स्वास्थ्य विशेष : कब्जियत के हो ? यस्ता छन् बच्ने उपाय ? (भिडियोसहित)

स्वास्थ्य विशेष : कब्जियत के हो ? यस्ता छन् बच्ने उपाय ? (भिडियोसहित)


आधुनिक जीवनशैली र अव्यवस्थित आहार–विहारले अहिले अधिकांश मानिसहरु कब्जियतको शिकार हुने गरेका छन् । शरीरमा रेशेदार तथा फाइबरयुक्त खानेकुराको कमी भएमा कब्जियत हुने गर्दछ । मल विसर्जनको नियमितता अत्यन्त कम भइ दैनिक एक पटकसम्म पनि हुन नसक्नु वा दिसाको मुलायमपन नष्ट भई साह्रो दिसा आउनुलाई कब्जियत भनिन्छ । अनियमित दिनचर्या, मैदाको बढी सेवन, पानीको कम सेवन, शारीरिक श्रमको अभाव, गलत खानपान, वोसोयुक्त खानेकुराको सेवनका कारण कब्जियतको समस्या हुने गर्छ । कब्जियत एक यस्तो स्थिति हो, जो पेट ठिक ढंगले सफा हुन पाउँदैन र पेटको फोहर बाहिर निस्कदा मलद्वारमा पीडा हुने गर्दछ । 

कब्जियत पीडितले आम व्यक्तिको तुलनामा कम शौच गर्छन् । सामान्य व्यक्तिले दैनिक मल त्याग गर्छन् । तर, जसलाई कब्जियत छ, उनीहरु दुई÷तीन दिनसम्म पनि शौच गर्न सकिरहेका हुँदैनन् । यहि कारण उनीहरुको पेट भारी हुन्छ, शरीर चंगा र छरितो महशुस हुँदैन । खानामा अरुची हुन्छ । कब्जियतको कारण कतिको वान्ता र टाउको दुख्ने समस्या हुन्छ ।

धेरैले कब्जियतलाई सामान्यरुपमा लिन्छन् । तर समयमै उपचार नगरेको अवस्थामा कब्जियत नै आन्द्रा सम्बन्धी गम्भीर समस्या, पाइल्स, फिस्टुला, फिसरजन्य रोगको कारकसमेत बन्न जान्छ । त्यसैले कब्जियतका रोगीले पथ्य–अपथ्य आहारमा ध्यान दिनु महत्वपूर्ण हुन्छ । 

लक्षण 
–ठीक ढंगले पेट सफा नहुनु
– दिसा नहुनु
– दिसा गर्दा समस्या हुनु
–दिसा गर्दा मलद्वारमा पीडा हुनु
– दिसा धेरै कडा हुनु र कम मात्रामा हुनु 
–पेटमा दुखाई अनुभव हुनु 
– टाउको दुख्नु वा वान्ता हुनु ।

किन हुन्छ कब्जियत ?
– खाने तालिका नियमित नहुनु
– बासी खानेकुरा सेवन
–शारीरिकरुपमा निष्कृय हुनु वा लामो समयसम्म विश्राम लिने बानी
– मानसिक तनाव
–अति चिल्लोचाप्लो एवं अपाच्य भोजनको सेवन
– पेटको कमजोरी
– पानी कम पिउनु 
– खाना खाँदा धेरै पानी पिउनु 
– गरम मसलायुक्त एवं मसलेदार खानेकुरा खानु 

कसलाई हुन्छ कब्जियत ?
भोक लागेको बेला नखाने, मैदाका परिकार आवश्यक भन्दा ज्यादा खाने, गरिष्ठ भोजन, मसिनो मिठो, तारे भुटेको, पचाउन कठिन खानेकुरा, जंकफूड, बट्टा र बोतल बन्द खाद्य पदार्थको सेवन, संरक्षित खाद्यान्न खाइरहनेहरुलाई पाचन सम्बन्धी समस्या हुन्छ । यहि समस्याले पछि कब्जियत निम्त्याउँछ । 

अस्वस्थ्यकर वा अपच खानेकुरा सेवन गर्ने, शारीरिक रुपमा निस्क्रिय बस्ने, तनावपूर्ण जीवन जिउनेहरुलाई बढी कब्जियत हुने गर्छ । साथै पेनकिलर, नार्काेटिक्स र दिमागलाई लठ्याउने औषधि खानेहरुमा कब्जियतको जोखिम उच्च हुन्छ ।

