नेपाल–भारत सीमा विवादको ‘डेडलक’ कहिले फुक्ला ?

नेपाल–भारत सीमा विवादको ‘डेडलक’ कहिले फुक्ला ?


काठमाडौं ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गरेको दुई साता बितेको छ । गत अगष्ट पन्ध्रका दिन भारतको ७४ औँ स्वतन्त्रता दिवशको अवसर पारेर प्रधानमन्त्री ओलीले नेपाल सरकार, नेपाली जनता र आफ्नो व्यक्तिगत तर्फबाट समकक्षी मोदीलाई र भारतीय जनतालाई शुभकामना दिएका थिए ।

भारतको स्वतन्त्रता दिवशको अवसरलाई सदुपयोग गर्दै ओलीले मोदीसँग द्धिपक्षीय विषयमा छलफल गर्न सहमति समेत जनाएका थिए । दुई प्रधानमन्त्री बीच निकट भविष्यमा द्विपक्षीय विषयमा छलफल गरिने र पछिल्लो समय देखिएको तिक्ततालाई वार्ताकै माध्यमबाट हल गर्ने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको थियो ।

यो टेलिफोन कुराकानीमा दुबै मुलुकका प्रधानमन्त्रीबीच कोरोना भाइरस विरुद्ध साझा प्रयास आदानप्रदान गर्ने र खुला सीमाका कारण महामारीलाई नियन्त्रण गर्न सहकार्य गर्ने सहमति समेत भएको थियो ।

दुई साता बित्न लाग्दा पनि दुई प्रधानमन्त्री बीच गर्ने भनिएका कुनै पनि कामको थालनी भएको छैन । न त विवादित सीमामाथि वार्ता गर्ने गृहकार्यको नै थालनी भएको छ, न त कोभिड–१९ लाई नियन्त्रण गर्न कुनै साझा रणनीति नै बनाइएको छ ।

नेपाल–भारत बीच चार महिनाअघि लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई लिएर उठेको विवाद उत्कर्षमा पुगेको थियो । दुई परम्परागत मित्र राष्ट्र बीचको यो मुद्दा पुरानै भए पनि विवाद नयाँ किसिमले अघि बढिरहेको छ । शुरुमा भारतले आफ्नो राजनीतिक नक्सा माथि भूभागलाई समेटेको थियो भने त्यसको एक महिनापछि नेपालले यिनै भूभाग आफ्नो भएको दाबीका साथ नक्सामा मात्र राखेन, संविधान संशोधन गर्दै भूभाग आफ्नो भएको बलियो नजिर स्थापित गर्यो । दक्षिण एशियाली मुलुकमाझ विवादित सीमा र नक्साको प्रसंग यतिमै रोकिएन । अघिल्लो महिना भारतको चिरप्रतिद्वन्द्वी मुलुक पाकिस्तानले समेत दुई देश बीचको विवादित भूमि कश्मिरलाई आफ्नो नक्सामा राख्दै उक्त क्षेत्र आफ्नो मात्र भएको दाबी गर्यो ।

दक्षिण एशियाली मुलुक बीच सीमा विवादमा लफ्डा चलिँरहँदा चीनले जुन पन्ध्रका दिन भारत विरुद्ध कसैले नसोचेको घटना घटायो । दुई मुलुक बीचको हिमालयपारमा पर्ने सीमामा चिनियाँ सेना र भारतीय सेना बीच धकेला धकेल हुँदा २० जना भारतीय सेनाले ज्यान गुमाए । तर चिनियाँ पक्षमा के कति क्षति भयो भन्ने तथ्य बाहिर आएन । सन् १९७५ यताको भयानक भिंडन्तका कारण भारत रक्षात्मक मात्र बनेन, नेपाल र पाकिस्तानसँगको बल्झि रहेको सीमा विवाद चीनको आक्रमकताका अघि दिल्लीलाई गौण बनिदियो । यो घटनापछि दिल्लीको पहिलो प्राथमिकता चीनसँगको सैन्य मुठभेडलाई साम्य पार्नु बन्यो ।

यही कारणले गर्दा हो, नेपाल र भारत बीच सीमा विवादमा वार्ता हुन नसकेको । यतिबेला साउथ ब्लकको मुख्य प्राथमिकतामा चीन छ । तत्कालका लागि नेपाल दिल्लीको एजेण्डामै छैन ।

दिल्लीलाई यसपटक पनि पूरा आत्मविश्वास छ, काठमाडौंलाई जुन बेला बोलाउँदा पनि वार्तामा आउँछ र त्यहाँ आफ्नै कुरामाथि हुनेछ । दिल्लीका लागि यो कुनै नौलो खेल नै होइन ।

त्यसो त कोरोना महामारीले थलिएको भारतले यसैलाई बाहाना बनाउदै वार्तामा नबसेको जनाएको छ । तर महामारी विरुद्ध लड्न साझा रुपमा अघि बढ्न गरिएको सहमति समेत खुला सीमा भएका दुई मुलुक बीच लागू भएको छैन । यसबाट पनि प्रष्ट हुन्छ, नेपाललाई भारतले कहिले पनि आफ्नो प्राथमकतामा राख्दैन र राख्ने छैन ।

तर, बदलिँदो भूराजनीतिक परिदृश्यमा अब दुई मुलुक बीचको सम्बन्ध भारतले चाहेजस्तो गरी मात्र अघि बढ्ने सम्भावना छैन । भारतीय पूर्व प्रधानमन्त्री जवाहरलाल नेहरुले चलाएको विदेश नीतिमै भारत रहिरहने हो भने त्यसले समाधान होइन समस्या उत्पन्न गराउने प्रष्ट छ ।

दक्षिण एशियाली राजनीतिमा चीनको प्रवेशसँगै अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश नीतिका अवसर र चुनौतीहरु फेरिएका छन् । त्यसैले यो कुरा दिल्लीले जति छिटो बुझ्छ, विवादित सीमालाई लिएर नेपालसँग त्यति नै छिटो वार्ताको टेबुलमा बस्छ । कूटनीतिक ढंगबाट यी कुरा भारतलाई बुझाउ नसक्नु नेपालको पनि दायित्व हुन आउँछ ।

Logo