३१ साउन २०७९ मंगलबार
1
1
1
1

जीवनशैलीः ज्ञान, भक्ति, कर्म र क्रिया योग

1
1
1
1
1

यतिखेर, तपाईं आफ्नो शरीर, आफ्नो मन र आफ्ना भावनाहरूलाई मात्रै अनुभव गर्न सकिरहनु भएको छ। तपाईंलाई केही हदसम्म यिनको बारेमा थाहा छ, अनि तपाईं यो अनुमान लगाउन सक्नुहुन्छ कि यी कुराहरू जुन तरिकाले काम गरिरहेका छन्, त्यसो हुनको लागि पक्कै पनि ऊर्जाले काम गरिरहेको हुनुपर्छ। ऊर्जा नहुने हो भने, यी सबैथोक हुन सक्दैनन्। तपाईंहरूमध्ये केहीले ऊर्जालाई अनुभव गर्नुभएको पनि हुन सक्छ। अरूहरूले यो सजिलै अड्कल लगाउन सक्छन् कि शरीर, मन र भावनाहरूले काम गर्नका लागि त्यसको पछाडि ऊर्जा हुनैपर्छ। उदाहरणको लागि, माइकबाट बोलदा आवाज ठूलो हुन्छ। यदि तपाईंलाई माइकको बारेमा केही थाहा छैन भनेपनि, तपाईं यो अड्कल गर्न सक्नुहुन्छ कि यसलाई कुनै चीजले चलाइरहेको छ।

चारवटा पक्षहरूका निम्ति योगका चारवटा मार्गहरू
शरीर, मन, भावना र ऊर्जा नै तपाईंको जीवनका वास्तविक पक्षहरू हुन्। तपाईं आफूमाथि जे–जति गर्न चाहनुहुन्छ, ती यिनै चार स्तरहरूमा गरिनुपर्छ। तपाईं जे‐जति गर्न चाहनुहन्छ, तपाईं तिनलाई आफ्नो शरीर, आफ्नो मन, आफ्ना भावनाहरू र आफ्नो ऊर्जाको सहायताले मात्र गर्न सक्नुहुन्छ। यदि तपाईंले आफ्नो बुद्धिको प्रयोग गरी परम प्रकृतिसम्म पुग्ने प्रयास गर्नुभयो भने, त्यसलाई ज्ञान-योग भनिन्छ। यदि तपाईंले आफ्ना भावनाहरूको प्रयोग गरी परम प्रकृतिसम्म पुग्ने प्रयास गर्नुभयो भने, हामी त्यसलाई भक्ति-योग भन्छौँ। यदि तपाईंले आफ्नो शरीरको प्रयोग गरेर वा कुनै शारीरिक काम गरेर परम प्रकृतिसम्म पुग्ने प्रयास गर्नुभयो भने, हामी त्यसलाई कर्म-योग भन्छौँ। यदि तपाईंले आफ्नो भित्री ऊर्जालाई रूपान्तरित गरेर परम प्रकृतिसम्म पुग्ने प्रयास गर्नुभयो भने, त्यसलाई क्रिया-योग भनिन्छ।

केवल यिनै चार तरिकाहरू छन्ः कर्म, ज्ञान, भक्ति वा क्रिया—अर्थात् शरीर, मन, भावना वा ऊर्जाको प्रयोग गरेर नै कहीँकतै पुग्न सकिन्छ। "हैन, हैन म त आस्थाको मार्गमा छु। मैले अरू केही पनि गर्नुपर्दैन।" त्यस्तो कुनै कुरा हुँदैन। किनकि, कोही पनि केवल दिमाग, केवल हृदय, केवल हातहरू वा केवल ऊर्जाहरू हुँदैनन्। यी मध्ये कुन चाहिँ रोजूँ भन्ने कुनै विकल्प हुँदैन, किनभने तपाईं यी सबैथोकको मिश्रित रूप हो। 

तपाईं यी चारवटै पक्षलाई सही अनुपातमा प्रयोग गर्न सक्नुहुन्छ। कुरा यत्ति हो कि एउटा व्यक्तिमा दिमाग प्रबल हुन सक्छ, अर्को व्यक्तिमा उसको हृदय प्रबल हुन सक्छ, जबकि अर्कोमा हातहरू प्रबल हुन सक्छन्। यसलाई सही अनुपातमा मिश्रण गरियो भनेमात्र, यसले तपाईंको लागि उत्तम ढङ्गले काम गर्दछ। एउटा व्यक्तिको लागि जुन मिश्रणले काम गर्दछ, त्यसले तपाईंको लागि राम्रोसँग काम नगर्न सक्छ। यसैकारण, आध्यात्मिक मार्गमा जीवित गुरु हुनु अत्यन्तै महत्त्वपूर्ण मानिन्छ, किनकि गुरुले तपाईंको लागि सही अनुपातमा मिश्रण बनाउँछन्—अन्यथा त्यसले सही ढङ्गले काम गर्दैन।

