स्वास्थ्य विशेष : शरीरमा पानीको मात्रा कसरी सन्तुलन राख्ने ? (भिडियोसहित)

स्वास्थ्य विशेष : शरीरमा पानीको मात्रा कसरी सन्तुलन राख्ने ? (भिडियोसहित)


भनिन्छ, पानी जीवनको आधार हो, यसरी पानी र जीवनको गहिरो सम्बन्ध भएझैँ पानी र स्वास्थ्यको पनि गहिरो सम्बन्ध छ । पेट भरिएको होस् वा खाली, जुनसुकै समयमा पनि पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । बिहान उठेर खाली पेटमा पानी पिउँदा स्वास्थ्यका लागि अझ बढी फाइदाजनक हुन्छ ।  

हाम्रो शरीरको ७० प्रतिशत अंग पानीले नै ओगटेको छ  । पानी हाम्रो शरीरको हरेक कोष–कोषमा विद्यमान छ भने कोषको बाहिरपट्टि पनि एक्ट्रासेलुलार फूलईड (कोष बाहिरको तरल) को रुपमा पनि पानी नै छ । त्यसैले पानी बिना शरीर भित्रका कुनै पनि क्रियाहरू सम्भव हुँदैनन् । शरीरका क्रियाहरूमा अवरोध सिर्जना भएमा हाम्रो स्वास्थ्य बिग्रन्छ । तसर्थ, हाम्रो स्वास्थ्य पानीमा भर पर्दछ । सामान्य व्यक्तिले दिनमा तीन देखि चार लिटर पानी पिउनु पर्ने हुन्छ । तर यो एकै चोटी पिउनु भने हुँदैन ।

यसरी पानीले तिर्खा मेट्ने मात्र होइन, यसको नियमित सेवनले सम्भावित कयौं रोगबाट पनि बच्न सकिन्छ । मानिसलाई लाग्ने अधिकांश रोगको घर पेट नै हो । पानीले पेट सफा गर्ने काम गर्दछ । त्यसैले प्रशस्त पानी सही समयमा र सही तरिकाले पिउने गरेमा हामी धेरै रोगबाट बच्न सक्छौँ । यदि हामीले पर्याप्त मात्रामा पानी नपिएको खण्डमा यस्ता खालका समस्याहरु उत्पन्न हुने गर्छन् ।  

१. मुख सुक्नु

शरीरमा पानी कम भएको मूख्य लक्षण भनेको मुख सुक्नु हो । शरीरमा पानीको मात्रा कम भएपछि ¥याल ग्रन्थिले पर्याप्त ¥याल बनाउन सक्दैन र फलस्वरुप मुख एवम् घाँटी सुक्ने गर्छ । बारबार मुख एवम् घाँटी सुक्न थाल्यो भने यो समस्या निर्जलीकरणले गर्दा हो भन्ने बुझ्नु पर्दछ  त्यसैले यस्तो अवस्थामा तुरुन्त पानी पिउनु पर्दछ तर पानीको पूर्ति नुनचिनी हालिएको एवम् कार्बाेनेटेड पेयले गर्न सक्दैन । यस्ता पेय पदार्थ पिउँदा झन् जल–अल्पता बढ्दछ । यसर्थ तिर्खा लागेको बेलामा पानी पिएर नै तिर्खा मेट्नु पर्दछ । पानी शरीरलाई चाहिने पेय पदार्थ हो ।  

२. छाला सुख्खा हुनु

शरीरमा जल–अल्पता बढ्दै गए पछि छालामा रक्त प्रवाह गर्ने रक्तनलीहरु संकुचित भई छालाबाट हुने पानीको क्षय रोकिएर छालाको ओसिलोपन नाश हुन पुग्दछ । यस्तो अवस्थामा छाला सुख्खा हुने, चाउरिने, फुस्रो हुने, फुट्ने, झुल्लिने र छालाको प्राकृतिक चमक नष्ट हुने गर्दछ ।

