1
1
Kendrabindu - News & Articles from Nepal
1
1
1

सरर रेलैमा.....

1
1
1
1
1
1
1
1

सरर रेलैमा, यीशब्दहरू नेपाली जनमनको ओठमा झुण्डिएको पनि दशकौं भयो । मायाप्रेममका गीतदेखि चुनावका नारासम्म वर्षौं बोलिएको शब्द जनजीवनमा भने आकाशको फल आँखा तरी मर भनेजस्तै भएको छ ।

सन् २०११ को गर्मी महिना अगष्टमा जापानको नारीता एरपोर्ट झर्नासाथ मैले ट्रेन देखेको थिएँ जिन्दगीमा पहिलो पटक । यात्रमा थकित ज्यान, नेपालको एरपोर्टमा नै एउटा पाङ्ग्रा खुस्किसकेको लङ्गडो सुटकेस लतार्दै हामी लाग्यौँ रेलको लाईनतिर । मलाई एरपोर्टमा स्वागत गर्न आउनुभएको थियो वाग्लुङ १ का अहिलेका संघीय सांसद डा.सुर्य पाठक । उहाँले ह्यान्डव्याग समाइदिनुभयो ।

मैले जखमी सुटकेश लतार्दै सोचेँ, हाम्रो पासपोर्ट मात्र कमजोर कहाँ रहेछ र देशभरि ओरिजनल, व्राण्ड र भरपर्दो भनेर बेचीने सम्पूर्ण वस्तु पनि उस्तै कमजोर हुँदा रहेछन् । यत्ति हो कि गाउँमा चामल नभएर ढिडो र आटो खान परेकाले ज्यानसम्म कमजोर थिएन ।

लगत्तै सर्प हिडेझै सुलुलु रेल आयो, ढोका आफैं खुल्यो, हामी चढ्यौ, भित्र सफा चिटिक्क सिटहरू, एसीको चिसो हावा । मलाई खुब आनन्द आयो ।

रेल सरर हिडिरह्यो । मैले झ्यालबाट बाटोका दृश्य, अग्ला–अग्ला घर र सुन्दर सडकहरू हेरिरहें, आडैको सिटमा बस्नुभएका सुर्य दाइलाई हेरेँ । उहाँ त मस्त निदाइरहनुभएको रहेछ । पछि केही दिनमै बुझिहालेँ, दाइ रेलमा निदाउनुको व्यथा । करिब ४५ मिनेटको यात्रापछि स्काई लाईनर नाम गरेको रेल रोकियो, फेरि ढोका आफैं खुले । म दङ्ग पर्दै दाइसँगै बाहिर निस्किएँ ।

मानवीय जीवन यापनको अभिन्न अंग बनेको छ यात्रा र संसारको बढ्दो जनसंख्याविच त्यसको सहज समाधानको प्रमुख विकल्प रेल नै हो । संसारको सबैभन्दा धेरै गाडी उत्पादन गर्ने टोयटाजस्तो कम्पनी जापानमा रहे तापनि यहाँका नागरिकको दैनिक रोजाइको पहिलो सवारी साधनमा साइकल पर्छ भने दोस्रोमा रेल । किनभने रेलको यात्रामा समय र पैसा दुवैको बचत हुने गर्छ ।

गाडीको किस्ताभन्दा पार्किङ शुल्क महंगो भएको टोकियो सहरमा ट्राफिक लाईटहरू पनि व्यापक छन् । त्यसमाथि काममा समयअगावै पुग्नुपर्ने संस्कार नै छ, त्यसैकारण पनि रेल जापानीहरूको रोजाइमा पर्छ । टोकियोजस्तो व्यस्त सहरमा बस्ने जापानीहरूमध्ये धेरैजसोको रोजाइ रेल हुने मात्र होइन उनीहरूको दैनिकी रेलको यात्रामा आश्रित छ । जापानमा जमिनमुनि, जमिनको सतह र फ्लाइओभर गरेर तीन तहबाट ट्रेन गुडिरहेको देख्न सकिन्छ ।

८० किलोमिटर प्रति घण्टादेखि ३२० किलोमिटर प्रतिघण्टाको स्पिडका ट्रेनहरू कुदाउने जापानको प्रविधि अहिले संसारले प्रयोगमा ल्याइरहेको छ । विशेषतः भारत, दुवई, बेलायतजस्ता देशहरूमा पछिल्लो रेलवेको विकास जापानी प्रविधिबाट तयार भइरहेको छ । जापानमा पनि पछिल्लो पुस्ता गाउँ छोड्ने र सहर आउने प्रचलन व्याप्त छ र प्रायः गाउँहरू खाली बनेका छन् । बाटो, बिजुली, ग्यास, स्कुल, अस्पतालको अभाव होइन कि अवसर, अझ धेरै सुविधा, प्रसिद्ध युनिभर्सिटी, ठुला–ठुला कम्पनीमा काम गर्ने मोह, विभिन्न देशका खानाका स्वाद, मनोरञ्जन आदिइत्यादि कारणले मानिसहरू गाउँ छोडेर ठूला सहरहरू ताकिरहेछन् ।

सन् २०१६ मा एकजना स्कुले बालिका र रेलसम्बन्धी जापानको एउटा न्यूज विश्वचर्चित बनेको थियो । जापानको होक्काईदो टापुमा अवस्थित क्यूसिराताकी नाम गरेको एउटा ट्रेन स्टेशन जहाँका धेरै मान्छेहरूले विस्तारै गाउँ छोड्न थालेपछि स्टेशनमा यात्रीहरू पनि हुन छाडे तर स्कुल जाने र फर्किने समयका लागि मात्र एकजना यात्रु हुन्थिन् एउटी स्कुले विद्यार्थी । रेल नै उनको स्कुल जाने माध्यम थियो, एउटा सिङ्गो रेल ती विद्यार्थी त्यो स्कुलबाट ग्राजुयट हुने बेलासम्म हरेक दिन सञ्चालनमा रह्यो र उनको त्यो स्कुलको पढाइ सकिएपछि त्यो स्टेशन बन्द भएको थियो । यहाँबाट प्रस्ट हुन्छ कि त्यो रेलवे कम्पनी र जापनीहरू कति उत्तरदायी रहेछन् ।

जापानको रेलयात्रा निक्कै रोचक लाग्छ । यात्रीहरू कोही होहल्ला गर्दैनन् । ट्रेनमा मोवाईल फोनको प्रयोग नगर्नुहोला भनेर लेखिएको सूचना सबैले पालना गर्छन् । अपाङ्ग र वृद्धवृद्धाहरू र गर्भवती महिलाको लागि आरक्षित सिट उनीहरूका लागि प्रायः खाली नै हुन्छन् । मोवाइल फोनको प्रयोगभन्दा धेरै जापानीहरूको किताबमोह ट्रेनमा देख्न सकिन्छ । स्कुले बालबालिकाहरू पनि ट्रेनमा पढिरहेका हुन्छन् ।

सबैभन्दा सम्मानपूर्वक सेवा ह्वीलचेयर प्रयोग गर्ने प्यासेन्जरका लागि गरिन्छ । त्यस्ता यात्रुलाई पहिले उनी चढ्ने स्टेशनको कर्मचारीद्वारा उनलाई रेल चढाइन्छ र उनको गन्तव्य सोधिन्छ । उनी पुग्ने गन्तव्यमा उनी भएकै ढोकामा ह्लिलचेयरलाई बाहिर निकाल्न सघाउने सामग्री सहित त्यो स्टेशनका कर्मचारी रेल पुग्नुअगावै पर्खिरहेका हुन्छन् । रेलको अवधि दुई मिनेटको किन नहोस् । ती अपाङ्ग अथवा अशक्त व्यक्तिलाई स्टेशनका कर्मचारीले बाहिरसम्म पुर्याएर विदाइ गर्छन् । दैनिक प्रत्येक ह्वीलचेयर प्रयोगकर्ता अथवा अपाङ्ग, अशक्त प्यासेन्जरलाई रेलवे स्टेशनले दिएको सुविधा र सम्मान देखेर यो पङ्क्तिकार मुखले केही नवोले पनि श्रद्धाले शिर झुकाइरहेको हुन्छ ।

वर्षौपछि फेरि टोकियोको एउटा व्यस्त रेलको बारेमा केही लेख्न मन लाग्यो, त्यो रेलको नाम हो यामानोते लाइन । इस्ट जापान रेलवे कम्पनीको मातहतमा चल्ने टोकियो सहरभित्रको प्रसिद्ध यो ट्रेनलाई यामानोतेसेन भन्ने गरिन्छ ।

ठीक हाम्रो काठमाडौँको चक्रपथजस्तै गरी यो लाइनले पनि टोकियोको मध्य भागलाई परिक्रमा गरेको छ । काठमाडौँको चक्रपथको दूरी झण्डै २७ किलोमिटर छ भने यो लाइन अलिक लामो छ अर्थात् ३४.५ किलोमिटर । एउटा सिङ्गो इतिहास बोकेको यो ट्रेनलाइनले सन् १८८५ बाट आफ्नो सेवा सुरू गरेको थियो । सन् १९७१ सम्म यो रूटमा २८ स्टेशन थिए भने, आफ्नो सेवा सुरू गरेको झण्डै ८६ वर्षपछि निशि निप्पोरी नाम गरेको एउटा स्टेशन थपेर आफ्नो क्लकवाइज रूटमा २९ स्टेशन बनाएको थियो ।

अचम्मको कुरा, आफ्नो सेवाको १ सय ३५ वर्षपछि यो ट्रेनलाइनले फेरि टोकियोमा अर्को एक स्टेशन थपेको छ । सन् २०२० मा टोकियोमा हुने ओलम्पिकलाई लक्षित गरेर टोकियोको सिनागावा र तामाची नाम गरेका दुई स्टेशनको बीचमा नोभेम्बर १६ तारिकबाट ताकानावा गेटवे नाम गरेको नयाँ स्टेशन थपिएको छ र यामानोते लाइनको इतिहासमा अब ३० स्टेशन दर्ज भएका छन् ।

सन् २०१५ तथ्याङ्कअनुसार यो ट्रेनलाइनले दैनिक (४०,९८५८२) चालीस लाखभन्दा बढी प्यासेन्जर बोक्ने गर्दछ त्यो पनि जम्मा ३४.५ किलोमीटर दूरीमा । यो लाइनका दुई ट्रयाकहरू छन् । दुवै साईड एकअर्काे विपरीत दिशाबाट गुड्छन् । ११ डिब्बाको ५० वटा रेल अहिले यो लाइनसँग छन् । प्यासेन्जर फ्लोइङको व्यस्त समयमा यो लाइनले प्रत्येक २ मिनेटको समयमा सेवा दिने गर्दछ अर्थात् एउटा ट्रेन छुटेपछि अर्को ट्रेन आउन लाग्ने समय दुई मिनेट लाग्दछ । यो लाइनको एउटा ट्रेनले एकपटकमा १ हजार ७ सयजना मान्छे बोक्ने क्षमता राख्दछ ।

एउटा रेल कम्पनीले एउटा स्टेशन थप्नैको लागि दुई वर्षदेखि लगातार काम गरे पनि केवल एक दिन केही घण्टा मात्र आफ्ना केही स्टेशनहरूको सेवा स्थगित गरेर नयाँ स्टेशनसँग जोड्ने प्राविधिक कनेक्शनका लागि थोरै समयलाई ट्रेन रोकेको थियो र जसको सूचना महिनौंदेखि टेलिभिजन, पत्रपत्रिका, इन्टरनेट, पम्प्लेट, र ट्रेनमा अनाउन्समेन्टमार्फत जानकारी गराइरहेको थियो ।

जम्मा ६ घण्टाको समय आफ्ना केही स्टेशनहरूको मात्र सेवा स्थगित गर्दा यामानेते लाइनको प्रयोग गर्ने ७ लाख प्यासेन्जरले फरक रूट प्रयोग गर्नुपरेको थियो अर्थात् उनीहरूलाई असर परेको थियो । जापानी निर्माण कम्पनीहरूले आम नागरिकको सुविधालाई ध्यानमा राखेर रातभर पनि काम गरिरहेको देखिन्छ । अत्यन्त छोटो समयमा स्टेशन, हाईवे, पुल, सडकको निर्माण र सञ्चालन देख्दा यहाँको सरकार, निर्माण कम्पनी, प्राविधिक र कामदारप्रति स्यालुट गर्न मन लाग्छ ।

यो टिप्पणीकारले यी केही पङ्क्ति लेखिरहँदा हाम्रो राजधानीमा पनि यसैगरी केही थान रेल गुडिरहे र दिनमा यसैगरी केही लाख मान्छेहरूलाई सुविधा दिइरहे भने काठमाडौको यात्रा कति सहज हुन्थ्यो होला भन्ने कल्पना गरिरह्यो ।

खैर ९० वर्षभन्दा पुरानो नेपाली रेलसेवाले गति लिन सकेन र हामी संसारमा उदाउँदो रेलसेवा छोडेर तुइन युगमा लाग्यौँ । त्यसैले पनि नेपालको नेतृत्व, परिवर्तन र विकास संसारको तुलनामा १ शताब्दी पछि परेको कुरा अकाट्य छ ।

(वाग्लुङ वलेवाका दीप पाठक अन्तर्राष्ट्रिय साहित्य समाज जापानका अध्यक्ष हुन् । उनी विगत एक दशकदेखि जापानमा बसेर नेपाली साहित्य क्षेत्रको सेवामा सक्रिय छन् ।)

प्रकाशित: २१ मंसिर २०७६ १३:२८ शनिबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी