लाइफ स्टाइल वाग्मती

यसकारण हुन्छ मस्तिष्काघात, बच्ने कसरी ? (भिडियाेसहित)

15 Shares

मस्तिष्कको कार्यक्षमतामा अचानक आएको ह्रासलाई चिकित्सकीय भाषामा मस्तिष्काघात अर्थात् ‘ब्रेन स्ट्रोक’ भनिन्छ। मस्तिष्क हाम्रो शरीरको केन्द्रीय नियन्त्रण कक्ष हो । यो सबै मानसिक क्रियाको ‘प्रोसेसिङ’ एकाइ पनि हो। 

मस्तिष्कलाई रगत आपूर्ति गर्ने धमिनी फुटेर रक्तस्राव भई वा रक्तनलीभित्रै रगतको थेल्ला जमेर वा अन्य कारणले रक्तनली थुनिएर स्नायु तन्तुमा पोषक तत्व र अक्सिजन आपूर्ति हुन नसक्दा कोषिका मर्न जाने समस्या मस्तिष्काघात हो । यसरी मस्तिष्कको नसामा रगत सञ्चारमा कमी भएमा दुई मिनेटमा २० लाख कोषिका मर्ने गर्दछन् ।

अप्रत्यासित रूपमा हुने मस्तिष्काघातले अधिकांश बिरामीलाई पक्षघात पनि हुने हुँदा यो रोगलाई पक्षघात, प्यारालाइसिसलगायत नामले पनि सम्बोधन गर्ने गरिन्छ। मस्तिष्काघात हुँदा नष्ट भएका स्नायु तन्तुले काम सुचारु गर्न नसक्दा तत्कालै ज्यान जानसक्ने वा बाँचिहाले पनि अधिकांश व्यक्ति विकलांग, परनिर्भर र पराश्रित भएर बाँच्नुपर्ने अवस्था आउँछ। यो समस्या मस्तिष्कको रक्तसञ्चार प्रक्रियासँग सम्बन्धित छ । 

विश्वव्यापी रूपमा मानिसमा हुने अपांगताको पहिलो र मृत्युको चौथो कारणसमेत बनेको छ मस्तिष्काघात । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर हरेक वर्ष १ करोड ५० लाखभन्दा बढी मानिस मस्तिष्काघातको सिकार हुने गरेका छन्,  जसमध्ये ५० लाख मानिसको यसबाट मृत्यु हुने गरेको छ  भने ५० लाख मानिस अपांग हुने गरेका छन् । बाँकी रहेका ५० लाखमध्ये १५ लाख उपचार र पुनःस्थापनापछि सामान्य जीवनमा फर्कन सफल भएका छन् । ३५ लाख मानिस सामान्य अपांगताका साथ बाँचिरहेका छन्।

हाम्रो मुलुकमा पनि मस्तिष्काघातका कारण धेरै मानिसले आफ्नो ज्यान गुमाएका छन् । एक अध्ययनअनुसार नेपालमा हरेक वर्ष कूल जनसंख्याको डेढदेखि दुई प्रतिशत मानिसलाई मस्तिष्काघात हुने गरेको छ । विश्व स्वास्थ्य संगठनको अगुवाइमा हरेक वर्ष अक्टोबर २९ लाई विश्व मस्तिष्काघात दिवसका रूपमा  मनाउँदै आइएको छ । 

मस्तिष्काघातका लक्षण

हाम्रो शरीरमा मस्तिष्कको काम धेरै महत्वपूर्ण हुन्छ । यस्तो अवस्थामा शरीरका अन्य रोगलाई बेवास्ता गरियो भने यसले हाम्रो मस्तिष्कलाई विपरीत ढंगले प्रभावित गर्छ । अचानक सहनै नसक्ने गरी टाउको दुख्नु, रिंगटा लाग्नु, शारीरिक सन्तुलन बिग्रिएर ढल्नु, शरीरको एक पाटोमा झमझम गर्नु, निदाउनु वा कमजोरी देखापर्नु, होस हराउनु, हिँडाइ लड्बडिनु, एकाएक दृष्टि धुम्मिनु वा बन्द हुनु, बोली लट्पटिनु वा बोल्न नसक्नु, हाँस्दा एकतर्फको मुख बांगो हुनु, पसिना छुट्नु, वान्ता हुनु, ढाड दुख्नु आदि मस्तिष्काघातका प्रमुख लक्षण हुन् । 

यदि यस्तो कुनै पनि लक्षण देखिएका बिरामीलाई समयमै अस्पताल पु¥याउन सकियो भने बचाउन सकिने सम्भावना बढी हुनुका साथै विकलांगता कम गराउन सकिन्छ । 
 
