कोभिडपछि घुमफिर: टेम्केदेखि अपि बेस क्याम्पसम्म

कोभिडपछि घुमफिर: टेम्केदेखि अपि बेस क्याम्पसम्म


कोभिड–१९ ले जीवनको लय भत्किएको छ। मान्छेदेखि मान्छे डराउँदैछ। खोप लगाउनेक्रम जारी छ। समाज पुरानै अवस्थामा फर्किन समय लाग्छ तर दिनचर्या त चलाउनै पर्यो। कोभिडका कारण घुमफिर संस्कृतिमा केही परिवर्तन आउँदैछ, अचेल ठुल्ठूला समूहमा होइन, सस्यानो समूहमा परिवार र साथीसंगी घुम्नेक्रम सुरु भइसकेको छ। 

सबैले खोप लगाइसकेपछि फेरि आन्तरिक पर्यटन जुर्मुराउनेछ। हाम्रा हिमाल, पहाड र तराई जताततै छन् रमणीय गन्तव्यहरू। कति गन्तव्य चम्किसके, कतिलाई चम्काउनै बाँकी छ। यहाँ प्रशस्तै सम्भावना भएर पनि कम चर्चामा रहेका सात प्रदेशका सात गन्तव्यको चर्चा गरिएको छ। 

टेम्के–प्रदेश १  
टेम्के अर्थात पूर्वको सुन्दर पहाडी थुम्को। भोजपुर र खोटाङको सङ्गमस्थल (३,००० मि.)। यहाँबाट सूर्योदय, सूर्यास्त र हिमालको लर्कन देखिन्छ। हिमाल पनि कति हुन् कति! मनास्लु, दोर्जे लाक्पा, नुम्बुर, कार्यालुङ, गौरीशङ्कर, क्वाङदे, चोयु, कुसुम कङ्गारु, थामसेर्कु, खाङतेगा, क्यासर, मेरा पिक, नुप्से, सगरमाथा, ल्होत्से, चामलाङ, मकालु, कुम्भकर्णदेखि कञ्चनजङ्घासम्म।

सधैं शितल र शान्त डाँडो। डाँडाको थाप्लो मुन्तिर जंगल। जंगलमा चिरबिर। जंगली जनावरको बासस्थल पनि। डाँडामा एउटा शिवालय र गुफा छ। गुफामा उहिल्यै जोगीहरूले तपस्या गरेका थिए।  

टेम्केमा शिवरात्रि, बालाचर्तुदशी र रामनवमीमा मेला लाग्छ। मेला भरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ। 

मध्यपहाडी लोकमार्ग नजिकै पर्दछ। लोकमार्गको चखेवा भञ्ज्याङबाट ८ किमि दूरीमा पर्ने टेम्केसम्मै कच्ची सडक छ। भञ्ज्याङ क्षेत्रका होटलमा खाना र बास सुविधा पाइन्छ। 

टेम्के मुन्दुम पदमार्गसँग जोडिएको छ। टेम्केको बेस क्याम्प चखेवा भन्ज्याङ मुन्दुम पदमार्गको प्रवेशद्वार हो। भोजपुरको चखेवा भन्ज्याङ (२,३०० मि.) बाट सुरु हुने पदयात्रा धोत्रे, मैयुङ हाँसपोखरी, रावाधाप, साल्पा भन्ज्याङ (३,३४८ मि.) हुँदै सिलिचुङ (४,१५३ मि.) सम्म पुग्छ। 

टेम्के वर्षैभरि घुम्न सकिन्छ। असोजदेखि मंसिरसम्म र फागुनदेखि जेठसम्म मुन्दुम पदमार्ग घुम्ने उक्तम समय। 

कसरी पुग्ने?: काठमाडौं–खुर्कोट–दिक्तेल–चखेवा भन्ज्याङ ३१३ कि.मि. बसयात्रा। अथवा भोजपुर–काठमाडौं हवाईयात्रा ३० मिनेट। भोजपुर बजारबाट ४२ किमिमा चखेवा भन्ज्याङ। भन्ज्याङबाट ८ कि.मि. दूरीमा टेम्के। 

छिन्नमस्ता–प्रदेश २ 
सप्तरीमा रहेकी छिन्नमस्ता शक्तिपीठ हुन्। यिनको दर्शनले मनोकांक्षा पुरा हुने जनविश्वास छ। भाकल पूरा भएपछि देवीलाई बोका, हाँस, परेवा, भेडा, कुखुरा आदिको बलि चढाइन्छ।  

