक्सिडेन्ट र अन्य सूक्ष्म पोषक तत्वहरूले हृदयरोगबाट बचाउँछ । भिटामिन ए, भिटामिन सी र भिटामिन इ नशाको भित्रीपत्रलाई स्वस्थ राख्न आवश्यक पर्दछ । भिटामिनले रगत जम्ने क्रियालाई पनि नियन्त्रण गर्दछ । मुटुलाई चाहिने अन्य पोषकहरुमा केही धातु र खनिजतत्वहरु पर्दछन् । यसका अलावा एन्टिअक्सिडेन्टको पनि उत्तिकै महत्व छ । एन्टिअक्सिडेण्टले अक्सिडेन्टिव प्रतिक्रिया हुन नदिएर नशालाई क्षति ग्रस्त हुनबाट बचाउँछ ।

–अवस्थ्यकर खाने तेलको प्रयोग : तेललाई धेरै तताउँदा वा अन्य तत्वसँग मिसाउँदा, उमाल्दा वा ब्याक्टेरियल फरमन्टेसन भएर तेल टुटी ट्रान्स फ्याटी एसिड बन्छ । स्याचुरेटेड र ट्रान्स फ्याटी एसीडको सेवनले रगतमा कोलिस्ट्रोलको स्तर बढ्ने र स्तर घट्ने गर्दछ । फलतः तेलको ज्यादा वा अप्राकृतिक उपयोग पनि मुटुरोगको कारक बन्न पुग्दछ ।

– बंशाणुगत : हृदयघात बंशाणुगत रोग पनि हो । हृदयघात सन्तानलाई जन्मजात पनि सर्दछ । हृदयघातको इतिहास भएका र यस्ता व्यक्तित्वहरु दुब्ला पातला भएपनि उनीहरुको कलेजोले प्राकृतिकरूपमै धेरै कोलेस्ट्रोल बनाउन गई हृदयघात हुन सक्छ । 

हृदयघातबाट बच्ने उपाय

कोलस्ट्रोल नियन्त्रण गर्नु नै हृदयघातबाट बच्नुको मुख्य उपाय हो । कोलस्ट्रोल बढेमा मुटुसँग सम्वन्धित रोगहरुको खतरा रहन्छ । त्यसैले उच्च रक्तचाप र बढेको कोलस्ट्रोललाई नियन्त्रण गर्नका लागि विशेष ध्यान दिनु आवश्यक हुन्छ ।

– स्वस्थ भोजनको मात्र खानपान गर्ने, प्रशस्त फलफूल, हरियो सागसब्जी खाने ।
– खानामा चिनी, नुन र चिल्लोको कम मात्र प्रयोग गर्ने । यीनीहरुले धमनीहरुमा रगतको ढिक्का बनाउने सम्भावना प्रबल हुन्छ । 
– नियमित ३० मिनेट हिँड्ने, शारीरिक कसरत, योग तथा व्यायाम गर्नाले हृदयघातको खतराबाट सजिलै बच्न सकिन्छ ।
– धूम्रपान साथै सूर्तिजन्य पदार्थको सेवन नगर्ने । 
–उच्च रक्तचाप, कोलस्ट्रोल, मधुमेहको समस्यामा नियमित परीक्षण गर्ने ।
–वजन नियन्त्रण गर्ने, मोटोपनाले पनि मुटुमा विभिन्न समस्या निम्त्याउँछ । त्यसैले आफ्नो उमेर र लम्बाईको हिसाबले आफ्नो वजन नियन्त्रण गर्ने ।   
–बदामको सेवन गर्ने, यसले रक्तनलीमा सकारात्मक प्रभाव पार्छ । साथै यसले हानिकारक कोलस्ट्रोल कम गर्न पनि मद्दत गर्छ । हृदयघातबाट बच्नका लागि 
–तारिएको र भुटिएको खानेकुराको कम सेवन गर्ने ।
– खानामा तेलको कमभन्दा कम प्रयोग गर्ने । जसमा पनि जैतुनको तेल उचित मानिन्छ । जैतुनको तेलमा फ्याटी एइसिड प्रचुर मात्रामा हुने भएकाले मुटु रोगको खतरालाई कम गर्छ ।
–जीवनशैली परिवर्तन गर्ने तथा शारीरिक रूपमा सक्रिय रहने 
–मदिराबाट टाढा रहनुका साथै चिसो हावाबाट पनि टाढा बस्ने । 

Logo