ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका दुई जना थुनामुक्त

ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका दुई जना थुनामुक्त


बालुवाटार जग्गा काण्डले चिनिएको ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका दुई जना थुनामुक्त भएका छन् । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एसएसपी दिनेशकुमार आचार्यका अनुसार सरकारी कम्पनी समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल र ललितानिवासको जग्गाधनी भएकी सिद्धिका खेतानलाई हाजिरी जमानीमा छाडिएको हो ।

पोखरेल बिरामी भएकाले र खेतानले जग्गा फिर्ता गरेकाले उनीहरूलाई थुनामुक्त गरिएको बताइएको छ । खेतानको नाममा ललिता निवासको ८ आना जग्गा छ । खेतान सो जग्गा फिर्ता गर्न तयार भएपछि उनलाई छोडिएको हो ।

यसअघि पनि सरकारी जग्गा व्यक्तिका नाममा लिएको प्रकरणमा पक्राउ परेका सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई छाडिएको थियो, उनलाई  भने सर्वोच्च अदालतले हिरासतमा नराखी अनुसन्धान गर्नू भनेकाे थियाे ।

हाल यस प्रकरणमा सिआइबीको हिरासतमा २० जना छन्। जसमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, धर्मप्रसाद गौतम, समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे, नक्कली मोही देवनारायण महर्जन, तत्कालीन नापी अधिकृत ध्रुव अर्याल र गोपाल कार्की हिरासतमा छन्। 

त्यस्तै, काठमाडौं महानगर वडा नम्बर ५ का तत्कालीन वडा सचिव शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन, तत्कालीन नापी कार्यालयमा रहेका घमानकुमार कार्की, समरजंग कम्पनीका तत्कालीन सहायक लेखापाल विनोद पौडेल, भौतिक योजना मन्त्रालयका तत्कालीन सिनियर डिभिजन इन्जिनियर बालकृष्ण श्रेष्ठ, भूमि व्यवस्था विभागका तत्कालीन महानिर्देशक रूद्रप्रसाद श्रेष्ठ, तत्कालीन मालपोत कार्यालयका नायब सुब्बा योगराज पौडेल, खरिदार नारायणदास मिश्र, सकुलनन्द महर्जन, केशव तुलाधर,कलाधर देउजा, अमिन अरूणकुमार श्रेष्ठ र सञ्जय महर्जन सिआइबीको हिरासतमा छन्।

Logo