यहाँ नवरात्र (बडादसैं) र वैशाख १ गते मेला लाग्छ। मन्दिरमा देवीले मैशासुर बध झल्काउने मूर्ति छ। त्यस्तै मन्दिर हातामा गणेश, पञ्चमुखि हनुमान, पञ्चमुखी नाग, शनिलगायत देवदेवीका मूर्ति छन्। मन्दिरसँगै शान्ति सागर पनि छ। 

छिन्नमस्तामा पाँचवटा ठूल–ठूला वैदिक यज्ञ भैसकेका छन्। २०४५ सालमा सद्चण्डी रूद्र महायज्ञ, २०५९ सालमा सहस्त्र चण्डी रूद्र महायज्ञ, २०६० सालमा शिवशक्ति रूद्र महायज्ञ, २०७३ सालमा लक्ष्य चण्डी रूद्र महायज्ञ र २०७४ सालमा दशमहा विद्या सहरूद्र महायज्ञ। 

मन्दिर क्षेत्रमा धर्मशाला र खाजाघर छन्। पर्यटकीय होटलका लागि भने राजविराज पुग्नुपर्छ। छिन्नमस्तासँगै राजविराज क्षेत्रका राजदेवी, दुर्गा, वागेश्वरी, हनुमान, रामजानकी, राधाकृष्ण, विष्णु, वैष्णवी, काली, महादेवलगायतका तीर्थ घुमफिर गर्न सकिन्छ।  

राजविराजबाट ११ किमि दूरीमा रहेको हुनमाननगरमा अचम्मको मूर्ति छ। बालक हनुमानका दुवै हातले आशीर्वाद दिइरहेको मूर्ति। यस्तो मूर्ति हनुमाननगरबाहेक अन्यत्र छैन भनिन्छ। 

कसरी पुग्ने ?: काठमाडौंबाट राजविराज पुग्न गाडीमा ९ घन्टा। अथवा काठमाडौं–राजविराज ३५ मिनेट हवाईयात्रा। विमानस्थलबाट चार किमि दूरीमा छ राजविराज। राजविराजबाट १० किमिमा छिन्नमस्ता मन्दिर। 

र्च्याेदोङ –बागमती प्रदेश
दोलखाको हरित उपत्यका जिरीको शिरमा बसेकी छिन् र्च्याेदोङडाँडा (३,६९० मिटर)। हिन्दू र बौद्धमार्गीको साझा तीर्थ हो र्च्याेदोङ। डाँडामा लुङदार र बौद्ध झण्डा फर्फराइरहन्छन्। 

प्राकृतिक हिसाबले समेत मनमोहक छ यो ठाउँ। यहाँबाट पश्चिमदेखि पूर्वसम्म हिमालको लस्करै देखिन्छ, नुम्बुर, रामदुङ, छेकिगो, धारे मेलुङत्से, लाक्पा दोर्जे, टासी लाप्चा, गौरीशंकर, चिनियाँ हिमाल, आमा बामरे, गणेश र गोर्खा हिमालसम्म। 

डाँडामा महादेव (महेश्वर) मन्दिर छ। खुल्ला आकाशमुनि छन् देवता। प्राचीन शीला र त्रिशुल छन्। मनोकांक्षा पुरा हुने विश्वासमा भक्तजन त्रिशुल चढाउँछन्। यिनको पूजा गरेमा रोग व्याध नलाग्ने, वन्यजन्तुले चौपायालाई दुःख नदिने जनविश्वास छ। बौद्धमार्गीको उड्ने लामाको कथा जोडिएको छ यहाँ। 

जिरीबाट पदयात्रा गर्दा तीन घन्टामा क्याङ्सी पुगिन्छ। अनि क्याङ्सीबाट अर्को तीन घन्टामा र्च्याेदोङ। डाँडामा खाने/बस्ने सुविधा छैन। त्यसैले कित टेन्टसहित जानुपर्छ कि जिरीबाट बिहानै यात्रा सुरु गरेर साँझ जिरीमै फर्कनुपर्छ। 

