नेकपाभित्रको चक्रव्यूहमा प्रचण्ड

नेकपाभित्रको चक्रव्यूहमा प्रचण्ड


सरोज बस्याल

काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको आन्तरिक विवादले बुधबार बालुवाटारमा बसेको सचिवालय बैठकपछि नयाँ मोड लिएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री र वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव ल्याएसँगै नेकपाको विवादले नयाँ मोड लिएको हो ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ६ बजेदेखि बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको राजीनामाको माग गरिएको थियो । नेकपाका सचिवालय सदस्य ९ मध्ये ५ सदस्यले अध्यक्ष र प्रधानमन्त्री दुबैबाट ओलीको राजीनामा मागेपछि राजनीतिका चतुर खेलाडी ओलीले कोरोना संक्रमण सकिएपछि आफूले राजीनामा दिने र उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने, वरिष्ठ नेता नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव ल्याएका थिए ।

तर, उपाध्यक्ष गौतमले म कसरी प्रधानमन्त्री बन्न सक्छु भनेर प्रश्न गरेपछि ओलीले कुनै ठाउँबाट चुनाव लडाएर वा संविधान संशोधन गरी राष्ट्रिय सभामार्फत गौतमलाई प्रधानमन्त्री बनाउन सकिने बताएका थिए । ओलीको ललिपपसँगै वामदेव गौतमले माधवकुमार नेपाल र प्रचण्डको साथ छोड्छन कि भन्ने आकलन गर्न थालिएको छ । यता वरिष्ठ नेता नेपाल पनि अध्यक्षको हैसियत पाउने भएपछि प्रचण्डको काख च्यापेर हिड्छन कि हिड्दैनन् अहिले नै भन्न सक्ने अवस्था छैन । वरिष्ठ नेता नेपालको विगतलाई हेर्दा पनि निर्णयमा दोहोरो चरित्र देखाउने स्वभावका नै छन् ।

पार्टीमा तीन अध्यक्ष बनाउने र माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव आएसँगै नेता नेपालले प्रचण्डको साथ छोड्ने धेरैको बुझाइ छ । अहिले नेकपामा ओली र  प्रचण्ड  गरेर दुई अध्यक्ष छन् । पछिल्लो समय प्रधानमन्त्री ओलीले जारी गरेको दुई अध्यादेश र पार्टी एक्लै चलाएको आरोप लगाउँदै वार की पारको स्थितिमा पुगेका प्रचण्ड– नेपाल पक्ष बीचमा ओलीले सचिवालय बैठकपछि  पानीमाथि  चलिरहेको डुङ्गामा प्वाल पार्न सफल भएका छन् । अब प्रचण्ड-नेपाल गठबन्धनमा प्वालबाट पानी विस्तारै विस्तारै डुङ्गामा छिर्दा डुङ्गा कतिबेला दुर्घटनामा पर्ने हो त्यो भने समयले बताउँला ।

त्यसैले प्रचण्डका लागि अबको बाटो झन कठिन हुनेछ । किन भने अहिलेको नेकपामा १ सय ७४ सांसद छन्  । जसमा पूर्वएमाले समूहको १ सय २१ र पूर्वमाओवादी समूहका ५३ सांसद रहेका छन्  । संसदीय दलमा बहुमतका लागि ८८ सांसद आवश्यक पर्छ  । पूर्वएमाले समूहमा पनि प्रधानमन्त्री ओलीको पक्षमा मात्रै ७८ सांसद रहेको यो समूहको दावी छ । वरिष्ठ नेता नेपाल समूह (झलनाथ खनाल र वामदेव गौतमसहित) ४३ सांसद भएको दावी गरिँदै आएको छ । यसरी नेपाल–दाहाल समूहमा ९६ सांसद रहेको दावी सहितको समिकरण गरिरहेको बेला नेपाल गौतमले प्रचण्डको साथ छोडे भने उनी स्वतः निरिह बन्ने छन् ।

उता, अहिलेसम्म ओली एक्लैसँग ७८ सांसद रहेको उनी निकटका नेताहरूको दावी छ । बहुमतका लागि ८८ जना सांसद आवश्यक हुने भएकाले थप १० सांसद सजिलै जोड्न सकिने उनीहरुको आसा छ । जसमा पूर्वमाओवादीका गृहमन्त्री थापा, आपूर्तिमन्त्री भट्ट र घनश्याम भुसालको साथ पाए ओली स्वतः बलिया हुनेछन् । पार्टी एकता गर्दा पूर्व एमालेलाई ६० प्रतिशत र पुर्व माओवादीलाई ४० प्रतिशत छुट्याइएको थियो । त्यसमध्ये पूर्व एमालेमध्येबाट माधवकुमार नेपाल समूहका २५ प्रतिशत सांसदको साथ प्रचण्डलाई हुँदा ओली भन्दा प्रचण्ड बलिया हुनेछन् ।

तर, बुधबार बालुवाटारमा बसेको सचिवालय बैठकमा जोड तोड्ले प्रधानमन्त्री एवं पार्टी अध्यक्षबाट ओलीलाई हटाउने कसरत भएपनि ओलीको कुटनीति सामु प्रचण्डको रणनीति निरिह बनेको छ । पार्टी उपाध्यक्ष वामदेव गौतम र वरिष्ठ नेता नेपाल पुरानै धारमा फर्किए भने प्रचण्ड स्वतः एक्लिने छन् । पूर्व माओवादी समूहका गृहमन्त्री रामबहादुर थापा (बादल), वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुन (अन्नत) पनि अहिले सरकार परिवर्तन होस भन्ने पक्षमा छैनन् । किनभने केपी ओली नेतृत्वको सरकार विघटन भएमा अहिलेका मन्त्रीहरु नयाँ मन्त्रिमण्डलमा मन्त्री हुने सम्भावना शुन्य नै हुन्छ । त्यसैले पूर्व माओवादीका सत्तामा भएका घटक पनि प्रधानमन्त्री ओलीको साथ तत्काल छोड्ने पक्षमा छैनन् ।

नेकपामा अहिले थापा समूहका करिब ४० केन्द्रीय सदस्य रहेको दावी गरिन्छ । ४४१ सदस्यीय केन्द्रीय कमिटीमा जोडतोड र समिकरण निर्माणका लागि दुबै पक्षका लागि यो अर्थपूर्ण संख्या हो । त्यसैले परिस्थिति जटिल हुँदा यो समूह आफ्नो पक्षमा रहोस् भन्नेमा ओली र दाहाल दुवैको चासो छ ।

त्यस्तैगरी माधवकुमार नेपाल पक्षका कृषि तथा पशुपछी विकास मन्त्री घनश्याम भुसालले पनि अहिले सरकार फेरबदल गर्ने समय नभएको भन्दै आएका छन् । मन्त्री भुसालले बुधबार सामाजिक सञ्चालमा एक सन्देश जारी गर्दै आफू सरकार फेरबदलको पक्षमा नभएको सन्देश दिइसकेका छन् । नेकपाभित्रको पछिल्लो समिकरण हेर्दा प्रचण्डबाट शुरु भएको ओलीलाई अलग्याउने खेलमा उनी स्वतः निरिह भएको बुझ्न सकिन्छ ।

Logo