३. पिसाब पहेंलो हुनु

पिसाब स्वास्थ्यको दर्पण हो । पिसाबको रंगले स्वास्थ्यको धेरै आयामहरुको जानकारी दिन सक्छ र यसमध्ये पिसाबको रंगले शरीरमा पानी कम भए, नभएको विषयको पनि जानकारी दिने गर्दछ । यदि पिसाबको रंग पहेंलो हुँदै गयो भने  शरीरमा जल–अल्पता सुरु भइसक्यो भन्ने बुझ्नु पर्दछ । त्यसैले यस्तो अवस्थामा शरीरले पिसाबबाट हुने जलविसर्जनलाई रोक्न थालिसक्यो भन्ने बुझ्न जरुरी हुन्छ । यसर्थ, हाम्रो शरीरमा हुने जल–अल्पताको पहिलो चिन्हको रुपमा पहेलो पिसाबलाई लिन सकिन्छ । साधारणतया मानिसको पिसाब हल्का पहेलो रंगको हुन्छ तर पिसाब गाढा पहेंलो हुँदै गयो भने चाहिं यो जलअल्पताको लक्षण हो ।

४. पिसाबको मात्रा कम हुनु

पर्याप्त मात्रामा पानी पिइरहने व्यक्तिले नियमित रुपमा पिसाब फेरिरहने गर्दछ तर शरीरमा पानीको मात्रा कम हुँदै गयो भने पिसाबको मात्रा र नियमिततामा पनि कम हुने गर्दछ । साधारणतया एउटा स्वस्थ व्यक्तिले ६ देखि ७ चोटिसम्म पिसाब फेर्ने गर्दछ तर दैनिक ६/७ चोटि भन्दा कम पिसाब फेरिएमा यो जलअल्पताको प्रारम्भिक चिन्ह हुन सक्छ । यस्तो अवस्थामा पानी पिउन आवश्यक छ ।  

५. कब्जियत

मल विसर्जनको नियमितता अत्यन्त कम भई दैनिक एक पटकसम्म पनि हुन नसक्नु वा दिसाको मुलायमपन नष्ट भई साह्रो दिसा आउनुलाई कब्जियत भनिन्छ । कब्जियत अनेकौं कारणले हुने गर्दछ तर शरीरमा पानीको मात्रा कम भएको खण्डमा पनि कब्जियतका लक्षणहरु देखा पर्ने गर्दछ । यसकारण पानी कम भएर कब्जियत भएको भए पानी पिएरै कब्जियत ठिक गर्न सकिन्छ र अन्य कारणबाट कब्जियत भएको भएपनि प्रशस्त पानी पिउँदा कब्जियत निवारणमा ठूलो टेवा पु¥याउँदछ ।

६.जोर्नी दुख्नु

जोर्नी दुई हड्डीहरुको संगम हो । जोर्नीमा दुई हड्डीहरुलाई आपसमा बाँधेर राख्ने लिगामेन्टहरु हुन्छन् भने सन्धि स्थानमा कार्टिलेज नामक कोमलतन्तुहरु पनि हुन्छन् । लिगामेण्ट एवम् कार्टिलेज जस्ता कोमल तन्तुहरुमा पनि ७० देखि ८० प्रतिशत पानी रहेको हुन्छ भने यी तन्तुहरुलाई निर्वाध कार्यरत रहनका लागि पर्याप्त पानी आपूर्ति भइरहनु पर्दछ । शरीरमा पानीको अभाव भइरहेको खण्डमा यी तन्तुहरुमा हुने पानी कम भई तन्तुहरु विघटित हुन सक्छन् । फलस्वरुप जोर्नी दुख्ने, सुन्निने, लिगामेण्ट एवम् कार्टिलेजहरु खिइने र जोर्नी नै विकृत हुने जस्ता समस्याहरु देखा पर्दछन् । यद्यपि जोर्नीको स्वास्थ्यलाई खराब गर्ने धेरै तत्वहरु छन्, तर, त्यसमध्ये आम एवम् वास्ता नगरिएका कारण कम पानीको सेवन पनि हो ।

