स्वास्थ्य विशेष : के के हुन् दम्पतीको यौन जीवनमा आउने समस्या ? (भिडियोसहित)

स्वास्थ्य विशेष : के के हुन् दम्पतीको यौन जीवनमा आउने समस्या ? (भिडियोसहित)


यौन सम्बन्धका लागि मानसिक तथा शारीरिक दुबैको समान सहभागी हुनुपर्छ, तब मात्र यौन सम्बन्ध आनन्ददायक हुन्छ । सक्रिय यौन जीवनले दाम्पत्य सम्बन्धमा हुने कतिपय अविश्वास, भ्रम र गुनासोहरुलाई पनि किनारा लगाइदिन्छ । तर, सबै दम्पतीको यौनजीवन सुखद र आनन्ददायक भने हुँदैन । यौनक्रियामा समान सहभागिता पनि हुँँदैन । एक जनाको इच्छा अनुसार पार्टनरले साथ दिनुपर्ने हुन्छ ।  

श्रीमान वा श्रीमतीको मन राख्नकै लागि उनीहरु यौनक्रियाका लागि तयार हुने गर्छन् । यसरी पार्टनरले जबरजस्ती गर्दा यौन सम्बन्धकै कारण उनीहरुबीच कलह र मनमुटाव हुन सक्छ । यस किसिमको यौन जीवनले दम्पतीबीचको सम्बन्धलाई पनि खल्लो बनाइदिन्छ । यसरी यौनबाट सुरु भएको कलह केवल श्रीमान र श्रीमतीको सयन कक्षमा मात्र सीमित रहँदैन । यसले घर–परिवारसम्मलाई समेत प्रभाव पार्छ । अन्ततः पारिवारिक माहौल नै विथोलिन पुग्छ ।  

किन हुन्छ यस्तो ?

कतिपय श्रीमान वा श्रीमतीमा यौन दुर्बलता हुन सक्छ । यौनमा अरुची हुन सक्छ । आफ्ना पार्टनरसँगको यौनक्रिया रुचीकर नहुन सक्छ । यसमा एउटा मात्र कारण छैन । दम्पतीमध्ये एक जनामा यौन रुची नहुनुको अनेक कारण हुन्छन् । जस्तै यौन एवं प्रजनन रोग, कुनै दीर्घरोग, मानसिक समस्या, शारीरिक समस्या त्यसबाहेक पार्टनरप्रति लगाव वा रुची नहुनु पनि यसको अर्को कारण हो । आफ्ना पार्टनर मन नपरेको अवस्थामा पनि उनीहरु सक्रियरुपमा यौन क्रियामा सहभागी हुन सक्दैनन् । त्यस्तै श्रीमान वा श्रीमती कुनै अर्का व्यक्तिसँग आकर्षित भएको अवस्थामा पनि यस्तो हुन सक्छ ।  

खासगरी महिलाहरु यौन सम्पर्कका लागि त्यति रुचि राख्दैनन् । यसको पछाडि केहि कारण हुन्छ । जस्तो कि, महिलामा हुने हर्मोनको परिवर्तनले उनीहरुमा यौनइच्छा घट्न सक्छ ।  

यस्तै मानिसको यौनजीवन उसको जीवनशैलीमा निर्भर गरेको हुन्छ । जीवनशैली परिवर्तन गर्ने बित्तिकै पहिलो प्रभाव उसको यौनजीवनमा परेको हुन्छ । आधुनिक जीवनशैली वा सुविधा सम्पन्न जीवन, दैनिक मध्यरातसम्मको व्यस्तता, शारीरिक श्रमको कमी, धुम्रपान र मद्यपानको सेवनले मानिसको यौन जीवनमा नकारात्मक प्रभाव पारिरहेको हुन्छ र यौन रोग जस्ता समस्या उत्पन्न हुन सक्छन् ।  

यसबाहेक यस्ता कुराहरु छन्, जसले यौनजीवनमा समस्या अथवा तगारो हाल्छ :

परिवर्तनशील जीवनशैली  

आधुनिक जीवनशैलीले मानिसको स्वास्थ्यमा असर पार्नुको साथै यसले यौन जीवन र प्रजनन क्षमतामा पनि नकारात्मकरुपमा प्रभावित पारेको हुन्छ । परिवर्तनशील जीवनशैलीमा कामको व्यस्तताले गर्दा मानिसहरु यौन जस्तो महत्वपूर्ण क्रियासँग पर भाग्दै गएका छन् । उनीहरूमा यौनसम्बन्धको इच्छामा कमी आएको छ । दम्पतीमा शारीरिक आकर्षणको अभावले यौन सम्बन्धी समस्या निम्त्याएको छ ।