पदयात्रामा चौंरीगाई भेटिन्छन्। शेर्पा र जिरेल संस्कृति अध्ययन गर्न पाइन्छ। क्याङ्सी पोखरीको परिक्रमा गरेर धुपधुँवार गरेपछि मात्र र्च्याेदोङ चढ्नु राम्रो मानिन्छ। 

र्च्याेदोङको काख पेमादिङमा चण्डी पूर्णिमा (साउन–भदौ) र रोम्बाले पूर्णिमा (कात्तिक) मा मेला लाग्छ। र्च्याेदोङेश्वर दर्शन गरी तल ओर्लेर मेला भर्ने चलन छ। र्च्याेदोङ मुन्तिरका पटासे डाँडा, शेर्पा वस्ती यलुङ पनि सुन्दर छन्। पटाँसेमा गुरु पद्मसम्भवको विशाल मूर्ति बनाउने अभियान सुरु भइसकेको छ। 

कसरी पुग्ने ?: काठमाडौं–जिरी १८८ किमि, बसमा  ७ घन्टा। जिरीबाट ६ घन्टा पदयात्रामा र्च्याेदोङ। 
  
टोड्के–गण्डकी प्रदेश 
बेनीको शिरमा मुस्कुराइरहेको पहाडी थुम्को (२,४०० मिटर) हो टोड्के। प्रकृति, अध्यात्म र संस्कृतिको त्रिवेणीधाम। डाँडाबाट गुर्जा, चुरेन, मानापाथी, धौलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र लमजुङ हिमाल छर्लङ्ग देखिन्छन्।   

ध्यान र योग केन्द्र बन्न सक्छ टोड्के। यहाँ स्वर्गद्वारी महाप्रभुलगायत धेरैले सन्तमहन्तहरूले तपस्या गरेको इतिहास छ। प्रमाणस्वरुप डाँडामा स्वर्गद्वारी आश्रमको शाखा ‘तपोवन शिवालय’ र सिद्धथान छँदैछन्। 

सबैले खोप लगाइसकेपछि फेरि आन्तरिक पर्यटन जुर्मुराउनेछ। हाम्रा हिमाल, पहाड र तराई जताततै छन् रमणीय गन्तव्यहरू। कति गन्तव्य चम्किसके, कतिलाई चम्काउनै बाँकी छ। यहाँ प्रशस्तै सम्भावना भएर पनि कम चर्चामा रहेका सात प्रदेशका सात गन्तव्यको चर्चा गरिएको छ। 

टोड्केमा पुग्दा मनमा ऊर्जा बढ्छ। वर्षैभरि घुम्न सकिन्छ। वर्षामा भुइँकुहिरो र भुइँफूल, असोज–कात्तिकमा हिमालको मुस्कान, पुसमाघमा हिउँ र चैत वैशाखमा गुराँसको बैंश भेटिन्छ। 

टोड्के नाउँ रहनुमा रोचक कथा छ। टोड्केको अर्थ प्वाल। जंगलमा ५० मिटर लामो सुरुङ छ। त्यो प्वालमा गाईवस्तु अड्किन्थे। तिनलाई बाघभालुले खाइदिन्थे। गाउँलेले टोड्को भएको ठाउँ भन्दाभन्दै टोड्के नाम रहेको भनिन्छ। 

म्याग्दीको बेनी नगरपालिका, रघुगंगा गाउँपालिका र मंगला गाउँपालिकाको संगममा पर्दछ टोड्के। यसको काखमा रहेका गाउँहरू झीँ, वाखेत, पूर्णगाउँ र कुहुँगाउँ पनि सुन्दर छन्। यी गाउँमा होमस्टे सुविधा छ भने डाँडामा रिसोर्ट पनि छ।   

बेनीबाट टोड्केसम्म १४ किमि पदयात्रा गर्न सकिन्छ। त्यस्तै टोड्केबाट ९ किमि पदयात्रामा मालिकाधुरी पुगिन्छ।  

कसरी पुग्ने ?: काठमाडौं–बेनी २८२ किमि, बसमा ९ घन्टा। अथवा काठमाडौं–पोखरा हवाईयात्रा २५ मिनेट। पोखरा–बेनी ८२ किमि, बसमा ३ घन्टा। बेनीबाट सडकमार्ग भएर टोड्के पुग्ने ५ रुट छन्। सबैभन्दा छोटो रुट बेनी, अर्थुङे,, पुलाचौर, डढुवा, पूर्णगाउँ हुँदै टोड्के १४ किमि हो। 
 
