महिलाहरुमा मासिक श्राव : जटिलताका कारण र समाधानका उपाय (भिडियाेसहित)

महिलाहरुमा मासिक श्राव : जटिलताका कारण र समाधानका उपाय (भिडियाेसहित)


महिला र पुरुष एकै भनेपनि शारीरिक हिसाबले महिलाहरु केही संवेदनशील हुन्छन् । जीवनको हरेक चरणमा उनीहरुले केही जटिलता र पीडा झेल्नु पर्ने हुन्छ । जस्तो कि, किशोर चरणमा प्रवेश नगर्दै उनीहरुको शारीरिक परिवर्तनसँगै मासिक स्राव (महिनावारी) सुरु हुन्छ । सुरुको मासिक श्राव एक हिसाबले अनपेक्षित हुन्छ ।  

जुनसुकै बेला वा जुनसुकै अवस्थामा मासिक श्राव हुन सक्छ । विगतमा १३ बर्षदेखि मासिक श्राव सुरु हुन्थ्यो भने अहिले ८ वर्षको उमेरमा पनि मासिक श्राव सुरु भएको पाइन्छ । धेरैजसोको ११ देखि १३ बर्षको उमेरमा पहिलो मासिक श्राव हुन्छ । यद्यपी कसैको भने ८ वर्षको उमेरमै र कसैको १६ वर्षपछि पनि मासिक श्राव सुरु हुन सक्छ । चाहे ८ वर्षमा होस् वा १३, मासिक श्राव एक नियमित प्रक्रिया हो । किशोरीको अन्डकोषले हरेक महिना एउटा विकसित अन्डा पैदा गर्न सुरु गर्छ । यो अन्डा फ्लोपियन ट्युवद्वारा भित्र प्रवेश गर्छ । जब अन्डा गर्भमा पुग्छ, त्यसको स्तर रगत र तरल पदार्थमा मिलेर गाढा हुन्छ । र महिलाको योनीबाट बाहिर निस्किन्छ । त्यसैले किशोरी जो महिनावारी भएपछि आमा बन्न सक्षम हुने मानिन्छ । अर्थात् उनी गर्भवती बन्न सक्छिन् ।  

हरेक किशोरी हरेक महिना महिनावारी सुरु हुनु अघि पीडादायी क्षणबाट गुज्रन्छन् । कसैलाई यो पीडा कम हुन्छ, कसलाई असह्य । कतिसम्म भने, महिनावरी सुरु हुनुअघि पेट दुख्ने, वान्ता हुने जस्ता समस्या पनि कतिले झेल्ने गर्छन् । धेरै जसो महिलाले महिनावारीको सुरुवातमा डर, लाज र दुखाई एकसाथ सहनु पर्ने हुन्छ ।  महिनावारीका क्रममा गरिने लापरवाहीले उनीहरुमा अनेक किसिमको यौन तथा प्रजनन समस्या ल्याउने गर्छ । अज्ञानतावस वा बाध्यात्मक स्थितिले गर्दा महिनावारीको समयमा उनीहरुले पर्याप्त मात्रामा सरसफाईमा ध्यान दिन सक्दैनन् । त्यसमाथि महिनावरीबारे समाजमा जुन भ्रम छ, त्यसले उनीहरुलाई थप असहज बनाइदिने गरेको छ ।

महिनावारीको जटिलता  

महिनावारी एउटा प्राकृतिक प्रक्रिया हो । सामान्यतयाः किशोरी अवस्थामा पुगे पछि महिनावारी शुरु हुन्छ र पहिलो पटक भएको महिनावारीलाई मेनारकी भनिन्छ । महिनावारी शुरु भएदेखि नै अधिकाशं महिलाहरु सामाजिक रुपले मात्र होइन, शारीरिक तथा मानसिक रुपमा पनि पीडित हुने गर्छन् । मेनारकी देखि मेनोपोज (महिनावारी सुकेको अवस्था) सम्म अधिकांश महिलाहरु महिनावारीको समयमा दुखाई सहन बाध्य हुन्छन् । महिनावारीको यस्ता पीडाका कारण करिब ९० प्रतिशत बढी महिला चिन्तित हुन्छन् भन्ने विभिन्न अध्ययनहरुले देखाएका छन् । महिनावारी एउटा शारीरिक सामान्य प्रक्रिया भए पनि यस प्रक्रियामा विभिन्न किसिमका गडबडी आउने गर्छन् ।