केही दम्पती आफ्नो सेक्सुअल लाइफ आफ्नोस्तरमा सन्तुष्ट बनाउनको लागि पोर्न भिडियो वा सेक्सटोयको प्रयोग गर्दछन् तर यो तरिका एकदम गलत हो । स्वस्थ यौनको अभावले अनेक शारीरिक समस्या उत्पन्न गरेको हुन्छ । यौन शिक्षाको अभाव र समाजमा यौनसँग सम्बन्धी केही पनि कुरा खुलेर गर्न हिचकिच्याएको हुन्छ । यस्तो परिस्थितिले यौन जीवनमा गम्भिर समस्या उत्पन्न हुन्छ ।  

यस्तै परिवर्तनशील जीवनशैलीका कारण मानिसमा प्रजनन क्षमतामा पनि कमी आएको छ । बेलायतमा भएको एक अध्ययन अनुसार ५० वर्ष अघि १ मिलिलिटर वीर्यमा शुक्राणुको संख्या ११ करोड ३० लाख थियो भने आज यो घटेर ४ करोड ७० लाख पुगेको छ । शुक्राणुको संख्या घट्नुका साथै यसमा पाइने गुणमा पनि कमी आएको छ । अत्यधिक धुम्रपान वा अन्य नशालु पदार्थ र मोबाइलको धेरै प्रयोगले शुक्राणुमा यस्ता समस्याहरु उत्पन्न भएको विभिन्न अध्ययनहरुले देखाएका छन् ।  

शारीरिक श्रमको अभाव

शरीर स्वस्थ र तन्दुरुस्त छ भने नै सक्रिय यौनसम्बन्ध स्थापित गर्न सकिन्छ । व्यस्त जीवनशैलीले गर्दा मानिसमा शारीरिक व्यायाम गर्ने फुर्सद पाउँदैन । शारीरिक र मानसिक तनावबाट मुक्त हुनको लागि कम्तीमा पनि बिहानको समयमा एक घण्टा शारीरिक व्यायाम गर्नु पर्छ । अक्सर यौनसम्पर्कका लागि शारीरिकरुपमा पनि तन्दुरुस्त हुनु आवश्यक छ । यसका लागि पनि शारीरिक श्रम आवश्यक छ । तर, अहिलेको जीवनशैलीले मानिसमा अल्छीपना उत्पन्न गरेको छ । शारीरिक व्यायामको अभावले पनि सेक्स लाइफमा प्रभाव पारेको हुन्छ । व्यायामले शरीरमा यस्तो हर्मोन प्रवाह गराउँछ, जसले भित्रैवाट खुसी पैदा हुन्छ । साथै यसले डिप्रेसन, पाचनप्रणाली, मधुमेह र उच्च रक्तचाप जस्ता समस्याबाट मुक्त हुन सकिन्छ ।

अनिन्द्रा

भनिन्छ, औसत दैनिक ७ देखि ८ घण्टा मस्त निदाउनु पर्छ । निन्द्रा औषधी समान हो । अर्थात शरीरलाई ताजा, फूर्तिलो, तन्दुरुस्त र स्वस्थ्य राख्न निन्द्रा अपरिहार्य छ । निन्द्राले हाम्रो शरीर र मस्तिष्कलाई विश्राम दिन्छ । शरीरका अंगहरुलाई विश्राम मिल्छ । जब हामी निदाउँछौ, केहि अंगले शरीरको विषाक्त पदार्थ बाहिर निकाल्छ । त्यसैले बिहान उठेपछि हल्का र फुर्तिलो अनुभव हुन्छ । यदि राम्ररी निन्द्रा लाग्दैन वा पर्याप्त समय सुत्न पाएको छैन भने त्यसले शरीरमा अनेक रोगलाई निम्त्याइरहेको हुन्छ । यसरी निन्द्रा नपुगेपछि दिनचर्या त प्रभावित हुन्छ नै, यसले स्वास्थ्य साथै यौन जीवन पनि खराब हुन्छ ।

प्राय: महिलाहरु घरको कामकाजमा व्यस्त रहन्छन् भने पुरुषहरु बाहिरको काममा व्यस्त रहन्छन् । त्यही कारण उनीहरु आफ्नै लागि समय पाउँदैनन् । बाहिरको काम अथवा घरधन्दाको चटारोले गर्दा पनि उनीहरु राम्ररी निदाउन पाउँदैनन् । यसले गर्दा उनीहरुमा शारीरिक सम्बन्ध राख्ने इच्छा मर्दै जान्छ ।

अस्वस्थ्यकर खानपान

सन्तुलित खानपान, सक्रिय जीवनशैली तथा सही मानसिक स्वास्थ्यले यौनजीवन राम्रो बनाउँछ । प्राकृतिकरूपमै जुन खानाले मनमा खुसीयाली उत्पन्न गराउने इन्डर्फिन तत्व शरीरमा उत्पादन गराउँछन् तीनीहरु वास्तवमा स्वस्थ यौन इच्छासँग सम्बन्धित तत्व पनि हुन् । तर आजकल हामी छिटो छरितो भोक मेट्नका लागि बजारमा पाइने अस्वस्थ्यकर खानेकुरा खाने गर्छाैं । यसले शरीरको लागि आवश्यक पौष्टिक तत्वको अभाव निम्त्याउने गर्दछ । पौष्टिक तत्वको अभावले प्रतिरोधक क्षमता र शरीरको ऊर्जामा पनि कमी देखाउँछ । र यसले यौन जीवनमा असर गर्छ ।

विवाहपूर्व यौन सम्बन्ध

समाज विकसित भएसँगै मानिसमा यौन सम्बन्धलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आएको छ । विवाहपूर्व नै यौनसम्बन्ध राख्नु साधारण कुरा भएको छ । असुरक्षित यौन सम्बन्धले महिलामा यौनरोग जस्तै सिफलिस, गोनोरिया र पुरुषमा एचआईभी एड्स जस्ता गम्भीर रोग लाग्ने खतरा पनि बढ्दै गएको छ । यदि महिलालाई यस्ता कुनै पनि यौन रोग लागेको खण्डमा पछि गर्भ तुहिने जस्ता समस्या उत्पन्न हुन सक्छन् । साथै यसले यौनइच्छामा समेत कमी आउँछ र यौन जीवन प्रभावित बन्छ ।  

धुम्रपान र मद्यपानको सेवन

धुम्रपान र मद्यपानको प्रयोगले पनि सेक्स लाइफमा प्रभाव पारेको हुन्छ । रक्सीले लाज वा सङ्कोच कम गराइदिन्छ, तर म्याक्वेथले लठ्ठिएको बेलामा भनेको जस्तै यसले इच्छा जगाउँछ तर प्रदर्शन खुम्च्याउँछ । महिला तथा पुरुष दुवैमा धेरै रक्सी पिउनाले संवेदनशीलता हराउँदै जान्छ । लामो समयसम्म रक्सी सेवन गरिराखे त्यसले यौन इच्छा कम गराइदिनुका साथै नपुंसकता समेत निम्त्याउने सम्भावना धेरै पाइएको छ । साथै धुम्रपान गर्ने पुरुषमा शुक्राणुको संख्या र त्यसको गतिशीलतामा पनि कमी आउँछ । धुमपान गर्ने महिलामा मेनोपौज हुने सम्भावना हुन्छ जसले इस्ट्रोजनको स्तर घट्छ र मासिक धर्मसँग सम्बन्धित समस्या उत्पन्न हुन्छ ।  

डिहाइड्रेशन

जब शरीरमा पानीको मात्रा शरीरबाट निस्किएको पानीको मात्राभन्दा कम हुन्छ भने त्यस्तो अवस्थामा डिहाइड्रेसन हुन्छ । हाम्रो शरीरबाट कुनै न कुनै तरिकाबाट पानी बाहिर निस्कन्छ । पिसाब या पसिनाको माध्यमबाट पानी शरीरबाट बाहिर निस्कन्छ । पानीले शरीरलाई उर्जा दिन्छ । डिहाइड्रेसनका कारण इन्जाइममा असर पर्छ, जसबाट शरीरको सबै प्रक्रियामा असर पर्छ । पानी कम हुने कारण थकान र सुस्तता महसुस हुन्छ । शरीरमा उर्जा नहुँदा मानिस शारीरिकरुपमा सक्रिय हुन सक्दैनन् । यस्तो अबस्थामा काम गर्दा मस्तिष्कलाई वढी जोड दिनुपर्ने हुन्छ । जसले अत्यधिक थकान महसुस गराउँछ र यौन इच्छामा कमी आउँछ । त्यसैले यौनजीवन सक्रिय बनाउनका लागि पानी पनि पर्याप्त पिउनु आवश्यक हुन्छ ।

Logo