माओवादीका मतदाताले अन्य पार्टीलाई मत देलान् ? यस्तो छ नेताहरुको प्रतिक्रिया

माओवादीका मतदाताले अन्य पार्टीलाई मत देलान् ? यस्तो छ नेताहरुको प्रतिक्रिया


नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सचिव डिलाराम आचार्यले गठबन्धनमा आवद्ध दलहरुका बीचमा एकअर्कालाई मतदान गर्न समस्या नहुने बताएका छन् । 

सचिव आचार्यले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनका दलहरुका बीचमा एकअर्कालाई मतदान गर्न समस्या नहुने बताएका हुन् । उनले गठबन्धन गर्नु र एक दलका मतदाताले अर्को दलको चिन्हमा मतदान गर्नु राजनीतिक मामिला भएको टिप्पणी गरे । उनले देशमा प्राप्त भएका राजनीतिक उपलब्धीहरु गुम्ने अवस्थामा पुगेपछि गठबन्धन गरिएको भन्दै गठबन्धनका दलहरुको चुनाव चिन्हमा भोट हाल्नका लागि आफूहरुले आह्वान गर्ने बताए । 

सञ्चारकर्मीसँग कुराकानी गर्दै सचिव आचार्यले अर्को पार्टीको उम्मेदवारलाई किन भोट हाल्ने र यसको राजनीतिक उद्देश्य के हो भन्ने सम्बन्धमा जनतालाई प्रष्ट पार्ने उल्लेख गरे । उनले नेता कार्यकर्ताहरुले हँसियाहथौडा बाहेक अन्य चुनाव चिन्हमा भोट हाल्दिन भनेर हालसम्म नभनेको जिकिर गरे । 

उनले भने– ‘यो राजनीतिक मामिला हो । हामीले हँसियाहथौडामा भोट हालेका मान्छेलाई कलम, रुख अथवा अरु चिन्हमा भोट हाल्न अप्ठ्यारो त होला तर पनि यो त राजनीतिक लडाइँ हो । आखिर यस खालको मोर्चाबन्दी जुन बनेको छ, निश्चित राजनीतिक उद्देश्यको निम्ति बनेको छ । यसखालको मोर्चाबन्दी बन्नुको पछाडी प्राप्त उपलब्धीहरु गुम्ने अवस्थामा पुगिसकेपछि हामीले काँग्रेस लगायतका दलहरुसँग गठबन्धन गरेका हौँ । त्यही गठबन्धनको निरन्तरतामा प्रतिगामी शक्तिहरुको बिरुद्धमा जुन गठबन्धन बनेको छ, यसको पक्षमा हामीले रुख, कलम, गिलास अथवा अरु कुनै चिन्हमा जहाँ हाम्रो गठबन्धन हुन्छ त्यसमा भोट हाल्नको निम्ति हामीले हाम्रा कार्यकर्ताहरुलाई आह्वान गर्छौं । जनताको तहमा गएर हामी यसरी भोट किन हाल्ने ? यसको राजनीतिक उद्देश्य के हो भन्ने कुरामा प्रष्ट पार्दै जान्छौँ । हाल्दैनौँ भनेर त्यस्तो घोषणा गरेको अवस्था त छैन । केही कन्फ्युजनहरु त छन् । तर चुनावको छलफल, वहसको दौरानमा हामी यो सबै कुराहरुलाई क्लियर पारेर लैजान्छौँ ।’

सचिव आचार्यले आफ्नै पार्टीका उम्मेदवार खोज्ने कार्यकर्ता र मतदाताहरुलाई गठबन्धनको उम्मेदवार नै आफूहरुको उम्मेदवार हो भनेर बुझाउने बताए । उनले गठबन्धन गरेको ठाउँमा रुख, कलम वा अन्य चिन्ह लिएको पनि आफ्नै पार्टीको उम्मेदवार सरह मानेर भोट हालिने बताए । 

उनले भने– ‘गठबन्धन भइसकेपछि हाम्रो उम्मेदवार कुनै ठाउँमा रुख चिन्ह लिएको गठबन्धनको उम्मेदवार छ भने त्यो पनि हाम्रै उम्मेदवार हो । कलम चिन्ह लिएको गठबन्धनको उम्मेदवार छ भने त्यो पनि हाम्रै उम्मेदवार हो । र हाम्रो आफ्नो हँसियाहथौडाको चिन्ह लिएको उम्मेदवार पनि अरु दलको पनि उम्मेदवार हो भनेर जुन गठबन्धनको स्प्रिट छ, त्यो स्प्रिट अनुसार हामीले हाम्रा कार्यकर्ताहरुमार्फत समग्र मतदाताहरुलाई स्पष्ट पार्ने कोशिस गर्छौं । यो कुनै दाउपेचको निम्ति होइन कि देश अगाडी लैजाने कि पछाडी धकेल्ने भन्ने एउटा लडाइँ भएको हुनाले हामीले यस्तो खालको गठबन्धन गरेर गएका छौँ र यो देशलाई एक पाइला अगाडी बढाउने र राजनीतिक रुपले जे उपलब्धी हासिल भएको छ । त्यसलाई जनताको जीवन व्यवहारमा उतार्नको निम्ति यस्तो हातेमालो गर्ने परिस्थिति सिर्जना भएको हो भन्ने कुरालाई नै स्पष्ट पार्दै हामी जनताको बीचमा जान्छौँ ।’
 