कब्जियत भएमा के हुन्छ ?
कब्जियत सामान्य, बहुुप्रचलित रोग भएतापनि यो रोग कयाैँ रोगहरुको कारण हो । पूर्वीय स्वास्थ्य विज्ञानमा कब्जियतलाई भयावही रोगहरुको जननी मानिएको छ । कब्जियत हुँदा लामो समयसम्म मल आन्द्रामा नै रही रहने भएकाले आन्द्रा भित्रै मल सडेर कुपित हुन पुुग्छ । यसरी लामो समयसम्म आन्द्रामा मल रहीरहँदा आन्द्राभित्रै विषाक्त पदार्थहरु बन्न पुुग्छ ।

यी विषाक्त पदार्थहरु आन्द्राबाटै अवशोषित भएर रगतको माध्यमबाट शरीरको विभिन्न अंगहरुमा पुुग्छन् । फलस्वरुप अंगहरुमा विषाक्तता बढ्न गई महत्वपूर्ण अंगहरुको कार्य क्षमतामा कमी आउँदा अनेक प्रकारका रोगहरु पैदा हुन जान्छन् । कब्जियतका कारणले उच्च तथा निम्न रक्तचाप, मधुमेह, मोटोपन, ग्याष्ट्रिक, अल्सर, आन्द्रा तथा पेटको क्यान्सर, इरिटेवल ववेल सिन्ड्राम, एसिडीटी, एपेन्डीसाईटिस, अपच, पाइल्स, फिस्टुला, फिसर, गुद्वार खस्नु, डकार आउनु, चाया, पोतो, डण्डीफोर जस्ता समस्या देखा पर्न सक्छन् ।

के छ उपचार विधि ?
कब्जियत खराब दिनचर्या र खानपानको कारण हुने गर्छ । त्यसैले सक्रिय जीवन बिताउनु पर्छ । शारीरिक श्रम गर्नु पर्छ । त्यही अनुसार स्वास्थ्य र सुपाच्य भोजन ग्रहण गर्नु पर्छ । पर्याप्त पानी पिउनु पर्छ । फाइबरयुक्त सब्जी, फलफूल र सलादको सेवनमा जोड दिनु पर्छ । यससँगै व्यायाम पनि आवश्यक हुन्छ । दिसा–पिसाबलाई लामो समय रोकेर राख्नु हुँदैन । विशेष रोगावस्था भएकाहरुले रोगको उचित निदान गरेर रोग निर्मुल पार्नेतिर लाग्नु पर्छ । गलत आहार विहार र जीवनशैली भएकाहरुले प्राकृतिक जीवनशैली अपनाउन नितान्त जरुरी छ । 

– त्रिफला चूर्ण दुई चम्चा हल्का तातो पानीमा घोलेर नियमित रुपले राति सुत्नु अघि सेवन गर्नु पर्छ । 
–  मनतातो दुध वा पानीमा हर्रा–बर्रा र अमलाको समान मात्रामा तयार गरिएको चूर्ण राति सुत्नु अघि सेवन गर्नु पर्छ ।
– कब्जियतको उपचारमा किसमिस एकदमै उपयोगी मानिन्छ । आठ वटा जति किसमिस तातो दुधमा उमालेर नियमित सेवन गर्नु पर्छ ।
– मेवाको नियमित सेवन गर्नु पर्छ यो पेटको रोगमा एकदमै उपयोगी हुन्छ । 
– स्याउ र अंगुरको सेवनबाट पनि कब्जियतको समस्याबाट मुक्त हुन सकिन्छ ।
– अमलाको चूर्णले कब्जियतको समस्याबाट मुक्ती दिन्छ ।
– गोलभेडा सेवन गर्दा कब्जियत ठीक हुन्छ ।
– तामाको भाँडामा राखिएको पानीमा थोरै नुन हाल्ने र विहान खाली पेटमा पिउने गर्नु पर्छ ।
– कब्जियतबाट छुटकारा पाउनका लागि पानी पर्याप्त मात्रामा पिउनु पर्छ । यसले दिसा गर्न सजिलो हुन्छ । पानी पिउन नसकेको खण्डमा जुस लगायतका पेय पदार्थ पिउँदा पनि राम्रो हुन्छ ।
– खानेकुरा फाइबरयुक्त खाना समावेश गर्नु पर्छ । यसले पेटलाई पूर्णरुपमा सफा राख्न मद्दत गर्छ । साथै यसले पेटमा ग्यास वा कब्जियतको समस्या रहँदैन । हरियो पत्तेदार तरकारी, सिमी, फलफूल, अप्रशोधित अन्न आदिमा फाइबरको मात्रा भरपुर हुन्छ ।
– पनीर, दूध र अन्य डेरी उत्पादनमा लेक्टोस हुन्छ जसले पेटमा ग्यास भरिने र पेट बटार्ने समस्या निम्त्याउँछ । त्यसैले यसबाट बच्नु पर्छ । दूधको सट्टामा दहीको सेवन गर्न सकिन्छ । यसमा प्रोटिन पनि हुन्छ र यसले कुनै हानि गर्दैन ।
– आफ्नो डाइटमा म्याग्नेसियमयुक्त खानेकुरा समावेश गर्नु राम्रो हुन्छ । यो कब्जियतका लागि एकदम प्रभावकारी हुन्छ । यसले आन्द्रादेखि मलद्वारसम्मलाई राम्ररी सफा गर्छ ।
– आफूलाई कब्जियतभन्दा पर राख्न चाहने व्यक्तिहरुले जंक फुडबाट जोगिनु पर्छ । किनकी यिनीहरुमा फ्याट र सुगरको मात्रा अत्यधिक हुन्छ ।
– कब्जियत निवारणमा सबैभन्दा महत्वपूर्ण छ, व्यायाम र योग । स्वस्थ शरीरका लागि एक्सरसाइज अति आवश्यक हुन्छ । 