चारवटै मार्गहरूको मिश्रण
योगमा एउटा सुन्दर कथा छ। एकदिन चारजना व्यक्तिहरू जङ्गलमा हिँडिरहेका थिए। पहिलो ज्ञान–योगी थियो, दोस्रो भक्त–योगी, तेस्रो कर्म–योगी अनि चौथो क्रिया–योगी थियो।

साधारणतया, यी चार व्यक्तिहरू कहिल्यै सँगसँगै रहन सक्दैनन्। ज्ञान योगी अरू सबैथरीको योगलाई पूरै तिरस्कारको नजरले हेर्दछ। ऊ बुद्धिको प्रयोग गरेर योगमा पुग्न चाहन्छ। अनि, सामान्यतया एउटा बुद्धिजीविले अरू सबैलाई तुच्छ दृष्टिले हेर्ने गर्छ, विशेषगरी ती भक्तालु किसिमका मानिसहरूलाई, जो जतिबेला पनि माथितर्फ हेर्दै भगवानको नाम जपिरहन्छन् । उसको नजरमा ती सबै मूर्खहरूको जमात हो।

तर, भक्त योगी सोच्दछ कि— ज्ञान, कर्म र क्रिया—यी सबै मार्गहरू समयको नाश मात्र हो। ऊ ती सबैप्रति दया गर्दछ, जो यति सरल कुरा बुझ्न सक्दैनन्: जब भगवान नै यहाँ छन् भने, हामीले गर्नुपर्ने भनेको उनको हात समातेर पूरै भरोसा गरी अघि बढ्ने हो। उसलाई दिमाग घुमाउने दर्शनहरू, र हड्डी बङ्ग्याउने योग फजुल लाग्दछ। भक्तको लागि भगवान यहीँ छन्, किनकि भगवान सर्वत्र छन्।

कर्म योगी काम गर्नुपर्छ भन्ने सोच्दछ। उसलाई अरू सबै योगीहरू आफ्नै मनगढन्ते दर्शनमा अल्झिएका अल्छीहरू हुन् भन्ने लाग्छ।

तर, क्रिया योगी अहंकार र तिरस्कारले पूरै भरिएको हुन्छ। ऊ सबैप्रति खिस्याएर हाँस्छ। के अरूहरूलाई यति पनि थाहा छैन कि अस्तित्व एउटा ऊर्जा मात्र हो ? ऊ यो सोच्छ कि चाहे हामी भगवानको कामना गरौँ वा अरू जुनसुकै चीजको, हामीले आफ्नो ऊर्जालाई रूपान्तरण नगरुन्जेल केही पनि हुन सक्दैन। कसैगरी पनि रूपान्तरण सम्भव हुँदैन।

साधारणतया, यी चार व्यक्तिहरू मिल्नै सक्दैनन्। तर, संयोगवश त्यसदिन उनीहरू एकैसाथ जङ्गलमा हिँडिरहेका थिए। अकस्मात्, आँधीबेरी आयो र त्यसले उग्र रूप लिँदै गयो । मुसलधारे वर्षात हुन थाल्यो। निथ्रुक्कै भिजेका चारै योगीहरू हतासमा जोगिने ठाउँको खोजीमा दौडिन थाले।

भक्ति योगीले भन्यो, ″त्यहाँ एउटा प्राचीन मन्दिर छ । त्यतै जाऔँ ।″ (भक्त भएकोले ऊ मन्दिरहरूको भौगोलिक स्थितिबारे राम्रोसँग परिचित थियो।)

उनीहरू त्यतैतिर दौडिए। उनीहरू प्राचीन मन्दिर भएको स्थानमा आइपुगे। मन्दिरका सबै भित्ताहरू निकै अगाडि भत्किसकेका थिए, छत र चारवटा खम्बा मात्र बचेका थिए। उनीहरू हुत्तिँदै मन्दिरभित्र पसे—भगवानप्रतिको प्रेमले होइन, मुसल्धारे वर्षा छल्नको लागि मात्र।