जलजला–लुम्बिनी प्रदेश 
रोल्पाको सबैभन्दा अग्लो भूभाग हो जलजला (३,६५० मि.)। प्राकृतिक सम्पदा र धार्मिक आस्था केन्द्र जलजला क्षेत्र तीन हजार मिटर उचाइदेखि सुरु हुन्छ। यसको धार्मिक, प्राकृतिक र ऐतिहासिक महत्व छ। 

गुरिल्ला पदमार्गमा पर्ने जलजलाबाट सिस्ने, पुथा, गुर्जा र धौलागिरि हिमाल देखिन्छ। त्यहाँ बीचमा सानो उपत्यका छ जहाँ हरिया पाटन छन्। र बज्यु बराह, कैलु बराह र सतदेवका मन्दिर छन्। 

कोभिड–१९ ले जीवनको लय भत्किएको छ। मान्छेदेखि मान्छे डराउँदैछ। खोप लगाउनेक्रम जारी छ। समाज पुरानै अवस्थामा फर्किन समय लाग्छ तर दिनचर्या त चलाउनै पर्यो। कोभिडका कारण घुमफिर संस्कृतिमा केही परिवर्तन आउँदैछ, अचेल ठुल्ठूला समूहमा होइन, सस्यानो समूहमा परिवार र साथीसंगी घुम्नेक्रम सुरु भइसकेको छ। 

वर्षमा तीनपटक वैशाख, जेठ र साउने पूर्णिमाका दिन जलजलामा मेला लाग्छ। तीर्थालुहरू भेडा र कुखुराको बलि चढाउँछन्। यसरी पूजासहित बलि चढाएमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ। 

राष्ट्रिय प्रकृति कोषले जलजला क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरेको छ। जलजलामा भामा गुफा छ। यसको दक्षिणतिर खोला बग्छ। जलजला क्षेत्रमा थरीथरीका गली, जनावर, वनस्पति, फूल, जडीबुटी र चरा पाइन्छन्। 

जलजला क्षेत्रमा धर्मशाला छ। जलजला मुन्तिर थवाङ गाउँ २,००० मिटर उचाइमा छ। गाउँमा होमस्टे सुविधा छ। 

वर्षैभरि जलजला घुम्न सकिन्छ। बर्खामा जलजला रङविरङ्गका भुइँफूलले रमाइलो हुन्छ। असोज–कात्तिकमा आँखैमा हिमाल टाँसिन्छन्। पुसमाघमा हिउँ पर्छ। चैत–वैशाखमा गुराँसको बैंसले लोभ्याउँछ।  

कसरी पुग्ने ?: काठमाडौं–लिवाङ (४६५ कि.मि.) बसमा १२ घन्टा लाग्छ। अथवा हवाई यात्राबाट काठमाडौं–भैरहवा २५ मिनेटमा पुगिन्छ। भैरहवा–लिवाङको दूरी २३० कि.मि. छ। लिवाङ–थवाङ ६४ कि.मि.को बाटो जीपमा ६ घन्टा लाग्छ। थवाङबाट चार घन्टा पदयात्रामा जलजला। 

पञ्चकोसी–कर्णाली प्रदेश 
पञ्चकोसी दर्शनले पितृ उद्धार, आत्मशुद्धि र मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ। दैलेखका शिरस्थान, नाभीस्थान, पादुकास्थान, धुलेश्वर र कोटिलालाई पञ्चकोसी तीर्थ भनिन्छ। पञ्चकोसी क्षेत्रमा प्राकृतिक ग्यासबाट बलेका ज्वाला, नदी र पहाडी भूगोल पाइन्छन्। 

पञ्चकोसी प्रकृति र अध्यात्मको दोभान मानिन्छ । वैश्नावरपुराणमा पञ्चकोसीको वर्णन छ। पाँचै ठाउँमा मन्दिर छन्। शिरस्थानमा तीन र नाभिस्थानमा दुईवटा अखण्ड ज्वाला छन्। 

दैलेख बजारमा बसेर जीपमा एकै दिन पञ्चकोसीको फेरो मार्न सकिन्छ। शिरस्थानमा महाशिवरात्रिमा, नाभीस्थानमा माघे सङ्क्रान्तिमा, पादुकामा जनै पूर्णिमामा, कोटिलामा वैशाख १ गते, धुलेश्वरमा नवरात्रमा र डुंगेश्वरमा मंसिर पूर्णिमामा मेला लाग्छ। 

