1

निबन्ध- मन, बुद्धि र विवेक

1
1
1

‘मन-आत्मा र शरीर’, ‘मन-आत्मा र मस्तिष्क’ भनेर मनसँग शरीर, आत्मा र मस्तिष्क जोडिए तर बुद्धि कता गए ? बुद्धिसँग विवेकलाई नजोडे फेरि कता जोड्ने ? प्रश्न खडा पनि भए मनैभित्र । मन भाव हो, बुद्धि सोच हो र विवेक विचार हो भनेर मैले भनेँ भने तपाईं मान्नु हुन्छ के ? मन र भाव, बुद्धि र सोच, विवेक र विचार बारे थोरै चिन्तन र मनन गरे नमानी सुखै छैन । हुन त मैले बुद्धि र विवेकको कुरा गर्दैमा वा नगर्दैमा हुनेवाला के छ र ? बुद्धि भनेपछि फिटिक्कै खेलाउन नपर्ने यान्त्रिक युगमा बुद्धिको के कुरा ? भनेर तपाईं मलाई खिसिटिउरी गर्न सक्नुहुन्छ । बुद्धि खेलाउने शिक्षा हटाएर सूचना प्रवाहमा सीमित रहेको शिक्षा चलाउने देशमा बुद्धिको कुरा ? आश्चर्यमा पर्नुभयो के ?

तपाईं हामी यन्त्र प्रयोग गर्न सिपालु तर निर्माण शून्य । तपाईं बाबुबाजे पुर्खाले लेखिदिएका वा बनाइदिएका वा गरिदिएका कार्य वा निर्माणका कुरामा गर्व गर्ने तर आफू केही निर्माण गर्न नसक्ने वा नचाहने मान्छेलाई बुद्धि नै किन चाहिएको छ र ? बुद्धि त सिद्धान्त र यन्त्र निर्मातालाई पो चाहिएको छ । अर्काले बनाइदिएको भौतिक यन्त्रको व्यस्ततामा समय फिटिक्कै नभएका वेला बुद्धि र विवेकका कुरा काम लाग्ला नै कति कसलाई किन र ?

‘म नै तीन मासाको छैन भने तीन तोलाको अलङ्कार के भिर्नु ?’ झलझली देवकोटा सम्झन्छु । उनी ठहरिए महाकवि, आफू परियो गफाडी लेखक, त्यसमा पनि टुक्रे । हुन त देवकोटा पनि मजस्तै थिए होलान्- गफाडी, सोचक र लेखन्दास । अलि अलि गफ नहाँक्ने लेखक बन्न सक्तैन भन्ने मेरो ठम्याइ आजका तपाईंजस्ता कति लेखन्दासलाई ठीक लाग्ला खोइ ! हुन पनि मेरो यो टेबुल गफ करोडौँ बुद्धि खुस्केका कर्महीनले पढ्नुभन्दा दुईचार जना बुद्धिमानले  पढे पुग्छ । यति भनेर आफूलाई महाकविसँग जोड्न पाउँदा म गजक्क । मेरो कुरामा म नै गजक्क पर्न नसके को पर्ला त अरू ?

हो, यो गजक्क पन मेरो मनको हो र यो लेखाइको पन मेरो बुद्धिको हो । पर्नुभयो नि अलमल्ल ? जाबो मन र बुद्धिको स्वभाव बताउन यत्रो भूमिका बाँध्नुपर्ने भन्नुहोला नि फेरि ? मन, बुद्धि र विवेकको अन्तर यस्तै झीना मसिना नै हुने गर्छन् हजुर । कहिलेकाहीँ त मन, बुद्धि र विवेकको स्थान खोज्न, पत्तो लगाउन मनैमा आत्माको बत्ती बाल्नुपर्ने हुन्छ । झिलिक्क भयो कि झलझलाकार हुन्छ जीवन । हो यही झिलिक्क हो विवेक ।

कहिले बुद्धि माथि मनको राज, कहिले मन माथि बुद्धिको राज । मन सम्झौता गर्छ तर बुद्धिलाई सम्झौता गर्न कठिन । मन शरीर होइन, अर्थात् कुनै वस्तु होइन । मन न त कुनै भौतिक तत्त्व हो । मन न त देखिने चीज हो न त भेटिने वा छोइने पदार्थ हो । मन मूर्त होइन मात्र अमूर्तमा बसेको मानवीय भाव हो । वास्तवमा मन मस्तिष्कको संवेग, आवेग र उद्वेगको एउटा छाल मात्र हो ।