मन्दिरको बिच भागमा देवताको मूर्ति थियो। उनीहरू त्यसतर्फ दौडिए। वर्षातले जताततैबाट चुट्न थाल्यो । अन्त जाने कुनै ठाउँ नभएकोले उनीहरू नजिक अनि अझ नजिक सर्दै गए। अन्ततः कुनै विकल्प बाँकी नभएपछि उनीहरू थचक्क बसे अनि मूर्तिलाई अङ्कमाल गरे।

यी चारै जनाले त्यस मूर्तिलाई अङ्कमाल गर्नेबित्तिकै, अचानक भगवान प्रकट भए।

ती सबैको दिमागमा एउटै प्रश्न उब्जियोः आखिर किन यतिखेर? उनीहरूले आश्चर्यचकित भावमा सोधे, “हामीले थुप्रै सूक्ष्म र रहस्मय दर्शनहरू खोज्यौँ, सम्भव भएसम्म साना-ठूला सबै तिर्थस्थलहरूमा पूजा आराधना गऱ्यौँ, निःस्वार्थ भावले मानिसहरूको सेवा गऱ्यौँ, शरीर नाश गर्ने किसिमको कठोर तपस्या गऱ्यौँ, त्यसबेला त तपाईं कहिल्यै प्रकट हुनुभएन। अहिले, हामी यो मुसल्धारे वर्षा छल्नको लागि मात्रै यहाँ के आएका थियौँ, तपाईंले आफ्नो दर्शन दिनुभयो। आखिर यसबेला किन ?”

भगवान बोले, “अन्ततः चारैजना मूर्खहरू एकसाथ आयौ !”

यदि यी सबै आयामहरू सँगसँगै हिडेनन् भने, मनुष्य आफैँमा अस्तव्यस्त बन्दछ। अहिले, अधिकांश मानिसहरूको सन्दर्भमा हेर्ने हो भने, यी आयामहरू छुट्टाछुट्टै दिशामा गइरहेका हुन्छन्। तपाईंको मन एउटा तरिकाले सोच्ने र महसुस गर्ने गरिरहेको छ, तपाईंको भौतिक शरीर अर्कोतिर हिँडिरहेको छ, तपाईंको ऊर्जा अर्कै बाटोतर्फ लागिरहेको छ। वास्तवमा, योग भनेको यिनै तीन आयामहरूलाई एउटा सङ्गति वा लयमा ल्याउने विज्ञान हो।

योग—परम मिलन
तपाईंहरूमध्ये थुप्रैका लागि योग भनेको सम्भवतः कठिन आसनहरूमा बटारिनु भन्ने हुन सक्छ। तर, हामी त्यसलाई इङ्गित गरिरहेका छैनौँ। योग भनेको उत्तम तालमेल वा सङ्गतिमा रहनु हो। जब तपाईं योगमा रहनुहुन्छ, तपाईंको शरिर, मन, ऊर्जा अनि यो अस्तित्वबिच पूर्णत: तालमेल हुन्छ। जब तपाईंको शरीर र मन आरामपूर्ण स्थितिमा हुन्छन, आनन्दको अवस्थामा रहन्छन्, तब तपाईं यस्ता थुप्रै रोगहरूबाट छुटकारा पाउन सक्नुहुन्छ, जसले निरन्तर कष्ट दिइरहन्छन्। उदाहरणको लागि तपाईं लगातार टाउको दुखिरहेको अवस्थामा अफिस जानुभयो। टाउको दुख्नु कुनै ठूलो रोग होइन, यद्यपि त्यो झनझनाहटले गर्दा तपाईंको कामप्रतिको उत्साह र सायद त्यसदिनको आफ्नो क्षमतामा ह्रास आउन सक्छ। तर, योगको अभ्यासले आफ्नो शरीर र मन दुवैलाई सम्भव भएसम्मको उच्चतम शिखरमा राख्न सकिन्छ।

“योग” को शाब्दिक अर्थ “मिलन” हो। तपाईं जब चैतन्यमा सबैथोकलाई एउटा ऊर्जाको रूपमा अनुभव गर्नुहुन्छ, तब तपाईं योगमा रहनुहुन्छ। आफूभित्र त्यो एकत्वलाई प्राप्त गर्नको लागि अनेक तरिकाहरू छन् । उदाहरणको लागि हठ–योग। हठ–योग मा तपाईं आफ्नो शरीरबाट शुरु गर्नुहुन्छ । शरीरको आफ्नै प्रवृत्ति हुन्छ, आफ्नै दम्भ हुन्छ, आफ्नै प्रकृति हुन्छ। तपाईंको मनबाहेक शरीरको पनि आफ्नै दम्भ हुन्छ ! मानौँ कि तपाईंले यो सोच बनाउनुभयो, “भोलिदेखि म बिहानै ५ बजे उठेर हिँड्न जान्छु”। तपाईं अलार्म लगाएर सुत्न जानुहुन्छ। भोलि बिहान अलार्म बज्छ। तपाईं उठ्न चाहनुहुन्छ, तर तपाईंको शरीरले “ह्याँ, चुप लागेर सुत्” भन्छ। यसको आफ्नै स्वभाव हुन्छ।