यस्तै ठोस भोजन दिनको दुई पटक मात्रै लिने गर्नु पर्छ । विहानको भोजनमा रातो चामल वा मकैको भात, गहँुको वा मकैको पिठोको रोटी, काउली बन्दा तोरी र वेथेको सागको विशेष समायोजन हुनु पर्छ । मास खेसरी बाहेक बोक्रै सित पकाएको दालले पनि कब्जियतमा फाइदा पु¥याउँछ ।

बेलुकाको भोजनमा अन्नको सहभागीता नभएको राम्रो हो । सब्जी तथा तरकारीको सुप वा २५० ग्राम उमालेको तरकारिसँग ताजा मोहि मात्र खादा कब्जियतमा राम्रो गर्छ । आलु, पिँडालु, तरुल, सुठुनि, भन्टा, चुकन्दर ओल, राजमा, सेतो चना, मास, भटमास, जस्ता सब्जी सकभर बेलुका खान हुँदैन ।

त्यसैले, हामीले सेवन गर्ने खानामा यस्ता खानेकुरा सामेल गर्न जरुरी छ, जसमा भरपूर मात्रामा फाइबर पाइन्छ :

ओट्स
ओटमील तथा ओटको चोक्करमा पर्याप्त मात्रामा फाइबर रहेको हुन्छ । यसमा रहेको डायटरी फाइबरले पाचनतन्त्रलाई चुस्त दुरुस्त अवस्थामा राख्नमा मद्दत गर्छ । बिहान ग्यास, एसिडिटी तथा कब्जियतको समस्या हुने गर्छ । बिहानको नास्तामा ओट तथा ओटमीलको नियमित सेवनले यस्ता समस्याबाट चाडै छटकारा पाउन सकिन्छ ।

नासपाती
नासपातीको सेवन पनि पेटको लागि फाइदाजनक मानिन्छ । नाशपातीमा पनि भरपूर मात्रामा फाइबर हुन्छ । यसमा स्याउमा पाइने भन्दा आठ गुणा बढी सर्विटोल पाइन्छ । साथै , यसमा पनि पेक्टिन नामक तत्व पाइन्छ, जसले पेट सम्बन्धि समस्या हुनबाट जोगाउँछ । नासपातीलाई जुसको रुपमा तथा पिसेको नुन, खुर्सानीसित चोपेर पनि खान सकिन्छ ।

केरा
रेशेदार केरामा भरपूर मात्रामा फाइबर रहेको हुन्छ । जुनसुकै मौसममा पनि पाइने केरामा पोटासियम, आइरन, लगायतका अन्य धेरै पोषकतत्व रहेको हुन्छ, जसले पाचन प्रक्रिया बढाउन मद्दत गर्छ । केरामा पेक्टिन नामक विशेष किसिमको फाइबर पाइन्छ, जसले खानाको कारण पेटमा हुन सक्ने गडबडीलाई रोक्छ ।

हरियो सागसब्जी
हरियो साजसब्जीमा पनि प्रशस्त मात्रामा फाइबर हुन्छ । यसको नियमित सेवनले कब्जियत तथा अपच जस्ता समस्या स्वतः कम भएर जान्छ । विशेषगरी यस्ता हरिया सागसब्जीमा, पोटासियम, म्याग्नेसियम तथा आइरन जस्ता तत्व समेत पाइन्छ, जुन शरीरका लागि फादाजनक छ ।

जामुन
जामुनमा भरपूर मात्रामा फाइबर पाइन्छ । अर्थात झण्डै एक कप जामुनमा करिब आठ ग्राम फाइबर पाइन्छ । जसका कारण यसको सेवनले कब्जियत तथा कलेजो सम्बन्धि समस्या त हट्छ नै, यसको सेवनले शरीरमा कयौं किसिमको विटामिन तथा एन्टीअक्सिडेन्ट तत्वको प्रवाह गर्छ, जसले कयौ गम्भीर रोगहरुबाट समेत बचाउन मद्दत गर्छ ।

Logo