मस्तिष्काघातका प्रमुख कारण

मस्तिष्काघातको कारणमा अहिलेको व्यस्त जिन्दगीमा मानसिक तनाव, परिवर्तनशील जीवनशैली, धुम्रपान, मदिरापान, उच्च रक्तचाप, मधुमेह, मोटोपन आदिलाई प्रमुख मानिन्छ । यीबाहेक निरन्तर बसेर काम गर्ने शैलीले पनि मस्तिष्क र मुटुसम्बन्धी रोग निम्त्याउने गर्छ । यही कारणले अचेल मस्तिष्काघात जस्ता समस्या दिनहुँ बढ्न थालेका छन् । 

हाम्रो शरीरमा मस्तिष्कको काम धेरै महत्वपूर्ण हुन्छ । यस्तो अवस्थामा शरीरका अन्य रोगलाई बेवास्ता गरियो भने यसले हाम्रो मस्तिष्कलाई विपरीत ढंगले प्रभावित गर्छ ।

यीबाहेक वातावरण र मौसममा असामान्य परिवर्तन पनि एक हो, जसले हाम्रो छाला र दिमागलाई प्रतिकूल ढंगबाट प्रभावित गरिरहेको हुन्छ । जाडो मौसममा यसको जोखिम अझ धेरै हन्छ । यसबाहेक टाइप–२  मधुमेहका बिरामीलाई मस्तिष्काघातको जोखिम धेरै हुन्छ । गर्भ निरोधक चक्कीको सेवन र कोलेस्ट्रोलको बढ्दो स्तरले पनि मस्तिष्काघातलाई निम्त्याउने गर्छ ।

कसलाई हुन्छ मस्तिष्काघात ? 

५० वर्ष उमेर नाघेका, उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोल भएका तथा यी रोगका औषधी कहिले खाने, कहिले छाड्नेहरु, अतिव्यस्त जीवनशैली जिउनेहरु, तनाव, चिन्ता, शोकमा परेकाहरु, मुटु तथा रक्तसञ्चारसम्बन्धी समस्या जस्तैः एट्रियल–फ्रिविलेसन, अथेरोस्क्लेरोसिस, डिपभेन थम्बोसिस, एन्युरिजम्, पुरानो माइग्रेन भएका व्यक्तिमा मस्तिष्काघातको जोखिम उच्च हुन्छ ।

यसबाहेक रक्तस्रावसम्बन्धी समस्या जस्तैः घाउ हुँदा रगत बगेको बग्यै हुने वा नसाभित्रै रगत जम्ने समस्या भएकाहरु, गर्भ निरोधक औषधि खाने महिला, परिवारमा मस्तिष्काघातको समस्या भएका व्यक्तिहरू, टाइप–२ मधुमेह भएका व्यक्तिहरू, हालसालै अथवा पुरानो मस्तिष्क संक्रमणले ग्रस्त बिरामीमा मस्तिष्काघात ज्यादा देखिएको छ । 

कसरी बच्न सकिन्छ ?

१. ४० वर्ष उमेर पुगेपछि नियमित रक्तचाप, मधुमेह, कोलेस्टेरोलको नियमित जाँच गराउनुपर्छ । जोखिम भएको पाइएमा यसलाई नियन्त्रण गर्न चिकित्सकको सल्लाहअनुसार औषधी खानुका साथै जीवनशैली पनि परिवर्तन गर्नुपर्छ । औषधी सेवन गरी यी रोग नियन्त्रित भए पनि आफूखुसी औषधी खान छाड्नु हुँदैन ।
२. नियमित व्यायाम गर्ने बानी बसाल्नुपर्छ, जसमा योगा, जुम्बा, कार्डियो, जीम, बिहानको समयमा हिँडडुल गर्न सकिन्छ । 
३. खासगरी स्वस्थ्यकर खाना मसिनो मीठोभन्दा खस्रो मोटो खाना, हरियो सागसब्जी, फलफूल, रेसा र चोकरयुक्त भोजनलाई प्राथमिकता दिनु आवश्यक हुन्छ ।  तेल, घिउ, बोसोजस्ता चिल्ला पदार्थ कम खानुपर्छ । भिटामिन ‘ई’ युक्त पदार्थलाई खानामा अवश्य समावेश गर्नुपर्छ । 
४. धुम्रपान, मद्यपान, सूर्ति र नशालु पदार्थ सेवनबाट टाढा बस्नुपर्छ । 
५. तनावलाई त्यागौं, विश्राम गरौं, भावनालाई नियन्त्रण गरौं, जोखिमपूर्ण जीवनशैली र व्यक्तित्व भए, त्यसलाई सरल बनाऔं ।
६. शरीरको तौललाई आफ्नो कदअनुसार नियन्त्रणमा राख्ने । 
७. मष्स्तिकाघातका जोखिम मानिने शारीरिक समस्या, जस्तैः नसाभित्रै रगत जम्ने, मुटु तथा रक्तसञ्चार सम्बन्धी रोग, जस्तैः एट्रियल–फ्रिविलेसन, अथेरोस्क्लेरोसिस, डिपभेन थम्व्रोसिस, एन्युरिजम, लेफ्ट भेन्ट्रिकुलार डाइलेटेसन आदिको समयमै उपचार गर्नुपर्ने हुन्छ ।

मस्तिष्काघातपछिका समस्या

सघन तथा आपतकालीन उपचारपछि सबै मस्तिष्काघातका बिरामीलाई बचाउन सकिँदैन । बाँचेकामध्येमा पनि पूर्ण सकुशल हुन सकेका छैनन् भने सामान्य, मध्यम, परनिर्भर हुनुपर्ने अवस्थाका साथै निरन्तर चिकित्सा सेवा लिन पर्नेखालका विकलांगता देखापर्छ । मस्तिष्काघातले आघात पु¥याएको स्नायुकेन्द्रको स्थिति र ब्रेन ड्यामेजको प्रकृतिको आधारमा विभिन्न शारीरिक तथा मानसिक विकृति देखापर्छ जसमध्ये प्यारालाइसिस मुख्य हो । 

मष्स्तिकाघात भएको मानिस धेरै ओछ्यानमा परी राख्ने, हलचल गर्न नसक्ने अवस्थामा हुन्छ । त्यसले थप नयाँ शारीरिक समस्या आउन सक्छन् । यस्तो अवस्थामा धेरैलाई छातीको संक्रमण हुने सम्भावना हुन्छ । यस्तै अन्य समस्यामा  हात गोडाकोे रक्तनली जाम हुनु हो । यस्तो भएमा  छाती र मुटुमा समस्या भई झन् जटिल हुनसक्ने सम्भावना हुन्छ । यस्तै एकापट्टिका हात खुट्टा वा अनुहारमा झम्झमाहट, भारीपन वा कमजोरी देखिनु, खान चपाउन, निल्न र स्वाद पाउन गाह्रो हुनु स्पर्शादी शारीरिक संवेदना थाहा पाउने नहुनु, दृष्टि धुम्मिनु वा बन्द हुनु, मुड परिवर्तन भइरहनु, स्मरण शक्ति, एकग्रता वा चेतनाको स्तरमा परिवर्तन देखिनु र भावनात्मक रूपमा कमजोर हुनेजस्ता समस्या आउँछ । 

यसको साथै जटिलता लामो समय रहँदा हात÷गोडा आदिमा खाटे घाउको पनि जोखिम रहन्छ । बिस्तारै मिर्गौला र कलेजोको काम गर्ने क्षमता कम हुँदै जानसक्छ । 

उपचार मस्तिष्काघात भइसकेपछि सकेसम्म तत्काल उपचार सुरु गर्नुपर्छ । केही घन्टाभित्रै उपचार गर्न सकियो भने बन्द भएका नशा खुली मस्तिष्कमा स्थायी असर पर्नबाट जोगाउन वा न्युन गर्न सकिन्छ । यसको उपचार मुलभूत रूपमा औषधि प्रयोग नै हो । औषधि प्रयोग गरी पर्याप्त मात्रमा मस्तिष्कमा रक्तसञ्चार, अक्सिजन सञ्चार गराउने र मस्तिष्कको थप क्षति हुनबाट रोक्न सकिन्छ । उपचारबाट क्षति कम गरी मुटुको अवस्था स्थिर बनाई राख्न सकेमा ज्यान बचाउन सकिन्छ । 

कहिलेकाही मस्तिष्कको पे्रसर अत्यधिक बढ्न गएमा शल्यक्रिया आवश्यक पर्न सक्छ । यी सबै उपचार गर्दागर्दै पनि कहिलेकाही समस्या नियन्त्रण गर्न नसकी बिरामीको अवस्था झनै नाजुक हुनसक्छ । त्यस्तो अवस्थामा बिरामीलाई भेन्टिलेटरमा राख्नुपर्ने  हुनसक्छ । यसको बाबजुद पनि बिरामीको अवस्थामा सुधार नआई मृत्यु पनि हुनसक्छ । बिरामीको अवस्थामा सुधार भएमा एक–दुई महिनापछि बन्द भएको नसा खोल्न शल्यक्रिया गर्नुपर्ने हुनसक्छ।

प्रकाशित: २४ चैत्र २०७७ १९:२२ मंगलबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी