दसैंको विदामा घुम्न जाने होइन त, उपत्यका वरपरका मनोरम गन्तव्यहरु?

दसैंको विदामा घुम्न जाने होइन त, उपत्यका वरपरका मनोरम गन्तव्यहरु?


घटस्थापना सुरु भएसँगै दसैंको माहोल चलिरहेको छ। दसैं सुरु भएसँगै काठमाडौं उपत्यका सुनसान छ। लाखौं उपत्यकाबासी दसैं मनाउन आफ्नो गाउँघर फर्कन्छन्।

पछिल्लो समय नेपालीहरू दसैं, तिहार र छठ पर्वलगायतको लामो बिदामा परिवार एवं साथीसँगीसँग घुम्न जाने गरेका छन् । अझ लकडाउनका कारण महिनौं घरमा थुनिएकाले यसपालीको दसैंमा घुमेर रमाइलो गरेर दसैं मनाउने योजना पनि धेरैको हुन सक्छ । तर घुम्न कहाँ जाने ? भन्ने पनि धेरैलाई लागेको होला ! 

हुन त काठमाडौं उपत्यकाको धुलो, धुवाँ, प्रदूषण, भिडभाड र अस्तव्यस्तताले सहरभित्रका कुनै पनि गन्तव्यले सन्तुष्ट बनाउन सक्ने अवस्था छैन । तर, काठमाडौं उपत्यकालाई वरिपरिबाट घेरेका पहाडी चुचुरा तथा उपत्यकाबाट केही पर विकसित भएका पर्यटकीय गन्तव्यहरु छन् । आज हामी तिनै केही नजिक तथा उपयुक्त गन्तव्यका बारेमा जानकारी गराउने प्रयास गरेका छौं। 

१.चन्द्रागिरि
समुद्र सतहबाट दुई हजार ५ सय मिटरमा रहेको चन्द्रागिरि डाँडा भौतिक सुविधासम्पन्न पर्यटकीय गन्तव्यका रूपमा अहिले विकास भइसकेको छ । चन्द्रागिरि जानको लागि काठमाडौंको थानकोटदेखि केबुलकारको सुविधा उपलब्ध छ । यतिमात्र होइन, थानकोटबाट पदयात्रा गरेर पनि चन्द्रागिरिसम्म पुग्न सकिन्छ ।

विशेषगरी चन्द्रागिरि धार्मिक पर्यटन, दृश्यावलोकन र ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण छ। चद्रागिरि डाँडामा भालेश्वर महादेवको मन्दिर पनि रहेको छ। 

नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाहले पहिलो पटक चन्द्रागिरि डाँडाबाट काठमाडौं उपत्यका नियालेको इतिहास छ । उपत्यकाको दृश्यावलोकनका लागि चन्द्रागिरि राम्रो गन्तव्य हो, जहाँ सुविधा सम्पन्न होटलसमेत रहेको छ । त्यहाँ पारिवारिक माहोलसहितका पूर्वाधारसमेत विकास गरिएको छ, जहाँँ बच्चादेखि वृद्धवृद्धासम्म रमाउन सक्छन् ।

२. नगरकोट
काठमाडौंबाट करिव ३५ किमीको दूरीमा रहेको नगरकोट काठमाडौं उपत्यका नजिकको प्रसिद्ध रमणीय स्थल हो । नगरकोट प्राकृतिक रुपले समेत सुन्दर छ । त्यसैले पनि धेरैको रोजाइमा पर्ने गरेको छ । समुद्री सतहदेखि २ हजार ७५ मिटर उचाइमा रहेको नगरकोटमा गर्मी मौसममा पनि चिसो वातावरण हुने गर्छ । 

राजधानीको भीडलाई छलेर मानिसहरु नगरकोट पुग्छन् । नगरकोटबाट मौसम सफा भएको बेला उत्तरमा मनमोहक हिमालयका चुचुराहरूका साथै विश्वको सर्वोच्च शिखर सगरमाथाको रोमाञ्चक दृश्य पनि हेर्न सकिन्छ ।

