कोरोना नियन्त्रण गर्न सरकारसँग स्काउट, युनिसेफ र हिसानको हातेमालो

कोरोना नियन्त्रण गर्न सरकारसँग स्काउट, युनिसेफ र हिसानको हातेमालो


कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि नेपाल स्काउट, हिसान र युनिसेफले सरकारसँग हातेमालो गरेका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल स्काउट ,हिसान र युनिसेफले उपत्यकाका १३ स्थानमा कोभिड–१९ को रोकथाम र नियन्त्रणसम्बन्धी जनचेतना जगाउन आजदेखि स्वयम्सेवक परिचालन गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार स्वयम्सेवकले खटाइएको स्थानमा गइ कोभिड–१९ बाट बच्नका लागि जनसमुदायलाई जनचेतनामूलक कार्यक्रममार्फत आग्रह गर्नेछन् । एउटा गाडीमा जनस्वास्थ्यका दुई, स्काउटका दुई र मन्त्रालयका दुई कर्मचारी गई बढी भीड हुने ठाउँमा कोभिड–१९ बाट बच्न र बचाउन जनचेतना जगाउने उनले बताए । स्वयम्सेवकहरूले माइकिङमार्फत जनचेतना जगाउनुका साथै मास्क र सानिटाइजर प्रयोग गर्नसमेत सिकाउने छन्।

नेपाल स्काउटका राष्ट्रिय तदर्थ समिति संयोजक लोक बहादुर भण्डारीका अनुसार कोटेश्वर, कालीमाटी, नयाँ बसपार्क, बल्खु, चावहिल, रत्नपार्क, मैतिदेवी, महाराजगञ्ज, पाटन, लगनखेल, ग्वार्को, सातदोबाटो र भक्तपुरका विभिन्न ठाउँमा पुगेर स्वयम्सेवकहरूले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेछन्।

यो कार्यक्रम एक हप्तासम्म हुनेछन्।

Logo