महिनावारी समयमा नहुने, धेरै दिन वा धेरै हुने, रगतका चोक्टाहरु जाने, यस समयमा अत्याधिक दुखाई हुने मात्र होइन, कसैकसैलाई महिनावारी नभएर पनि पीडा हुने गर्छन् । अधिकांश किशोरीमा महिनावारी समयमा नहुने, कम रगत जाने, तथा अत्याधिक दुखाई हुने समस्या बढी हुने गरेको पाईन्छ भने उमेर पुगेका महिलाहरुमा धेरै रगत जाने वा धेरै दिनसम्म रगत जाने समस्या बढी हुने गरेको पाईन्छ ।

महिनावारीको असामान्य दुखाईका अन्य कारण :

मासिक श्रावको बेला सामान्य दुखाई हुनु आम कुरा हो । तर, असामान्य रुपमा दुखाई एवं पीडा हुन्छ भने त्यो रोग हुन सक्छ, जसलाई एन्डोमेट्रियोसिस भनिन्छ ।

के हो एन्डोमेट्रियोसिस ?

यो एक गर्भाशयमा हुने समस्या हो । यसमा एन्डोमेट्रियम टिष्युबाट गर्भाशयको भित्र पत्र बनेको हुन्छ । गर्भाशयको आन्तरिक पत्र बनाउने एन्डोमेट्रियम जब असामान्य बढोत्तरी हुन थाल्छ, त्यो गर्भाशयबाट बाहिर फैलन थाल्छ । कहिले काहीँ त गर्भाशयको पत्र बाहिरी पत्र बाहेक अन्डाशय, आन्द्रा र अन्य प्रजनन अंगमा पनि फैलन्छ । यसैलाई एन्डोमेट्रियोसिस भनिन्छ । यो समस्या मासिक श्रावसँग जोडिएको हुन्छ । एन्डोमेट्रियोसिस भएपछि महिनावारीका क्रममा धेरै रगत बग्छ । महिनावारी सुरु हुनु अघि कमजोरी एवं थकान महशुस हुन्छ । मेरुदण्डको तल्लो भागमा दुखाई अनुभव हुन्छ । विश्वका हरेक १० महिलामा एक एन्डोमेट्रियोसिसले ग्रस्त हुन्छन् । अनुमानित १७ करोडभन्दा बढी महिला यस पीडाबाट गुज्रिरहेका छन् । एक रिसर्च अनुसार एन्डोमेट्रियोसिसले ग्रस्त महिला हरेक महिना एक पीडादायक क्षणबाट गुज्रन्छन् । यति मात्र होइन यो रोगको कारण बाँझोपनको समस्या पनि हुन्छ ।

धेरै पीडा भए के गर्ने ?

– आइब्रुफेन, एस्पिरिन र नेप्रोक्सेन नामक औषधीले पीरियडको दुखाई कम गर्न सहयोग गर्छ ।

– हट व्यागले पेट सेक्नु पर्छ ।

– धेरै बलको काम नगर्ने ।

– पर्याप्त आराम गर्नु पर्छ ।

– तातोपानी प्रशस्त मात्रामा पिउने ।  

किन हुन्छ महिनावारीमा ढिलाई र गढबडी ?

महिनावारीमा महिलाहरुले विभिन्न किसिमको समस्याहरुको सामना गर्नुपर्ने हुन्छ । अनियमित महिनावारी महिलाहरुका लागि सबैभन्दा ठूलो समस्या हुन्छ । यदि महिनावारी समयमा भएन भने महिलाहरुलाई विभिन्न शंका उत्पन्न हुन्छ । वास्तवमा महिनावारीमा अनियमितता हार्मोन्समा आएको परिर्वतनका कारण हुन्छ । यदि कोही महिलालाई तीन महिनाको बीचमा एउटा महिनावारी हुदैन भने उनलाई गम्भीर समस्या हुन सक्छ । यस बाहेक कामकाज र वरपरको वातावरणले पनि महिनावारीमा असर पार्छ । यस बाहेक निम्न कुराहरुले महिनावारीमा ढिलाई र गढबड हुन्छ : 

गलत खानपान

महिनावारीमा समस्या आउनुको मुख्य कारण हो, गलत खानपान । खानपानले महिलाको शरीरमा हर्मोनले गडबडी हुनुमा प्रत्यक्ष सम्बन्ध रहने गरेको एक अध्ययनले जनाएको छ । हिजोआजका महिला तथा युवतीहरु बजारमा पाइने जंक फुड्स, मसालेदार खानपिन तिर बढी आकर्षित हुने गर्दछन् । यसरी जो महिला खानामा कार्वोहाइडेट धेरै सेवन गर्छ, जसले गर्दा उनीहरुमा महिनावारी समय अगावै सुरु हुने सम्भावना उच्च हुने गर्छ ।  

