दसैंमा खाना पकाउन जाँगर छैन?: अनलाइनबाटै दैलोमै आइपुग्छ चौरासी ब्यञ्जन (भिडियाे)

दसैंमा खाना पकाउन जाँगर छैन?: अनलाइनबाटै दैलोमै आइपुग्छ चौरासी ब्यञ्जन (भिडियाे)


विगत केही वर्षदेखि नेपालमा अनलाइन सपिङको व्यापकता बढेसँगै शहरियाहरु यसमा झुम्मिन थालेका छन्। विशेष गरी शहरमा पढ्न, काममा ब्यस्त हुनेहरूका लागि अनलाइन सपिङले दिनचर्या निकै सहज बनाइ दिएको छ। यसैक्रममा अनलाइन सपिङमा अहिले फुड डेलिभरी गर्ने अनलाइनहरुलाई भ्याइ नभ्याइ छ। 

धेरै मानिसहरुले कार्यव्यस्तताका कारण खाना पकाउन नभ्याउने वा थकाइले खाना पकाउन अल्छी लाग्ने हुन्छ। यस्तो बेलामा आफूलाई मन पर्ने खाना अनलाइनमार्फत अर्डर गर्दा दैलोमै आइपुगेपछि धेरैलाई राहत मिलेको छ।

आज हामी आफ्नो रोजाइको खानाका साथै समयको पनि बचत हुने अनलाइन फुड डेलिभरी सर्भिसहरुको बारेमा चर्चा गर्न गइरहेका छौं। 

१. फुडमाण्डु
फुडमाण्डु खानाको परिकार डेलिभरी गर्ने नेपालकै पहिलो कम्पनी हो। फुडमाण्डुले मानिसहरुको आवश्यकताअनुसार खाना तथा खाजाका परिकारहरु अनलाइन डेलिभरी गर्दै आइरहेको छ। 

मानिसहरूले आफ्नो आवश्यकताअनुसार अर्डर गरी फुडमाण्डूबाट सजिलै घरमै बसेर यसको सेवा लिन सक्छन्। ग्राहकहरुले फुडमाण्डुको सेवा कम्पनीको वेवसाइट, मोवाईल एप वा टेलिफोन जुनसुकै माध्यमबाट लिन सकिन्छ। 

काठमाडौंका विभिन्न उत्कृष्ट रेष्टुरेण्टहरुका परिकारहरु ग्राहकको घरदैलोसम्म डेलिभरी सेवा प्रदान गर्दै आएको छ। करिव १७५ भन्दा बढी प्रख्यात रेष्टुरेन्टहरुसँग सहकार्य गर्दै ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ। फुडमाण्डु सन् २०१० मा स्थापना भएको थियो । स्थापना कालदेखि फुडमान्डुले अहिलेसम्म लाखौं उपभोक्ताहरुलाई सेवा प्रदान गरेको छ। 

२. भोक लाग्यो
शहरमा थुप्रै अनलाइन फुड डेलिभरीमध्ये चर्चा कमाएको भोक लाग्यो पनि एक हो। भोक लाग्योको सेवाले धेरैलाई सहज बनाएको छ। यो सेवा धराने युवा नरेन कुलुङले सञ्चालनमा ल्याएका हुन्। अनलाइनबाट ग्राहकहरुमा सेवा प्रदान गरिरहेको छ । ‘भोक लाग्यो’ डटकमले बिहानदेखि सेवा दिन्छ। डेलिभरी सेवाबापत बजारभरी नै  डेलिभरी चार्जको रुपमा करिब ३५ रुपैंयाँ लिने गरेको छ। त्यसका लागि ग्राहकले न्यूनतम पाँच सय रुपैयाँसम्मको खाना अर्डर गर्नुपर्छ। 

३. फुड म्यारियो
फुड म्यारियो अनलाइनले घरेलु भान्सामा पाकेका स्वादिला परिकारहरु मानिसको घर–घरमा सर्भ गर्ने काम गर्छ। 

रेस्टुराँमा खानपिन गर्ने शैली बदल्ने उद्देश्यका साथ सुरु भएको फुड म्यारियोको खास विशेषता भनेको हरेक घरमा ३०/४० वर्षदेखि विभिन्न परिकार बनाउने अनुभवी तथा सौखिन व्यक्तिहरु छन्। उनीहरूको अनुभव र सीपलाई उपयोग गरेर आम्दानी गर्नु हो। 

फुड म्यारियो अरुभन्दा धेरै फरक छ । अरु अनलाइन फुड डेलिभरीहरुले रेस्टुराँको खानेकुरा पुर्याउँछन् र खाना पुर्याएको पैसा लिन्छन् । तर, फुड म्यारियोले घरको खाना, खाजा पुर्याउँछ तर डेलिभरी चार्ज लिँदैन। त्यसैले यो घरमा बसेर परिकार पकाउन सिपालुहरूको व्यवसाय हो र फुड म्यारियो त्यसको लागि प्लेटफर्म मात्रै हो। 

फुड म्यारियो वेबसाइट लगइन गरेपछि आफूले बनाउने परिकार मूल्यसहित राख्न सकिन्छ र त्यो हेरेर ग्राहकले अर्डर गर्छन्। अनि, फुड म्यारियोले डेलिभरी गर्छ । जसमा १ सय ५० परिकार तयार हुन्छन्। 

४. भोज
अनलाइन अर्डरमार्फत घर–घरमा खानेकुरा पुर्याउने अर्को अनलाइन हो ‘भोज’। यो अनलाइनबाट ग्राहकले खाना अर्डर गर्दा प्रत्येक अर्डरमासोमर्स बी, कोकाकोला, टुपीएम चाउचाउ र ब्लेन्डर (मिल्क सेक बार) मध्ये कुनै एक उपहार पनि पाउँछन्। साथै हरेक अर्डरमा विभिन्न रेस्टुरेन्टका डिस्काउन्ट भौचर पनि जित्ने सक्ने व्यवस्था रहेको छ। 

भोजबाट रेस्टुरेन्टको खानाबाहेक किरानाका सामान, तरकारी, फलफूल तथा फ्रोजन खाद्य सामग्री पनि ग्राहकको घरमा डेलिभरी हुन्छ। अहिले भोजमार्फत ५ सय भन्दा बढी रेष्टुराँबाट खाना अर्डर गर्न पाइन्छ। अर्डर गर्नका भोज एप, वेबसाइट अथवा फोनको प्रयोग गर्न सकिन्छ। 

अनलाइन फुड डेलिभरी सेवा भोज बुटवलमा समेत पुगेको छ । बुटवलबासीले भोज एपमार्फत मन पर्ने रेस्टुरेन्टबाट खानाका परिकार मगाउन सक्नेछन् । काठमाडौंमा छोटो समयमै चर्चा कमाएको भोजले यसअघि ‘भोजडिल्स’ को नामबाट सेवा दिएको थियो।

ग्राहकले डिजिटल पेमेन्टका सबै सुविधा जस्तै ईसेवा, फोन पे, आईएमई पे, कनेक्ट आईपीएस, खल्ती, क्रेडिट र डेबिट कार्ड पनि प्रयोग गर्न सक्नेछन्। यो प्लेटफर्ममा विदेशमा बसेका नेपालीहरुले आफन्तका लागि पनि अर्डर गर्न सक्छन्। 

५. हाँडी बिरयानी
हाँडी बिरयानी रेस्टुरेन्टले पछिल्लो समय अनलाइन सेवा मार्फत् बिरयानी तथा अन्य खानेकुरा घर–घरमा डेलिभरी समेत गरिरहेको छ। धेरै वर्षसम्म अस्ट्रेलिया बसेर नेपाल आएका पोषण नेपाल र उनका भाइ पुजन नेपाल मिलेर सञ्चालन गरेको हाँडी बिरयानी रेस्टुरेन्ट र अनलाइन सेवा अहिले ग्राहकको माझमा लोकप्रिय बन्दै गएको छ। ग्राहकले अर्डर गरेको ४५ मिनेटभित्रमा हाँडी बिरयानीले डेलिभरी गर्छ। 