पञ्चकोसीको सेरोफेरोमा दुल्लु छ। दुल्लु ऐतिहासिक थलो हो। इतिहासअनुसार सिञ्जापति खस राजाको वर्षे राजधानी जुम्लाको सिञ्जा थियो भने हिउँदे राजधानी दैलेखको दुल्लु। दैलेखमा २७९ मूर्त र २२ भन्दा बढी अमूर्त सम्पदा छन्। 

पञ्चकोसी मात्र होइन, पहाडको थाप्लोमा बसेको दैलेख बजार, भूर्तिका देवल र महाबु लेक पनि विचित्रका छन्। महाबु भन्ज्याङले चाहिँ दैलेख र कालिकोटलाई जोड्छ। कालिकोटको सीमामा पर्छ महाबु पर्वत (४,१०० मि.)। त्यहाँबाट हिमाली सौन्दर्य देखिन्छ।  

कसरी पुग्ने ?: काठमाडौं–सुर्खेत–दैलेख ६५० किमि, बसमा १६ घन्टा लाग्छ। अथवा काठमाडौं–सुर्खेत एक घन्टा हवाई यात्रा। सुर्खेत–दैलेख ६७ कि.मि., बसमा तीन घन्टा। नेपालगन्ज–सुर्खेत–दैलेख १६७ किमि, बसमा ५ घन्टा लाग्छ। 

अपि बेस क्याम्प–सुदूरपश्चिम प्रदेश 
दार्चुलामा पर्ने अपि हिमाल (७,१३२ मिटर)को फेदीसम्म पुग्दा साहसिक अनुभव हुन्छ। हिमालको फेदमै क्याम्पिङ गरेर बस्न सकिन्छ। बेस क्याम्पमा अपि र नम्पा हिमालसँगै रिङदेपानी, कायाकोर, कालीढुङ्गा र बबई लगायतका हिउँचुली लहरै उभिएका छन्। 

चौलानी (चमेलिया) नदीको मुहान अपि हिमाल र नम्पा चुलीको फेदी हो। चमेलिया जलविद्युत् परियोजनाको बाँध बिटलेमा छ। त्यहाँबाट अपि हिमालको फेद पुग्न चमेलिया नदीको किनारैकिनार उकालो चढ्नुपर्छ। 

गाउँतिर एउटा उखान छ–नङमाथि मासु छैन, सितीमाथि गाउँ छैन। सिती गाउँसम्म सामान्य खाना र बास पाइन्छ। माथि तीन दिनको बाटामा क्याम्पिङ गर्नुपर्छ। 

चमेलियामा असला माछा छन्। त्यसलै यसलाई ‘फिसिङ ट्रेल’ पनि भन्न सकिन्छ। अर्को कुरा, सितीबाट अघि बढ्दा दोमुल आउँछ। चमेलिया र रोखाबु नदीको दोभानमा देवी पूजा गरेर मात्रै माथि अघि बढ्नुपर्छ। यात्रा शुभ होस् भनेर रूखको फेदमा धूपबत्ती बालिन्छ।  

सरकारले दार्चुलाका १,९०३ वर्ग किमि समेटेर २०६७ साल असार २८ मा अपिनाम्पा संरक्षण क्षेत्र घोषणा गरेको थियो। संरक्षण क्षेत्रमा हिउँचितुवा, रेडपाण्डा, मृग, घोरल, झारल, भालु, नाउर आदि पाइन्छन्। डाँफे र मुनाललगायतका चरा पनि पाइन्छन्। संरक्षण क्षेत्रमा बोन धर्म मान्ने शौका जातिको बसोबास छ। भदौदेखि कात्तिकसम्म अपि पदयात्राको उत्तम समय।   

कसरी पुग्ने ?: काठमाडौं–धनगढी (६८० कि.मि.) बस यात्रा वा हवाई यात्राबाट १ घन्टा १० मिनेट। धनगढीबाट डोटी, डडेलधुरा, बैतडी हुँदै दार्चुलाको बिटलेसम्म बसमा। बिटलेबाट सात दिनको पदयात्रामा अपि बेस क्याम्प। 

Logo