७. टाउको दुख्नु

बेला बेलामा टाउको चडक्क चड्कने वा दुख्ने समस्या शरीरमा पानीको मात्रा कम हुनाले भएको पनि हुन सक्दछ । सामान्यतया नियमितरुपमा टाउको दुखिरहने समस्या भएमा नियमित विना कारण पानी पिएर यस समस्याको निराकरण गर्न सकिन्छ । यस्तो अवस्थामा जडीबुटीको चिया, मोही, मह, कागती, पानी, प्राकृतिक तत्वहरुद्वारा निर्मित सर्बत वा फलको रस पिउँदा झनै उत्तम हुन्छ । तर टाउको दुखाइको निहुँमा चिया कफी या कार्बाेनेटेड ड्रिङ्क वा चिनी हालिएका ड्रिङ्कस पिउँदा जलअल्पता झनै बढ्न गई समस्या पुनः थपिन सक्छ ।

८.शारीरिक एवम् मानसिक थकाइ

शरीरमा पानीको मात्रा कम हुँदै गयो भने शारीरिक एवम् मानसिक थकानको महसुस हुने गर्दछ । तर सामान्यतया हामी शारीरिक एवम् मानसिक थकान भएको खण्डमा चिया कफी वा कार्बाेनेटेड ड्रिङ्क पिउने गर्दछौं । यसो गर्दा एकछिन पुनः तागतिलो अनुभव त हुन्छ तर शरीरमा भएको जलअल्पता पुनः बढ्दछ र केही क्षण पश्चात् झन् धेरै थकाइ लाग्न थाल्दछ । यसकारण जब हामीलाई शारीरिक एवम् मानसिक थकाइको अनुभव हुन्छ, त्यस अवस्थामा पानी पिउने गरौं ।

९. पाचन सम्बन्धी समस्या

नियमित रुपमा पाचन समस्याबाट ग्रस्त भइरहनु भएको छ र पानी पनि पर्याप्त मात्रामा पिउनु हुुन्न भने तपाईंको पाचन समस्या जलअल्पताको कारणले हुन सक्दछ । पाचन सुचारु हुन चाहिने पर्याप्त पानी नपिउँदा विशेषगरि अम्लपित्त, अपच, अजीर्णता, पेट फुल्ने दुख्ने ढ्याउढ्याउ आउने जस्ता समस्या देखिन सक्दछ । यसको अलावा ग्यास्ट्रिक, कब्जियत, अपानवायुको वृद्घि र ढ्याउढ्याउ आउने जस्ता समस्याहरु पनि जलअल्पताकै कारणले हुने गर्दछ ।

१०. कमजोर प्रतिरक्षा प्रणाली

हाम्रो शरीरमा रोग एवम् किटाणुहरुसँग लड्नका लागि प्रतिरक्षा प्रणालीको व्यवस्था छ । प्रतिरक्षा प्रणाली सशक्त भएको खण्डमा शरीरले धेरै रोग विरुद्ध सशक्त ढङ्गले लडेर शरीरलाई स्वस्थ राख्न मद्दत गर्दछ तर शरीरमा पानीको मात्रा कम भएको खण्डमा शरीरबाट निष्कासित भएर जानु पर्ने विजातीय द्रव्यहरु विसर्जन हुन नसक्दा शरीरमा विष सञ्चय हुन पुग्दछ । फलतः यी विजातीय द्रव्यहरुको संकलनले प्रतिरक्षा प्रणालीको स्वास्थ्यलाई प्रतिकूल प्रभाव पार्दछ । त्यसैले प्रशस्त मात्रामा पानी पिउन आवश्यक छ ।  

यस्तै शरीरमा पानी कम भएको खण्डमा व्यक्तिको तेज पनि कम हुने गर्दछ । यदि कसैलाई शरीरमा कम उर्जाको महसुस हुन थाल्यो भने यसको कारण जलअल्पता पनि हुन सक्दछ ।

 

 

Logo