यहाँबाट देखिने अन्य हिमाल चुचुराहरूमा धौलागिरि, कञ्चनजङ्घा, मनास्लु, गणेश, लाङटाङ, गौरीशङ्कर, चोयु, ल्होत्से, मकालु हिमालहरु देखिन्छन् । नगरकोट क्षेत्र हिमालको काखबाट निस्कने सूर्योदयको दृष्यावलोकन लागि पनि प्रसिद्ध छ। आसपासका दृश्य हेर्न त्यहाँ भ्यू टावर पनि बनाइएको छ । 

यहाँ अत्याधुनिक होटेल–रिसोर्ट तथा होमस्टेको समेत सुविधा रहेको छ । त्यसैले परिवार तथा साथीभाईसँग रमाइलो गर्न नगरकोट जान सकिन्छ । 

३. फुलचोकी
समुद्र सतहबाट २ हजार ७ सय ६२ मिटरको उचाइमा रहेको फुलचोकी काठमाडौं उपत्यकालाई घेरेर राखेका पहाडमध्ये सबैभन्दा अग्लो चुचुरो हो । फुलचोकी ललितपुर जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल हो । यो ठाउँ काठमाडौंदेखि करिब १० किलोमिटर दक्षिण पूर्वमा अवस्थित छ । फूलचोकीबाट प्राकृतिक दृश्यावलोकन साथै तराईका समथर फाँटदेखि उत्तरका गगनचुम्बी हिमालहरुको दृश्यावलोकन गर्न सकिन्छ । 

त्यहाँको अर्को आकर्षण वनस्पति तथा वन्यजन्तुहरू पनि हुन् । फूलचोकीमा हिउँदको समय हिउँ खेल्नका लागि आन्तरिक तथा बाह्य पर्यटकहरु जाने गरेका छन् । त्यहाँ फूलचोकी माईको मन्दिर पनि छ । 

४. शिवपुरी
समुद्री सतहबाट २ सय ५ सय ६३ मिटर उचाइमा अवस्थित शिवपुरी डाँडा काठमाडौं उपत्यकाको दोस्रो अग्लो चुचुरो हो । काठमाडौंको उत्तरमा पर्ने शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको शिवपुरी डाँडामा अहिले धेरैको गन्तव्य स्थान बनेको छ । 

बूढानीलकण्ठको पानीमुहानबाट निकुञ्ज प्रवेश गर्दै शिवपुरी डाँडा जान सकिन्छ । घना वनमा उकालो यात्रा गर्दै शिवपुरी डाँडा पुगेपछि  हिमशृङ्खलाको सुन्दर दृश्य साथै काठमाडौं उपत्यकाको मनोरम दृश्य देख्न सकिन्छ । यहाँ पारिवारिक सुविधासम्पन्न होटेल, रिसोर्ट तथा होमस्टेको सुविधा रहेको छ ।

५. सुन्दरीजल
काठमाडौंभित्र पर्ने अर्को घुम्न लायक गन्तव्य हो सुन्दरीजल । नाम जस्तै सुन्दर छ यो ठाउँ । काठमाडौंभन्दा अलिक माथि पर्ने यस ठाउँकोे वातावरणमा भरपुर आनन्द लिन सकिन्छ । प्रकृतिको रमणीय काखमा रहेको यस ठाउँलाई धेरैले आफ्नो घुम्ने गन्तव्य बनाएका छन् । 

सुन्दरीजल पारिवारिक घुमघामका लागि राम्रो मानिन्छ । यो ठाउँ निकै ब्यस्त हुने गर्छ । राजधानीबाट करिब १५ किलोमिटर दूरीमा रहेको यो ठाउँमा जानेहरूका लागि खान, बस्न र दिन बिताउनका लागि उचित सुविधायुक्त होटल, रिसोर्ट तथा होमस्टेहरु उपलब्ध छन् ।

६. लाँकुरी भञ्ज्याङ
ललितपुरमा रहेको लाँकुरी भञ्ज्याङ उपत्यकाको दृश्यावलोकन र सगरमाथा हिमश्रृङ्खला, गणेश हिमाललगायत हिमालहरु अवलोकनका लागि परिचित छ। साथै लाँकुरी भञ्ज्याङबाट उपत्यकाका तीनवटै शहरको विहंगम दृश्य देख्न सकिन्छ । 

