नेपालले नचिनेकी विश्व प्रसिद्ध नेपाली गुरुआमा

नेपालले नचिनेकी विश्व प्रसिद्ध नेपाली गुरुआमा


अदिती पौडेल । काठमाडौं, २० भदौ ।

उनलाई युट्युबमा ४६ लाख २८ हजारभन्दा बढीले पच्छ्याइरहेका छन् । फेसबुकमा ९ लाख ६७ हजारभन्दा बढी फलोअर्स छन् । भर्चुअल दुनियाँकी उनी यस्ती सेलिब्रेटी हुन्, जसले विश्वभर आफ्ना प्रशंसक कमाएकी छिन् । याहु वेबसाइटदेखि बेलायतको चर्चित पत्रिका द सन, डेली मेलदेखि हफिङटन पोस्टसम्मले उनको घतलाग्दो कथा पस्किएका छन् ।

तर नेपाली परिवेशमा उनको अनुहारले उति चिनारी पाइसकेको छैन । जबकि, उनी यही भूगोलमा जन्मिएकी र हुर्किएकी हुन् । नाम हो, प्रतिज्ञा तामाङ अर्थात् प्रोमिस तामाङ ।

ललितपुरको पाटन अस्पतालमा जन्मिएकी, गोरखा खैरेनी घर भएकी, तामाङकी छोरीले त्यस्तो के जादु गरिन्, जसले विश्वमा ख्याति पायो ?

भनिहालौं, यिनी युट्युब मेकअप गुरु हुन् । यही भर्चुअल आलोकमा टेकेर विश्वका पारखीलाई ‘सौन्दर्य–कला’ बाँडिरहेकी छिन् । उनी सौन्दर्य प्रसाधनका साथ युट्युबमा प्रकट हुन्छिन् । आफ्नै अनुहारलाई लिपपोत गर्छिन् । हेर्दाहेर्दै उनी एन्जेलिना जोलीमा रूपान्तरण हुन्छिन्, हेर्दाहेर्दै उनी ऐश्वर्य रायमा बद्लिन्छिन्, हेर्दाहेर्दै उनी बार्बी डलमा परिणत हुन्छिन् । यही नै हो उनको खास खुबी । लाग्छ, मंगोलियन वर्णको त्यो अनुहार आफैंमा यस्तो क्यानभास हो, जसलाई थरीथरी बान्कीमा सजाउन सकिन्छ ।

डोप–२१११ । प्रतिज्ञाको भेरिफाइड युट्युब पेज हो यो । यस पेजमा त्यस्ता दर्जनौं भिडियो अपलोड छन्, जसले प्रोमिसको अद्भुत सौन्दर्य शिल्पी झल्काउँछ । भिडियोमा उनी कहिले मिली साइरस बनेकी छिन्, कहिले आइरन म्यान, त कहिले मोनालिसा । कहिले उनी खतरनाक देखिन्छन्, कहिले दयालु पनि । कतै आक्रामक त कतै सौम्य पनि । हलिउड/बलिउड सेलिब्रेटीदेखि कार्टुन क्यारेक्टरसम्ममा उनले आफूलाई रूपान्तरण गरेकी छिन्, सौन्दर्य प्रसाधनको भरमा । यही खुबीले नै हो, उनले ‘रूप बदल्ने केटी’ उपमा पाएकी ।

प्रोमिस आफ्नै अनुहारलाई अनेकथरी चरित्रमा रूपान्तरण मात्र गर्दिनन्, मेकअप कला पनि पस्किरहेकी हुन्छिन् । प्रोमिसको मेकअप सिकाउने युट्युब पेजको करिब आधा करोड सदस्य छन् । उनको एउटै भिडियो करोडांै पटक हेरिएको छ ।

अचम्म त के भने, प्रोमिसले मेकअपसम्बन्धी कुनै औपचारिक तालिम लिएकी छैनन् । उनले ‘आत्माबाट स्वतःस्फूर्त’ यो ज्ञान हासिल गरेको बताएकी छिन् । कस्मेटिक्स कलामा उनको खास रुचि छ । र, दख्खल पनि ।

गोरखा, खैरेनीकी युवती कसरी सफलताको यो बिन्दुसम्म आइपुगिन् त ? चासो उठ्नु स्वभाविक हो । एउटा यस्तो संयोग, जसले प्रोमिसलाई ‘युट्युब मेकअप गुरु’ सम्मको यात्रा तय गरायो ।

त्यसको सुरुआत हुन्छ, उनले नाचेको भिडियोबाट । नेपाली सांस्कृतिक नृत्यमा रुचि राख्ने उनी । एकदिन आफूले नृत्य गरिन्, भिडियो खिँचिन् र त्यसलाई सामाजिक संजालमा अपलोड गरिन् । त्यसपछि उनलाई आफ्नो कला सामाजिक सञ्जालमार्फत पस्कने जाँगर चल्न थाल्यो । जेम्स क्यामरुन निर्देशित फिल्म ‘अवतार’बाट प्रभावित उनले ‘नाभी’को स्वरूपमा आफूलाई उतारिन् र फेसबुकमा पोस्ट गरिन् । त्यसलाई धेरैले रुचाए । प्रतिक्रियाको ओइरो लाग्यो । आखिरमा त्यही भिडियोलाई उनले युट्युबमा अपलोड गरिन् । सन् २००९ मा अपलोड गरेको भिडियोपछि नै उनको भाग्य फेरियो ।

जतिबेला उनी किशोर अवस्थामा थिइन्, त्यही बेलादेखि मेकअपमा रुचि बढ्दै गएको बताउँछिन् । उनी १४ वर्षको उमेरदेखि सौन्दर्य प्रसाधनसँग खेल्न थालिन् । प्रोमिसले मेकअप गर्दै आफूलाई विभिन्न सेलिब्रेटीको स्वरूपमा उतारिन् । एकपछि अर्को भिडियो युट्युबमा अपलोड पनि गर्दै गइन् । त्यही क्रममा उनी हलिउड अभिनेत्री एन्जेलिना जोलीको अवतारमा प्रकट भइन् । त्यो भिडियो सर्वाधिक रुचाइयो । उक्त भिडियो अहिलेसम्म २ करोड ४३ लाखभन्दा धेरै पटक हेरिएको छ ।

एन्जेलिना जोलीको स्वरूपमा प्रस्तुत भएको भिडियो हेरेपछि नै हो, स्टिभ फानले प्रोमिससँग सम्बन्ध गाँसेको । भियतनामी मूलका स्टिभ चर्चित मेकअप आर्टिस्ट मिसले फानका सहोदर भाइ । स्टिभसँगको मित्रता अहिले विवाहमा रूपान्तरण भइसकेको छ । त्यसैले त प्रोमिस तामाङले नामको पुच्छरमा ‘फान’ झुन्ड्याउने गरेकी छिन् ।

फान परिवारसँगै प्रोमिस अमेरिकाको फ्लोरिडामा बस्छिन् । उनीहरूको दाम्पत्य जीवन सुखमय बितिरहेको छ । अन्तरदेशीय विवाहलाई दुबै पक्षका परिवारले सहर्ष स्वीकार गरेको बताइन्छ ।

बेलाबखत प्रोमिस नेपाल घुम्न आउँछिन् । उनलाई पोखरा एकदमै मनपर्ने स्थानमा पर्छ । उनको जिब्रो पनि नेपाली परिकारमै अभ्यस्त छ । उनलाई चिल्लो पिरो, चना चटपटे खान मन पर्छ । जनावर र पशुपंक्षी पाल्नमा सौखिन छिन् ।

Logo