तथ्यांकमा टेकेर संसदभित्र बहस गर्न प्रधानमन्त्रीलाई गगन थापाको चुनौती

तथ्यांकमा टेकेर संसदभित्र बहस गर्न प्रधानमन्त्रीलाई गगन थापाको चुनौती


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले गरेका कामहरुको तथ्य र तथ्यांकमा टेकेर संसदभित्र बहस गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्तो दिएका छन्।

प्रतिनिधिसभाको विहिबारको बैठकको विशेष समयमा बोल्दै उनले मिथ्यांक अघि सारेर संसदबाहिर सभा सम्मेलनमा नभई तथ्यमा संसदभित्र बहस गर्न प्रधानमन्त्रीलाई चुनौती दिएका हुन्। उनले कसैले प्रश्न नगर्ने सभा सम्मेलनमा प्रधानमन्त्रीले मिथ्यांक प्रस्तुत गर्ने गरेको दाबी गर्दै एक, एक वटा आयोजना र कामका बारेमा संसदमा बहस गर्न चुनौती दिए। 

उनले सरकारको ३ वर्षे कार्यकालमा विकास निर्माणका काम चमत्कारिक ढंगले भएको भन्ने प्रधानमन्त्रीको दाबीलाई “अल्पज्ञान”को संज्ञा दिए। 

प्रधानमन्त्रीले संसदको रोष्टममा उभिएर २०७५ सालको असोज सम्म मेलम्चीको पानी आउँछ भने पनि प्रधानमन्त्री र मन्त्रीको कुरा नमिल्दा र ठेकेदारसँग कुरा नमिल्दा साढे २ वर्ष बढी समय लागेको र डेढ अर्ब रुपैयाँ अनावश्यक खर्च भएको भन्दै उनले भने “अहिले यत्रो फुर्ति ?” 

उनले बुढीगण्डकी, फास्टट्रयाक, पश्चिम सेती, कर्णाली करिडोर, कोशी करिडोर, बबई सिंचाई आयोजना, सिंक्टा सिंचाई आयोजना लगायत वर्षौंदेखि थला परेका राष्ट्रिय गौरवका आयोजनाहरुको निर्माण सम्पन्न गर्ने सम्बन्धमा भने सरकार उदासिन भएको आरोप लगाए। 

निर्माण सकिएर चालु भएको २ वर्ष भइसकेको सिन्धुली र राप्तीको पुल उद्घाटन गरिएको, बीच बाटोमा पुगेको कामको शिलान्यास गरिएको, कसैको डिपिआर नै नभएको भन्दै उनले बालुवाटारमा नै निर्माण सम्पन्न कोठाको शिलान्यास गरेर उद्घाटन गर्ने रहर पुरा गर्न  सुझाव दिए।

दिनको ३ किलोमिटर विस्तार नभएको बेला दैनिक १० किलोमिटर पीच भएको भनी प्रचार गरिएको उल्लेख गर्दै उनले क्यालकुलेटरले हिसाब गर्न प्रधानमन्त्रीलाई सुझाव दिए।
 
नियम, कानुन र काम लगाउने निकायको क्षमता लगायत पूर्वाधार निर्माणमा रहेको आधारभूत समस्याहरु सम्बोधन गर्न आफूहरु तयार रहेको भन्दै उनले त्यसतर्फ प्रधानमन्त्रीलाई रुची नै नभएको दाबी गरे।  

Logo