त्यस्तै नेकपा (माओवादी केन्द्र) सम्पर्क समन्वय प्रदेश समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले प्रतिगमनका बिरुद्ध अग्रगामीहरुको विचार, उद्देश्य र नीतिसहितको गठबन्धन भएकाले एकअर्कालाई भोट हाल्ने बताए । जहाँ जुन पार्टीको उम्मेदवार भएपनि निर्धक्कसँग भोट हाल्न पार्टीले आह्वान गर्ने उनको भनाई छ ।  

उनले भने– ‘कलम र रुखमा भोट भोट हाल्ने भन्नेकुरो मुद्दाको आधारमा हो । प्रतिगमनको बिरुद्ध अग्रगामीहरुको यो गठबन्धन हो । गठबन्धन एउटा विचारसहितको, उद्देश्य, नीति कार्यक्रम सहितको भएको हुनाले गठबन्धनमा आवद्ध जति दलहरु छन् । जो–जो, जहाँ उम्मेदवार परेका छन्, त्यहाँ हामी निर्धक्कसँग भोट हाल्नुहोस् भनेर हामीले आह्वान गर्छौं जनतालाई । जनताले मान्छन् । किनभने हामी घर–घरमा जान्छौँ । कन्भिन्स गर्छौं । कार्यकर्तालाई कन्भिन्स गर्छौं । यो प्रतिगमन बिरोधी गठबन्धन हो । प्रतिगमनलाई पराजित गरेर देशमा स्थिरता कायम नगरीकन विकास र समृद्धिले गति नलिने भयो । यो आधारमा हामीले जनतालाई कन्भिन्स गर्छौं र भोट हाल्न आह्वान गर्छौं । गठबन्धन भएको ठाउँमा नै अहिले हाम्रो उम्मेदवार हो । गठबन्धनका उम्मेदवार जहाँ–जहाँ, जो–जो छन् ति अर्को र हाम्रा भन्ने कुरा भएन । त्यो हाम्रो हो । समानुपातिकमा आ–आफ्ना पार्टीका मत माग्ने कुरा छँदैछ । त्यसमा हामी आ–आफ्नो चुनाव चिन्हमा हाल्नुहोस् भनेर भन्छौँ । गठबन्धनमा जहाँ–जहाँ उम्मेदवार परेका छन् । त्यो हाम्रै उम्मेदवार भनेर बुझ्नुपर्छ हामीले ।’
 
माओवादी केन्द्र सम्पर्क समन्वय विशेष प्रदेश समिति सदस्य रामप्रसाद न्यौपाने अर्को दलको चुनावचिन्हमा मतदान गर्नु बाध्यता भएको बताए । उनले गठबन्धका उम्मेदवारहरु देशको आवश्यकताले उठाइएको भन्दै एकअर्कालाई मतदान गर्नुपर्ने बताए । चाहना नभएपनि गठबन्धनको उम्मेदवारलाई मतदान गर्नु आवश्यकता र बाध्यता भएको उनको भनाई छ । 

उनले भने– ‘पार्टीको सिद्धान्त आ–आफ्नो ठाउँमा छ । राष्ट्रिय रक्षा, गणतन्त्र, धर्म निरपेक्षताको रक्षाको निम्ति गठबन्धन गरेको कारणले गर्दाखेरी गठबन्धनका साझा उम्मेदवारहरु उठाइएको छ । ती गठबन्धनका साझा उम्मेदवारहरु अहिलेको आवश्यकता अनुसार एक अर्कालाई मतदान गर्नुपर्ने छ । यो अहिलेको आवश्यकता हो । खुशी नहुँदा नहुँदै पनि, चाहना नहुँदा नहुँदै पनि वर्तमान परिस्थिति र समयलाई ध्यानमा राखेर यो अवस्थामा जान बाध्यता हो । गठबन्धनको आवश्यकता र बाध्यता हो भनेर हामीले बुझेका छौँ ।’

Logo