स्वास्थ्य जाँचबिनै भित्रिए ८ हजार

स्वास्थ्य जाँचबिनै भित्रिए ८ हजार


अछाम ।
लकडाउनकै अवधिमा पूर्वी क्षेत्रबाट झन्डै ८ हजार नागरिक सुदूरपश्चिम प्रदेशमा भित्रिएका छन् । उनीहरू केही पैदल र केही बसमार्फत आएका हुन् । प्रदेशको प्रवेशद्वार कर्णाली चिसापानी हुँदै आएका ती नागरिकको सामान्य स्वास्थ्य परीक्षणसमेत गरिएको छैन । लम्कीचुहा नगरपालिका–३ का वडाध्यक्ष भक्त चलाउनेका अनुसार उनीहरू चैत २७ गतेदेखि मंगलबारसम्म चिसापानीबाट सुदूरपश्चिम प्रवेश गरेका छन् । उनीहरू दोस्रो चरणको लकडाउन थपिएसँगै धमाधम पैदल आउन थालेका थिए । एक साता यता स्थानीय तह, संघीय सांसद, मन्त्री लगायतले आफ्ना नागरिकलाई बसमै पठाउन थालेपछि त्यो संख्या बढेको हो। अघिल्लो सातासम्म ३ हजार जना प्रवेश गरेका थिए । ‘यो साता स्थानीय तह, सांसदहरूले पनि काठमाडौंबाट बसमा पठाउन थालेपछि यो संख्या निकै बढेको हो’, उनले भने।

धादिङ, गोरखा, तनहुँ, सिन्धुपाल्चोक, दोलखा, सोलुखुम्बु, काठमाडौं, काभ्रे, नुवाकोट लगायत जिल्लामा रहेका सुदूरपश्चिमेली धमाधम फर्किरहेका छन् । उनीहरूलाई चिसापानीमा सामान्य जाँचसमेत हुने गरेको छैन । अन्य जिल्लाबाट आएकाहरूको स्वास्थ्य जाँच, र्यापिड टेस्ट गर्नुपर्ने भए पनि उनीहरू भने त्यत्तिकै फर्किरहेका छन् ।

चिसापानीमा हेल्थ डेस्क सञ्चालन गर्न प्रदेश सरकारले निर्देशन दिए पनि कार्यान्वयन भएको छैन । लम्की चुहा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयन्ती बीसीले जिल्लाले स्वास्थ्य सामग्री पठाएर हेल्थ डेस्क सञ्चालन गर्ने तयारी भइरहेको बताइन् ।

डोटीमा १७३ भित्रिए

काठमाडौंमा डेरा बस्दै आएका डोटीका बासिन्दा सोमबार र मंगलबार १ सय ७३ जना फर्किएका छन् । बाहिरबाट आउने व्यक्तिले २१ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने जिल्ला प्रशासनको निर्णय छ। त्यस अनुसार उनीहरूलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राख्ने काम भइरहेको छ । उनीहरू स्थानीय तहहरूकै सक्रियतामा आएको हुन सक्ने र जो जसरी जिल्लामा आए पनि क्वारेन्टाइनमा भने अनिवार्य बस्नै पर्ने प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए ।

काठमाडौंबाट फर्किनेमा शिखर नगरपालिकाका ५५, दिपायल सिलगढी नगरपालिकाका २४, पूर्वीचौकी गाउँपालिकाका ४१, केआईसिंहका २०, बोगटान फुड्सिलका १९ र आदर्शका १२ जना छन् । तिनीहरू सबैलाई आआफ्नो स्थानीय तहले सबै व्यवस्थापनका साथ क्वारेन्टाइनमा राखेको बताइएको छ।

अछाममा ६५ जना फर्किए

गृह मन्त्रालयले लकडाउन कडाइ गर्न सुरक्षा निकाय र प्रशासनलाई परिपत्र गरेकै दिन मंगलबार अछाममा बाहिरबाट ६५ जना भित्रिएका छन् । डोटी र अछामको सीमाना चौखुट्टेमा रोकिएका ६१ जनालाई सोमबार जिल्ला भित्र्याइएको थियो। मंगलबार मात्रै धनगढीबाट चार जना जिल्ला भित्रिएका छन् ।अन्नपूर्णबाट

Logo