६. पठाओ फुड 
पठाओले हालै मात्र पठाओ फुड अनलाइन अर्डरसमेत सुरु गरेको छ। तपाईंले अर्डर गरेको खाना पठाओले ४५ मिनेटभित्र तपाइँको दैलोमा डेलिभरी गरिसक्छ। अर्डर गरेको ४५ मिनेटभित्र डेलिभरी नभएमा पैसा फिर्ता समेत पाइन्छ। पठाओ फुडमा हजारौं रेष्टुरेन्टहरुबाट आफ्नो मनपर्ने खानाहरु अर्डर गर्न सकिन्छ। अर्डर गरेको खानाहरु ग्राहकले सहुलियत मूल्यमा पाउँछन्। 

७ .तातो–मीठो
तातो–मीठो इन्टरवल्र्ड इन्टरप्राइनेज प्रालिद्वारा संचालित तातो–मीठो फुड डेलिभरी अनलाइनले काठमाडौं उपत्यका तथा पोखरामा आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ। तातो–मीठो एपमा ग्राहकहरुले ५ सय भन्दा बढी रेस्टुरेन्टबाट आफूलाई मनपर्ने खाना चयन गरेर अर्डर गर्न सक्नेछन्। तातो–मीठोले विहान १० बजेदेखि राती १०ः३० बजेसम्म सेवा दिंदै आएको छ। साथै, यसले समय समयमा विभिन्न अफरहरु तथा डिस्काउन्ट समेत उपलब्ध गराउँछ। 

८ .फुड डोल
काठमाडौं उपत्यकामा खाना अनलाइन अर्डर गर्न फुड डोल एप पनि सजिलो छ। यसले विभिन्न रेस्टुरेन्टहरुबाट अर्डर भएको केही समयमै छिटो खाना वितरण गर्ने गर्छ। फुड डोलले राति ३ बजेसम्म पनि खाना डेलिभरी गर्दछ। 

९. भोकमाण्डु
भोकमाण्डु काठमाडौं उपत्यकाको सबैभन्दा राम्रो खाना वितरण सेवा हो, जहाँ अनुभवी सेफले तयार गरेको खानाहरु वितरण गरिन्छ। भोकमाण्डुको मेनुमा गुणस्तरीय स्वच्छ खानेकुराहरु प्याकेजिङ र डेलिभरी हुन्छ । भोकमाण्डुले ताजा र स्वस्थ सामाग्रीहरु उपयोग गर्दछ।

१०. खानपिन डे, नाइट
दिन र रात दुवै समयमा अर्डरमार्फत् घरघरमा खानेकुरा पुर्याउने अर्को फुड डेलिभरी अनलाइन हो खानपिन । खानपिनले काठमाडौं उपत्यकाबाहेक पोखरामासमेत सेवा प्रदान गर्दै आएको छ। खानपिनले पकाएको खाना, मार्ट, ड्रिङ्स र बेकरी आइटमहरुसमेत डेलिभरी गर्छ। खानपिनको वेवसाइट खोल्ने वित्तिकै खानपिन भयो? हामी छौ नि। भन्ने स्लोगन नै राखेको छ। 

११. भोजमाण्डु
सजिलो तरीकाले आफूलाई मन पर्ने खानेकुरा प्राप्त गर्नको लागि सम्झनै पर्ने अर्को अनलाइन हो भोजमाण्डु । भोजमाण्डुले ५० भन्दा बढी रेस्टुरेन्टबाट ४ सय ५८ बढी परिकार तथा डेजर्टहरु ग्राहकको दैलोमा पुर्याउने गरेको छ।  

१२. घरको खाजा 
घरको खाजा २०१८ फेब्रुअरीबाट सुरु भएको अर्को फुड डेलिभरी अनलाइन हो। घरको खाजा मनपर्ने घरशैली खाना हो। घरको खाजाले घरमै बनाएको परिकारहरु ग्राहकहरुको घरघरमा बिना शुल्क पुर्याउने गर्दछ। दसैंमा गाउँ फर्किने योजना नभएका अनि खाना पकाउन अल्छी मान्नेहरुलाई अनलाइन फुड डेलिभरी रामवाण हुन सक्छ। 

Logo