साउन शिवजीसँग जोडिएको महिना हो । साउन महिनामा शिवको पूजा गरे सबै देवताको पूजा गरे बराबर फल प्राप्त हुन्छ भन्ने सनातन विश्वास छ । साउन महिना धार्मिक, प्राकृतिक एवं सांस्कृतिक दृष्टिले महत्वपूर्ण छ ।
विशेष गरी साउनको सोमबार शिवजीको व्रत एवं पूजा गर्ने चलन छ । पार्वतीले साउन महिनाभरि निराहार रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको किम्वदन्ती भएको र यो कुरा नसुने पनि वरिपरिको वातावरणको प्रभावमा परेर अनि सामाजिक प्रचलन बनिसकेको हुनाले नेपाली सनातन धर्मावलम्बी महिलाहरूले यसलाई बढी महत्व दिन्छन् ।
साउनको महिना व्रत बसी शिवको पूजा गरे आफू, श्रीमान, सन्तान एवं परिवार सबैको कल्याण हुने धार्मिक विश्वास छ । महिनाको अरू दिन नसके पनि सोमबार व्रत बसी शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता पाइन्छ ।
साउनको सोमवार किन विशेष ?
साउने सोमबारका दिन भगवान् शिवको विशेष पूजाआराधना गर्ने परम्परा छ । सोमवारको स्वामी भगवान् शिव भएकाले यो दिनको शिवोपासना विशेष मानिन्छ । अझ यो महिनाको सोमवार गरिने शिवको व्रत पूजा विशेष फलदायी हुन्छ । यस दिन आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु अनिअन्य विविध कामना गर्दै व्रत बस्ने परम्परा छ । हस्ता नक्षत्रयुक्त सोमवारको व्रतको प्रभावले पार्वतीले महादेव स्वामी पाएको प्रसंग पुराणमा पाइन्छ ।
सनातन धर्ममा साउनलाई धर्मकर्मको महिना भनिन्छ ।यो महिनामा व्रत, दान, पूजापाठ आदि गर्दा धेरै गुना फल प्राप्त हुन्छ भन्ने विश्वास छ । पुराणहरूमा शिवआराधनाका लागि मुख्य तीनथरि व्रतको चर्चा पाइन्छ । ती हुन्– साउने सोमबार, सोर्ह सोमबार एवं सोम प्रदोष । सोमबारको व्रत विधि पनि अन्य व्रतजस्तै हुन्छ । यो व्रत सूर्योदयदेखि प्रारम्भ भएर तेस्रो प्रहरसम्म बसिन्छ । दिनको तेस्रो प्रहर अर्थात् करिब तीन बजेतिर शिवजीको पूजा गरी कथा सुन्नुपर्छ । व्रत गरेको दिन बेलुका एकपटक सात्विक भोजन गर्नुपर्छ । यसरी व्रत बस्दा सारा समस्या समाधान हुने जनविश्वास छ ।
यसपटक साउनको पहिलो सोमवार साउन ६ गते परेको छ । यस हिसाबले यो वर्ष साउनमा ४ वटा मात्र सोमबार पर्छन् । यो वर्ष शुक्र अस्त भएकाले व्रत नबस्ने भन्ने हल्ला पनि चलेका छन् तर त्यसको कुनै अर्थ छैन । किनभने सोमबारको व्रतको फल प्राप्त हुने कुरामा शुक्र उदय र अस्त हुनुले महत्व राख्दैन ।
बरु यो वर्षको पहिलो सोमबार अर्थात् आजको सोमबार विशेष सोमबार हो । आज सोमवारसँगै मरुस्थली नाग पञ्चमी पनि परेको छ । १३ गतेको सोमबारका दिन सोमप्रदोषका साथै सर्वार्थ सिद्धि एवं अमृत सिद्धि योग बनेको छ । २० गतेको सोमबारका दिन देशाचारी नागपञ्चमी परेको छ भने २७ गतेको सोमबारका दिन सोमप्रदोष पनि परेको छ ।
७० वर्षपछि सोमवार र शिवको प्रिय नाग पञ्चमी एकसाथ परेकाले यो काल सर्प योग निवारणका लागि पनि उत्तम समय हो । यो वर्ष साउनका चारवटै सोमवारमा विशेष योग बनेको छ जुन एक दुर्लभ संयोग हो । उसो त साउने सोमबारका दिन नाग पञ्चमी २० वर्षपहिले पनि आएको थियो तर कृष्ण पक्षको पञ्चमी र साउनको सोमवार७० वर्षपछि जुरेको संयोग हो । त्यस हिसाबले यो वर्षको साउन महिना शिवोपासनाका लागि विशेष बनेको छ ।
शिव उपासना किन ?