चक्रपथबाट १३ किलोमिटर दूरीमा रहेको लाँकुरी भन्ज्याङ उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा चिनिँदै गएको छ । सल्ला, कटुस र लालीगुराँसको वन हुदै लाँकुरी भन्ज्याङ पुगिन्छ । प्याराग्लाइडिङ गर्न र सूर्योदय हेर्न पनि लाँकुरी भञ्ज्याङ उपयुक्त छ। यहाँ होटल, रिसोर्ट तथा होमस्टेहरु पनि प्रसस्तै छन् । 

७. ककनी
नुवाकोट जिल्लामा पर्ने ककनी काठमाडौं नजिकैको पर्यटकीय स्थल हो । काठमाडौंबाट ३२ किलोमिटर उत्तरतर्फ पर्ने ककनी ट्राउट माछाको स्वाद लिन चाहनेका लागि उत्तम हुन सक्छ । ककनी स्ट्रबेरीका लागि पनि प्रख्यात मानिन्छ । 

धेरैजसो मानिस ककनीसम्म पिकनिक मनाउन पुग्छन् । ककनीमा रात्री बसाइका लागि पनि सुविधायुक्त होटलहरू छन् । हरियाली वातावरण भएको ककनी धेरैको रोजाइमा पर्न सक्ने गन्तव्य  हो । 

यहाँ स–साना उद्यान तथा हरियाली डाँडाहरू छन् । यस्तै दक्षिणमा सिम भन्ज्याङ र दामन, पूर्वमा काठमाडौं उपत्यका, उत्तरमा गणेश हिमाल र थानसिंह फाँटको मनोरम दृश्य ककनीबाट देख्न सकिन्छ । समुद्र सतहबाट २ हजार २ मिटरको उचाइमा रहेको ककनी हरियाली वातावरणका कारण घुम्नका लागि उपयुक्त मानिन्छ। 

८. चित्लाङ
काठमाडौंको थानकोटबाट करिब १६ किलोमिटर दूरीमा अवस्थित चित्लाङ नेपालको मध्यभागमा रहेको मकवानपुर जिल्लाको एक गाउँ हो । यहाँ एक रात बस्न जानु उपयुक्त हुन्छ । यो गाउँ सहरी व्यस्तताबाट केही समयको लागि टाढिन चाहने आन्तरिक पर्यटकको लागि उत्कृष्ट स्थान हो ।

यहाँ परिवार, साथीभाईसँग बसेर क्याम्प फायर, बार्बीक्यू गर्न सकिन्छ । यस्तै चित्लाङमा बाख्राको दूधबाट निर्मित चिज, ट्राउट माछा तथा स्थानीय स्तरमा उत्पादित तरकारीका लागि चर्चित छ । होमस्टेको समेत विकास भइसकेका कारण चित्लाङ एक सुविधासम्पन्न गन्तव्यका रूपमा स्थापित भइसकेको छ।

९.धुलिखेल
उपत्यकामा बस्नेहरुका लागि धुलिखेल अर्को गन्तब्य हो । होटेल–रिसोर्टको राम्रो सुविधा रहेको धुलिखेल सबै प्रकारका पर्यटकलाई सुविधा दिन सक्ने क्षमता राख्छ । धुलिखेल पर्याप्त पूर्वाधारका साथै मनोरम दृश्यले भरिपूर्ण छ।

महँगा होटेलदेखि आमसर्वसाधारणले समेत यहाँ बिदा मनाउन सक्छन् । यो ठाँउ परिवारिक घुमघामका लागि राम्रो मानिन्छ । सार्वजनिक यातायातको सुविधा उपलब्ध हुने धुलिखेल परिवारका साथ जाने मानिसका कारण सबै मौसममा व्यस्त देखिन्छ ।

१०. गोदावरी
ललितपुरको सातदोबाटो चोकबाट ७ किलोमिटर दूरीमा रहेको गोदावरी प्राकृतिक सौन्दर्यतामा रमाउन चाहनेका लागि यो एउटा उत्तम गन्तव्य हो । ढकमक्क फुलेका फूल, विभिन्न जडिबुडी र वनस्पति उद्यान, जल उद्यान, बगैंचा र जंगलले घेरिएको यो स्थान प्राकृतिक सौन्दर्ययुक्त छ । गोदावरीमा स्वच्छ र स्फूर्ति प्रदान गर्ने हावा बहन्छ ।

पिकनिक र पारिवारिक रिफ्रेसका लागि गोदावरी उपयुक्त छ । जैविक विविधताको भण्डार र खुला संग्रहालयका रुपमा रहेको त्यस क्षेत्रमा बस्नको लागि आरामदायी होटल, रिसोर्ट तथा रेस्टुरेन्टको पनि सुविधा छ।

११. भोटेचौर
‘मिनी इलाम’ को उपनामले चिनिएको काठमाडौंबाट नजिकै रहेको भोटेचौरको चियाबगान धेरैको रोजाइमा पर्छ । प्राकृतिक सौन्दरयतामा रमाउन मात्र होइन, तस्विर खिचेर आनन्द लिन भोटेचौरमा पारिवारिक घुमघामका लागि राम्रो मानिन्छ ।

चावहिलबाट ३८ किलोमिटर टाढा रहेको सिन्धुपाल्चोकको भोटेचौरमा सुविधायुक्त होटल तथा रिसोर्टहरू पनि छन् । 

१२. दक्षिणकाली
काठमाडौंबाट दक्षिण भेगमा १७ किलोमिटर दूरीमा रहेको दक्षिणकालीमा रहेको प्रताप मल्लद्वारा निर्माण गरिएको कालीदेवीको मन्दिरका कारणले धार्मिक पर्यटन फस्टाएको छ । वर्षेनी हजारौं संख्यामा भक्तजनहरु आफ्नो मनोकाङ्क्षा पूरा हुने जनविश्वासका साथ त्यहाँ पुग्ने गरेका छन् । 

दसैंको बेला दक्षिणकालीमा विशेष मेला लाग्छ भने नवरात्रीको दिन भक्तजनहरू हाँस, कुखुरा राँगा, बोकाको बलि दिन्छन् । सोही कारण पनि दसैंको समयमा धार्मिक आस्था लिएर मानिसहरु त्यहाँ पुग्ने गरेका छन् ।

मन्दिर मात्र नभई वनभोजका लागि अत्यन्त रमणीय र मनोरञ्जनात्मक दृष्टिले भरिएको दक्षिणकालीमा बस्नको लागि होटल, रिसोर्टहरु पनि प्रसस्तै छन् । 

१३. चिसापानी
चिसापानी काठमाडौं, सिन्धुपाल्चोक र नुवाकोट जिल्लाको सिमाना जोडिएको छ । काठमाडौं उपत्यकाबाट नजिकै भएकाले आन्तरिक र बाह्य दुवै थरिका पर्यटक चिसापानीमा पुग्ने गर्दछन् । 

वरिपरिका डाँडा देखिने रमणीय अग्लो स्थानमा रहेको चिसापानी समुद्री सतहबाट २ हजार २ सय मिटरमा पर्दछ । पर्यावरणीय सम्पदाले सुसज्जित र हिमश्रृङ्खलाले घेरिएको यस क्षेत्रमा पुग्ने जो कोहीको मन प्रफुल्लित भएर आउँछ ।

सगरमाथा, माछापुच्छ्रे, गौरीशंकर, अन्नपूर्ण, लाङटाङ, गणेश हिमालको दृश्यावलोकन गर्न सकिने यहाँ बाट एकैदिनमा पनि काठमाडौं फर्कन सकिन्छ। एक रात बास बस्ने हो भने सुविधायुक्त होटलहरू छन्। आफ्नो समयलाई स्मरणीय बनाउन चिसापानी अब्बल गन्तव्य हो। सूर्योदय र सूर्यास्तको मनमोहक दृश्यावलोकनका लागि पनि चिसापानी उत्तिकै प्रख्यात छ।

Logo