तनाव

उच्च तनावका कारण महिलाहरुको हार्मोनमा सीधा प्रभाव पार्ने गर्दछ, जसले गर्दा महिनावारीमा नराम्रो असर पर्छ । उच्च तनावले महिलाको सेक्स हार्मोन एस्ट्रोजेन र प्रोजेस्टेरोनको उत्पादनमा हस्तक्षेप गर्दछ । यदि रगत प्रवाहमा तनाव हार्मोन बढ्यो भने महिनावारीमा अनियमितता हुन्छ ।

वजन कम वा बढी हुनु

महिलाहरुको शरीरको तौलको घटबढले पनि महिनावारीको अनियमिततालाई बढावा दिने गर्दछ । शरीरको तौल अचानक घट्ने वा बढ्ने भयो भने एस्ट्रोजेन र प्रोजेस्टेरोन हार्मोनको स्तर बिग्रन्छ, जसले गर्दा महिनावारीमा अनियमितता आउने गर्दछ ।

अत्याधिक व्यायाम  

दैनिकरुपमा उचित व्यायामले महिलाको सम्पूर्ण स्वास्थ्यलाई लाभदायक हुने गर्छ । तर, अत्याधिक व्यायाम नोक्सानदायक पनि हुन सक्छ । हिजोआज महिलाहरु आफ्नो शारीरिक बनावटलाई आकर्षक बनाउन र स्वस्थ रहन आफ्नो शरीरलाई नै ध्यानमा नराखि व्यायामलाई मुख्य प्राथमिकता राख्ने गर्दछन् । यसरी शरीरको आवश्यकता भन्दा बढी व्यायाम र कडा डाइटिङको नियममा बस्ने गर्दछन् । जसले गर्दा महिलाको शरीरमा हर्मोन्सको गडबडी हुन जान्छ जसको प्रत्यक्ष असर महिलाको महिनावारीमा देखिन सक्छ ।

गर्भनिरोधक औषधिको प्रयोग  

विवाहित महिलाले सन्तानको जन्मान्तर कायम गर्न वा अनिच्छित गर्भ रहनबाट रोक्न गर्भनिरोधक औषधिको प्रयोग गर्ने गरेका छन् । यस्ता औषधिको प्रयोगले महिलाको शरीरमा रहेको एस्ट्रोजेन र प्रोजेस्टेरोन हर्मोनहरूको सन्तुलनलाई असर गर्ने गर्दछ, जसले गर्दा महिनावारीको चक्रमा वाधा उत्पन्न हुन्छ । यसैगरी, यस्ता औषधिको प्रयोगले भविष्यमा र जोनिवृत्ति पनि चाँडै हुने चिकित्सकहरुको बुझाइ छ । गर्भनिरोधबाहेक अन्य रोगका नियमित औषधि सेवन गरेका महिलाहरुमा पनि महिनावारी गढबड हुन सक्छ ।

मदिरा वा धुमपान  

अत्यधिक मदिरा पिउने बानी र धुमपानको सेवनले पनि एस्ट्रोजेन र प्रोजेस्टेरोन हार्मोनहरूलाई असर गर्छ । साथै यसले कलेजोलाई पनि प्रत्यक्ष हानी गर्छ यस्तै यसले गर्दा महिनावारी पनि समयमा हुँदैन ।

पोलिसिस्टिक ओभरी सिन्ड्रोम

हिजोआजको जीवनशैलीले महिलाहरुमा पोलिसिस्टिक ओभरी सिन्ड्रोमको समस्या सामान्य हुन थालेको छ । यो रोगको कारण महिलाहरुमा अनियमित महिनावारीको समस्या हुन्छ । केवल महिनावारी मात्र नभएर यो रोगका कारण महिलाहरुमा वजन बढ्ने, कपाल झर्ने, अनुहारमा रौं, दाग जस्ता समस्याहरु पनि उत्पन्न हुन्छ ।

पिसिओस र पिसिओडीका कारण  

पिसिओस र पिसिओडीका एक यस्तो समस्या हो, जसले हर्मोनको सन्तुलन बिगार्दछ । यस बाहेक यदि अन्डाशयमा सिस्ट जम्मा भएको छ भनेपनि यसले महिनावारीको चक्रलाई असर पार्दछ ।

Logo