निर्माण शुरु भएको ४ वर्ष पछि चिटिक्क बन्दै रानीपोखरी (भिडियोसहित)

निर्माण शुरु भएको ४ वर्ष पछि चिटिक्क बन्दै रानीपोखरी (भिडियोसहित)


काठमाडौं ।
सहरी विकास राज्यमन्त्री रामविर मानन्धर र काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्य सहितको टोलीले रानीपोखरी पुनर्निमार्णको स्थलगत निरीक्षण गरेको छ । शुक्रबार राज्यमन्त्री मानन्धर र महानगरपालिकाका मेयर शाक्यसहितको टोलीले रानीपोखरी पुनर्निमार्णको स्थलगत निरीक्षण गरेको हो ।

निरीक्षणका क्रममा सहरी विकास राज्यमन्त्री मानन्धरले कोभिड महामारी कायम रहे पनि रानीपोखरीको पुनर्निर्माण कार्य सम्पन्न गरी उद्घाटन गरिने दाबी गरे । उनले रानीपोखरी ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक मात्र नभएर प्रेम काहानीसँग समेत जोडिएकाले काठमाडौंबासीको गौरव र जीवनसँग जोडिएको बताए । रानीपोखरीको पुनर्निर्माणलाई महत्व दिएर काम गर्न आग्रह गर्दै उनले कुनै समस्या भए मन्त्रालयबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

रानीपोखरी निर्माणका क्रममा सुरुमा विवाद देखिँदा पुनर्निमार्ण प्राधिकरण मार्फत उपभोक्ता समितिले कामको जिम्मेवारी लिएको थियो । महानगरपालिकाका मेयर शाक्यले विज्ञको सुझावअनुसार मल्लकालीन शैली अनुसारका निर्माण सामग्री प्रयोग गरी रानीपोखरी बनाउने प्रतिवद्धता जनाए । साथै, उपभोक्ता समिति मार्फत काम गराइएको जानकारी समेत दिए । उपभोक्ता समितिले स्थानीय स्तरमा देखिएका विवादहरुलाई समाधान गर्दै कामलाई अगाडि बढाउँदा केही ढिलाई भएपनि अपेक्षाअनुसार नै काम भएको मेयर शाक्यको दाबी छ ।

रानीपोखरी पुनर्निर्माण उपभोक्ता समितिले पनि स्थानीय स्तरमा देखिएको विवादका कारण निर्माणमा केही ढिलाइ भएको जनाएको छ । समितिका अध्यक्ष अजय स्थापितले आफूहरुको यस काममा अनुभव नभएपनि स्थानीय स्तरमा देखिएका समस्या र अवरोधलाई मिलाउँदै कामलाई अगाडि बढाइएको बताए । करिब २५ करोड रुपैयाँ बराबरको लागतमा रानीपोखरीको पुनर्निर्माण सम्पन्न हुने समितिका सचिव रोशन तुलाधरको भनाइ छ ।

यसअघि रानीपोखरीको पुनर्निमार्णको काम महानगरपालिका आफैले गर्दा यसको शैली र पुरातात्विक महत्व विगारेको भन्दै विवाद भएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मार्फत उपभोक्ता समितिले काम सुरु गरेको हो । तर निर्धारित समयमा भने काम सम्पन्न हुन सकेन ।

पछिल्लो समय कोभिड–१९ का कारण देशभर लकडाउन हुँदा पुनर्निर्माणको काम केही प्रभावित भएको थियो । तर पनि लकडाउन खुकुलो भएसँगै कामलाई निरन्तरता दिँदा पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको उपभोक्ता समितिले जनाएको छ । रानीपोखरीको पुनर्निमार्ण परम्परागत शैली र मौलिकता संरक्षण गरी मल्लकालीन शैलीमा गरिएको हो ।

Logo