शिव वैदिक देवता हुन्। शिवको अर्थ कल्याण हो। शिवलाई आशुतोष अर्था छिटै प्रसन्न हुने भगवान् मानिन्छ । विधिपूर्वक आराधना गर्दा उनी खुशी हुन्छन् । शिवको उपासना गर्ने परम्परा वैदिक कालदेखि नै चलेको पाइन्छ । वेदमा रुद्रको रूपमा शिवको उपासना गरिएको छ । शुक्ल यजुर्वेदको सोह्रां अध्यायमा रुद्रको वर्णन गरिएको छ ।
सुख प्रदान गर्ने, पाप नाश गर्ने र भक्तलाई कल्याण गर्ने ईश्वरका रूपमा शिवको उपासना गरिएको छ । पौराणिक ग्रन्थहरूमा ब्रह्मालाई सृष्टिकर्ता, विष्णुलाई रक्षकअनि शिवलाई संहारक देवता मानिएको छ । अझ शिवलाई त सम्पूर्ण देवताका पनि देवता अर्थात देवाधिदेव महादेव भनिएको पाइन्छ ।
शिवलाई कसरी तुल्याउने खुसी ?
नेपाली समाजमा साउन महिनामा रुद्री लगाउने चलन छ । रुद्री भनेको शतरुद्रीय वैदिक मन्त्र पाठ गरी शिवलिङ्गमा अभिषेक गर्नु हो। विशेषगरी साउनको सोमवार पारेर तथा त्यस दिन नजुरे साउनकै अन्य कुनै दिन रुद्राभिषेक गरिन्छ । भक्तिभावपूर्वक रुद्री गर्नालेधर्म, अर्थ काम र मोक्ष यी चार पुरुषार्थ प्राप्त गर्न सकिन्छ भन्ने सनातन धर्मावलम्बीहरूको विश्वास पाइन्छ ।
साउन महिना नै शिवलाई बढ्ताप्यारो लाग्नुको कारण के हो भने यो महिनामा अधिक वर्षा हुन्छ जसले शिवको विषले डाह गराएको शरीरमा शीतलता प्रदान गर्छ । यो महिनामा प्रकृतिले नै रुद्राभिषेक गर्छ । शिव पुराणअनुसार शिव स्वयं जल हुन् । भगवान् शिवले सनतकुमारहरूलाई साउन महिनाको महिमा बताउने क्रममा भनेका छन्– मेरा तीन आँखामध्ये दाहिने आँखा सूर्य, बायाँ आँखा चन्द्रमा तथा बीचको आँखा अग्नि हुन् ।
हाम्रा महिनाहरूको नाम नक्षत्रका आधारमा राखिएको छ । श्रवण नक्षत्रको स्वामी चन्द्रमा हुन् ।चन्द्रमा भगवान् शिवको टाउकोमा शोभायमान छन् । जब सूर्य मिथुनबाट कर्कटराशिमा प्रवेश गरेर साउन महिना सुरु हुन्छ तब सूर्य दक्षिणायन हुन्छन् र सूर्यको ताप कम तथा दिन छोटा हुन थाल्छन् । सूर्यले ताप तथा चन्द्रमाले शीतलता प्रदान गर्छन् । यसकारण सूर्य कर्कटराशिमा आएपटि वर्षा हुन्छ र उक्त वर्षाले शिवलाई प्रसन्न तुल्याउँछ ।
साउन महिनाको वैज्ञानिक पक्ष
प्रकृतिबाट आजसम्महामीले जति पनि हावा, घाम, पानी, हरियाली आदि जे जे कुराको निःशुल्क उपयोग गरेका छौँ त्यसप्रति कृतज्ञता प्रकट गर्ने महिना हो साउन ।
असार महिनाबाट पानी पर्न सुरु हुने भएकाले साउन महिनामा फल्ने सागसब्जीहरू प्रथम वर्षाको पानीबाट दूषित हुन्छन् । हाम्रा अग्रज ऋषिमुनिहरूले यो कुरो बुझेका थिए । त्यसैले साउन महिनामा साग खान वर्जित गरे । यसका साथै यो महिनामा पाचन तन्त्र कमजोर हुने भएकाले पूरै महिना, नभए पनि हप्ताको एक दिन व्रत बस्ने विधान बनाए । जुन कुरालाई आजसम्म पनि पछ्याउने मानिसहरू समाजमा थुप्रै छन् ।
यो महिनामा शिवलिंगमा दूध चढाउनुको पछाडि पनि कारण छ । प्रथम वर्षा ऋतुमा फलेका पत्तायुक्त सागसब्जी तथा घाँस खाने गाईभैंसीहरूको दूध पनि दूषित हुन्छ । त्यसले मानव स्वास्थ्यमा असर गर्नसक्छ भनेर ऋषिहरूले विष पिउनसक्ने शिवलाई मात्र साउनमा दूध चढाउने प्रचलन बसालेका हुन् ।
शिवलाई पञ्चामृत चढाइन्छ । पञ्चामृत गाईको दूध, दही र घिउ अनि मह र सख्खर मिसाएर बनाइन्छ । यीमध्ये दूधले जलको, दहीले वायुको, घिउले अग्निको, महले आकाशको र सख्खरले धर्तीे तत्वको प्रतिनिधित्व गर्छन् । यी ५ तत्व मिलेर नै मानव शरीर बनेको हुन्छ । तसर्थ तिनै तत्वरूपी पञ्चामृत दिएर ईश्वरप्रति कृतज्ञता अर्पित गरिन्छ ।
प्रकाशित: ६ साउन २०७६ १४:२७ सोमबार