लयमा फर्कदै पूँजी बजार

लयमा फर्कदै पूँजी बजार


–रमेश लम्साल
काठमाडौँ, १८ पुस । लगातार ओरालो लाग्दै आएको पूँजी बजारमा अन्यौलता कायमै रहेको भए पनि नियमित लय पकड्न शुरु गरेको छ ।

विगत ११ दिन लगातार घटेको बजार सोमबारदेखि सम्हालिएको छ । सोमबार ४४ अंकले बढेको बजार आज अपेक्षितरुपमा उकालो नलागे पनि २ दशमलव ४४ बिन्दुले बढेको छ ।

कारोबार रकममा पनि आज केही वृद्धि भएको छ । सोमबार कूल १ सय ६३ कम्पनीको ११ लाख ४१ हजार ४ सय ६३ कित्ता शेयर ४९ करोड ८४ लाख ७२ हजार ३ सय ९८ रुपैंया बराबरको कारोबार भएको थियो ।

आज भने कूल १ सय ६६ कम्पनीको १२ लाख ६२ हजार ४१७ कित्ता शेयर ६३ करोड ३२ लाख २२ हजार ४ सय १२ रुपैंया बराबरको कारोबार भएको छ । शेयर बजारको विश्लेषण गर्दै आएका नीरव पुडासैनीका अनुसार हिजो र आजको कारोबारको अवस्थालाई मात्रै हेरेर बजार सकारात्मक दिशामा अगाडि बढ्यो भन्ने विश्लेषण गर्नु हतार हुने टिप्पणी गरे ।

उनले भने, ‘सम्पूर्णरुपमा नकारात्मक प्रवृत्ति हावी भएको बजारले सकारात्मक लय पकड्न सक्छ भन्ने संकेत चाही गरेको हो । तर दुई दिनको मात्रै हिसाब गरेर राम्रो भयो भनिहाल्ने अवस्था भने रहेको छैन ।’

आज नेप्से परिसूचक २ दशमलव ४४ बिन्दुले बढेर १ हजार ४ सय ३७ बिन्दुमा पुगेको छ । (क) वर्गका कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत आज १ दशमलव १४ बिन्दुले बढेको छ । बजार उकालो लाग्दा पनि तीन उपसूचकबाहेक अरु सबै उपसूचक ओरालो लागेको छ ।

बैंकिङ १० दशमलव १३, व्यापार शुन्य दशमलव शुन्य आठ र अन्य समूह ४ दशमलव ३४ बिन्दुले अगाडि बढ्दा होटल ५१ दशमलव ५८, विकास बैंक ४ दशमलव शुन्य ६, जलविद्युत् २८ दशमलव ६१, फाइनान्स २ दशमलव ५८, बीमा ६१ दशमलव ३४, उत्पादन ५ दशमलव ८६ र माइक्रोफाइनान्स समूह ८ दशमलव २८ बिन्दुले ओरालो लागेको छ । बजार संग्लिन थालेपछि मुनाफा सुरक्षित गर्न खोज्ने प्रवृत्ति पनि हावी भएको विश्लेषकहरुको टिप्पणी छ ।

लगानीकर्ता संघले बजारमा देखिएको अन्यौलता समाधानका लागि नियमित छलफल शुरु गरेको छ । सोमबार अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग भेटवार्ता गरेको संघले आज नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालसँग समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेको छ ।

भेटमा सहभागी संघका सदस्य केशव भण्डारीले केन्द्रीय बैंकका गभर्नरले समस्या समाधानका लागि आफूहरुले पहल गरिरहेको जानकारी दिएको बताए ।

गभर्नर नेपालले चालु आवको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका क्रममा केही सुधार गर्नुपर्ने विषय भए त्यसलाई सम्बोधन गर्नेसमेत संघका प्रतिनिधिलाई विश्वास दिलाएका थिए ।

तरलता समाधानका लागि आज मात्रै नेपाल उद्योग परिसंघले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको थियो । परिसंघका अध्यक्ष हरिभक्त शर्माले तरलताका कारण उद्योग व्यवसाय, पूँजी बजारमा समेत समस्या परेको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको जानकारी दिए ।

त्यसो त पूँजी बजारमा समस्या बढ्दै गएपछि नेपाल धितोपत्र बोर्डले केही सकारात्मक पहलसमेत शुरु गरेको छ । बोर्डले बजार संग्लिने भन्दै नआत्तिन र सबै खत्तम भयो भने जसरी प्रस्तुत नहुन लगानीकर्तालाई आग्रह गरेको छ ।

यस्तै शेयर कर्जालाई सहज बनाउन पनि लगानीकर्ता संघले बैंकर्स संघलाई आग्रह गरिसकेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले सहज बहुमत प्राप्त गरेपछि बजारमा नकारात्मक हल्ला चलेको भन्दै विश्लेषकले अतिरञ्जीत हल्ला नगर्न र बजारलाई सहजरुपमा चल्न दिनसमेत आग्रह गरेका छन् ।

Logo