त्यसैले, हामी शरीरबाट शुरु गर्छाैं। हठ–योग भनेको शरीरसँग काम गर्ने, शरीरलाई अनुशासित गर्ने, शुद्ध गर्ने अनि उच्च स्तरका ऊर्जाहरू ग्रहण गर्नको निम्ति शरीरलाई तयारी गर्ने माध्यम हो। हामी सबै मानव हौँ अनि यतिखेर हामी सबै जीवित छौँ, तैपनि हामी सबैले जीवनलाई त्यही गहिराइमा र त्यही प्रखर रूपमा अनुभव गरिरहेका हुँदैनौँ, किनकि हाम्रा प्राण ऊर्जाहरू उस्तै हुँदैनन्। भिन्न‐भिन्न मानिसहरूले जीवनलाई भिन्दाभिन्दै स्तरको तीव्रतामा अनुभव गर्छन्।

उदाहरणको लागि, कसैले रूख देख्यो। रूख केवल रूख न हो। तर, अधिकांश मानिसहरूले देख्दा पनि देख्दैनन्। कसैले भने त्यही रूखलाई विस्तृत रूपमा देख्दछ। कुनै चित्रकारले त्यसको एकएक पत्र देख्छन्। तर, कसैले भने रूख मात्र नभई रूखमा उपस्थित दिव्यता नै देखिरहेको हुन्छ । सबैको हेराइ एउटै हुँदैन, किनभने तपाईं जीवनलाई जति गहन र प्रखर रूपमा अनुभव गर्नुहुन्छ, त्यो पनि एउटै हुँदैन।

चारवटै मार्गहरूको संयोजन अपरिहार्य
योगको समग्र प्रक्रिया भनेको यही हो: तपाईं जे–जति जान्नुहुन्छ, त्यसबाट एउटा पाइला चालेर एकदमै अन्जान आयाममा जानु हो। योगको विज्ञान लगभग भौतिक विज्ञान जस्तै छ। जस्तै कि: यदि तपाईंले दुई भाग हाईड्रोजन र एक भाग अक्सिजन मिसाउनुभयो भने, त्यसबाट पानी बन्दछ। यदि महान् वैज्ञानिकले मिसाउने हो भनेपनि, त्यसबाट पानी निस्कन्छ, अनि यदि एक मुर्खले मिसाए भनेपनि, त्यसबाट पानी नै निस्कन्छ। त्यसैगरी, योगमा समेत यही लागू हुन्छ—चाहे कुनै महान् योगीले गरून् वा कुनै अज्ञानी व्यक्तिले, यसले केही फरक पार्दैन। यदि उचित तरिकाले अभ्यास र साधना गर्ने हो भने, यसको प्रतिफल स्पष्ट रूपमा देखिन्छ।

योगमा केही पद्धतिहरू निर्धारित गरिएका छन् । शुरुमा तपाईं आफ्नो शरीरसँग काम गर्नुहुन्छ, अनि श्वासमा काम गर्नुहुन्छ, अनि मनमा, त्यसपछि आफ्नो भित्री आयाममा काम गर्नुहुन्छ । यसरी थुप्रै चरणहरू बनाइएका छन्। वास्तवमा, योगमा विभिन्न प्रकारहरू हुँदैनन्, बरु यसका विभिन्न पक्षहरू वा आयामहरू हुन्छन्। खासमा भन्नुपर्दा, हामी ती सबैलाई एकैसाथ सम्बोधन गर्दछौँ । सबै पक्षहरूलाई अत्यन्तै सन्तुलित तरिकाले एकैपटक एउटा एकाइको रूपमा सम्बोधन गरिनु अपरिहार्य छ। अत: योग यी सबैको समजोड हो।न्युज कारखाना

लाइफ स्टायल

प्रकाशित: २१ कात्तिक २०७८ ०८:२५ आइतबार

केन्द्रबिन्दु अपडेट
1
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी