राजपा नेपालको अध्यक्ष मण्डल व्यवस्था खारेज हुने

राजपा नेपालको अध्यक्ष मण्डल व्यवस्था खारेज हुने


काठमाडौं,

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) मा अब अध्यक्ष मण्डलको व्यवस्था खारेज हुने भएको छ । पार्टीको महाधिवेशनसम्म मात्रै अध्यक्ष मण्डलको व्यवस्था रहनेछ । अहिले चक्रीय प्रणाली अनुसार अध्यक्ष मण्डलमा रहेका ६ जना नेता पालैपालो संयोजक हुँदै आएका छन् ।

राजपा नेपालको केन्द्रीय कार्यालय बबरमहलमा आइतबार सम्पन्न अध्यक्ष मण्डलको बैठकले पार्टी विधानमा रहेको अध्यक्ष मण्डलको व्यवस्था खारेज गर्दै अध्यक्ष प्रणाली अनुसार एकता महाधिवेशन गर्ने निर्णय गरेको छ । विगतमा बसेका विभिन्न तहका बैठकमा सहभागी नेताले अध्यक्ष मण्डलको व्यवस्था खारेज गर्नुपर्ने माग गर्दै आएका थिए ।

राजपा नेपाल अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले एकता महाधिवेशनबाट पार्टी अध्यक्ष मण्डल प्रणालीमा नभई अध्यक्ष व्यवस्थामा जाने बताए । २८, २९ र ३० कात्तिकमा एकता महाधिवेशन गर्ने निर्णय पार्टीले यसअघि नै गरिसकेको छ ।

बैठकले पार्टी विधानको ‘धारा ३१ (१२) मा यसअघि महाधिवेशनपछि पनि अध्यक्ष मण्डलको व्यवस्था रहेकोमा अब उप्रान्त महाधिवेशनपछि अध्यक्ष मण्डल नरहने र पार्टी अध्यक्षीय प्रणालीमा अगाडि बढ्ने व्यवस्था हुनेछ’ भन्ने निर्णय गरेको छ ।
राजधानीबाट

Logo