बाँकेमा सडक दुर्घटनामा दुई जनाको मृत्यु

बाँकेमा सडक दुर्घटनामा दुई जनाको मृत्यु


बाँके ।

बाँकेको राप्तीसोनारी गाउँपालिका सिक्टाको जङ्गलस्थित पूर्वपश्चिम राजमार्ग सडकखण्डमा आज भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।

दुर्घटनामा कारमा सवार नवलपरासी, कावासोती नगरपालिका—८ बस्ने २२ वर्षीय क्षितिजकुमार कुँवर र चितवन, भरतपुर महानगरपालिका—१२ निवासी ४१ वर्षीय कमलराज लम्सालको मृत्यु भएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए। प्रहरीका अनुसार वा १४ च २७८९ नं.को कार अनियन्त्रित भई सडकदेखि तीन मिटर दाहिने छेउमा रहेको रुखमा ठोक्किएको थियो ।

यसैबीच बाँके प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका एक व्यक्तिलाई दशकपछि पक्राउ गरिएको छ । डुडुवा गाउँपालिका–३ बस्ने ३१ वर्षीय ‘धर्मा सिंह’ भनिने राजेश यादवलाई आज बिहान उनकै घरबाट प्रहरीले पक्राउ गरेको हो । यादवमाथि नेपालगञ्ज—२१ निवासी २२ वर्षीय वसन्त मल्ल भनिने छन्दविक्रम मल्लको अपहरण गरी हत्या गरेको आरोप लागेको छ । ०६६ भदौ २१ गते सम्साँझै घरबाट अपहरणमा परेका मल्लको भोलिपल्ट बिहान साविक बाँकेको उदयपुरस्थित धानखेतमा शव भेटिएको थियो ।

जिल्ला प्रहरी कार्यालयमा आज भएको पत्रकार सम्मेलनमा प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले अभियुक्त यादव विभिन्न अपराधमा संलग्न रहेको बताए। नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा प्रवीणता प्रमाणपत्र तह दोस्रो वर्षमा अध्ययनरत मल्लको हत्याको जिम्मा तत्कालीन तराई मधेश मुक्ति टाइगर (ज्वाला समूह) ले लिएको थियो ।रासस

Logo