देशभर साढे ६ हजार किसान कफीखेतीमा

देशभर साढे ६ हजार किसान कफीखेतीमा


काठमाडौँ,

नेपालमा साढे ६ हजार किसान व्यावसायिक कफीखेतीमा आबद्ध रहेको पाइएको छ । केन्द्रीय तथ्यांक विभागले मंगलबार सार्वजनिक गरेको कफीखेती सर्वेक्षण प्रतिवेदनमा यस्तो उल्लेख छ । विभागले २०७४ वैशाखदेखि चैतसम्म व्यावसायिक कफीखेतीको सर्वेक्षण गरेको थियो । ५० बोट भन्दा बढी कफी उत्पादन गर्ने किसानलाई समावेश गरी सर्वेक्षण गरिएको विभागका निर्देशक बद्री कार्कीले जानकारी दिए ।

नेपालका ३२ जिल्लामा कफीको व्यावसायिक खेती गरिन्छ । ३२ जिल्लाका ६ हजार ३ सय ४६ किसानले ९ सय ७३ हेक्टरबाट एक हजार ५ सय ७३ दशमलब ६ मेट्रिक टन कफी उत्पादन गर्दै आएका छन् । प्रतिवेदन अनुसार कफी बिक्रीबाट वार्षिक २० करोड रुपैयाँ आम्दानी हुन्छ । वार्षिक १५ करोड ४१ लाख रुपैयाँको फ्रेस चेरी, कफीखेतीसँगै एकीकृत रूपमा गरिएको छहारी बिरुवाबाट २ करोड ९४ करोड र घुसुवा बालीबाट १ करोड ६० लाख रुपैयाँ आम्दानी हुन्छ ।

विभागका उपमहानिर्देशक हेमराज रेग्मीका अनुसार कफीखेती गर्ने किसान र फर्मको संख्या ६ हजार ३ सय ४६ छ । यसमध्ये ९८ प्रतिशत फर्म दर्ताबिनै र १.७ प्रतिशत फर्म दर्ता भएर सञ्चालनमा छन् । प्रादेशिक संरचना अनुसार सबैभन्दा बढी प्रदेश ३ मा २ हजार ७ सय ५८ वटा फर्म छन् । ‘कुल फर्मको संख्यामध्ये झण्डै ४३.४ प्रतिशतको हाराहारीमा प्रदेश ३ मा कफी उत्पादन गर्ने फर्मको संख्या भेटियो’, रेग्मीले भने, ‘सर्वेक्षणले ९६ प्रतिशत किसानले अर्गानिक पद्धतीबाट कफी उत्पादन गरेको देखाएको छ ।’ ९६ प्रतिशत मध्ये ४३ प्रतिशत किसान र व्यवसायीले कफीखेतीलाई अर्गानिक प्रमाणीकरणसमेत गराएका छन् ।

यसपछि फर्मको संख्या बढी भएको गण्डकी प्रदेश हो । यो प्रदेशमा १ हजार ८ सय ७२ वटा फर्म छन् । प्रदेश ५ मा १ हजार १ सय ४८ र प्रदेश १ मा ५ सय ६९ वटा कफीको फर्म छन् । देशभर ९ सय ७२.६ हेक्टरमा व्यावसायिक कफीखेती भए पनि प्रादेशिक संरचना अनुसार सबैभन्दा बढी प्रदेश ३ मा हुन्छ । प्रदेश ३ मा ४ सय २३.४ हेक्टर, गण्डकी प्रदेशमा २ हजार ८१.४ हेक्टर, प्रदेश ५ मा एक सय ४७.२ हेक्टर र प्रदेश १ मा १ सय २०.५ हेक्टरमा व्यावसायिक रूपमा कफीखेती हुँदै आएको छ ।

प्रदेश १ का १० जिल्लाका ५ सय ६९ किसान र व्यवसायी कफीखेती गर्छन् । प्रदेश १ को इलाममा सबैभन्दा बढी अर्थात् ४१ प्रतिशतका दरले २ सय ३६ किसान कफीखेतीमा आबद्ध छन् ।
अन्नपूर्णबाट

Logo