मन छाया हो, मन मस्तिष्कको भाव हो, मन वस्तु होइन तर मस्तिष्क वस्तु हो, मनका भावहरू, मनमा उठेका भावनाहरू मस्तिष्ककै तरङ्ग हुन् । मस्तिष्कको अनगिन्ती तरङ्ग छन्, तिनै तरङ्गहरूमा एक हो मन । मनजस्तै बुद्धि, विवेक पनि मस्तिष्कका तरङ्गकै पाटा हुन् । मन सोच्छ, भौंतारिन्छ र शरीरको सुरक्षा गर्दछ । शरीर र शरीरको क्रियाकलापलाई सतर्कता साथ हेर्नु र त्यसलाई सजग गराउनु मनको प्रमुख काम हो । मन भाव र भावनामा पौडिरहन्छ, तर्क, वितर्क र कुतर्क गरिरहन्छ । संष्लेषण र विश्लेषणमा डुबेर मनले निरन्तर शरीरको सुरक्षामा आत्मालाई सतर्क गराइरहन्छ ।

मन चित्त हो, दिल हो, हृदय पनि हो । मन इच्छा हो, चाहना हो, कामना हो र अभिलाषा पनि हो । मन रुचि हो, अभिरुचि हो र आशय पनि हो । मन अन्तस्करण हो, स्वभाव हो र प्रकृति पनि हो । मान्छेले अर्कोप्रति गर्ने गराउने, सोच्ने सोचाउने धारणा पनि मनले नै बनाउँछ । भित्र इच्छा र कामना जगाएर मनले शरीरलाई सक्रिय राखे पनि मन शरीरको सुरक्षका लागि स्वार्थी हुन्छ । मनको काम शरीरको सुरक्षा गर्नु हो । लाग्दालाग्दै, गर्दागर्दै विपरीतता आए सम्झौता गर्न पनि मन माहिर हुन्छ तर बुद्धि त्यस्तो हुँदैन ।

बुद्धिले मनको भावलाई नियन्त्रण गर्दछ, चलखेल गर्दछ त्यसैले मन भाव हो भने बुद्धि सोच हो । मन सतहमा रमाउँछ तर बुद्धि अलिकति भित्र पस्न रमाउँछ ।

मन तरल हुन्छ र बुद्धि गहन । मन चञ्चल हुन्छ बुद्धि धीर । मान्छेका मनमा प्रतिपल आइरहने सयौँ हजारौँ भावलाई सोचमा बदल्ने बल हो बुद्धि । चञ्चल मनलाई बाँधी केही बेर अलमलाएर धैर्य गराउने शक्ति हो बुद्धि । मनमा उठेका भावहरूलाई चलखेल, जालझेल, तलबितल पारेर निर्णयमा र्पुयाउँछ बुद्धिले । मनमा जतिसुकै ठूला वा धेरै भाव उठे पनि बुद्धिले सोच्न नलगाए वा बुद्धि सक्रिय नभए ती विचारमा परिणत हुन सक्तैन । भाव त तपाईंमा पनि कति आए गए तर त्यसलाई सोचमा बदलेर विचारसम्म लग्नुभयो कति ? लेखेर राख्नोस्- मनमा उठेका भावहरूमा जबसम्म बुद्धिको उपस्थिति हुन्न तबसम्म तपाईंले गरेका कुनै काम सफल हुन्न । 

त्यसैले बुद्धि निश्चय हो, निर्क्यौल गर्ने तत्त्व वा शक्ति हो । बुद्धिले मान्छेको जीवनमा निर्णयक भूमिका निभाउने काम गर्दछ । जुनसुकै भावजन्य वा वस्तुजन्य कुराको बोध मान्छेले बुद्धिबाटै गर्दछ र गराउँदछ, त्यसैले बुद्धि बोध शक्ति हो । बुद्धि अक्किल पनि हो र उपाय पनि हो । बुद्धिले नै पात्रले गर्ने वा पात्रको विधि, व्यवहार र कार्य सफल पार्दछ, त्यसैले मन उठान हो भने बुद्धि बैठान हो । मनले उठाएका भावजन्य कुरालाई निष्कर्षमा र्पुयाउने बुद्धि मस्तिष्कको करोडौँमध्येको मनजस्तै एउटा कोष वा द्वार हो । मनले उठाएका प्रश्न वा समस्याहरूलाई बुझेर सही गलत छुट्याउने महत्त्ववपूर्ण कार्य गर्दछ बुद्धिले, त्यसैले तत्त्व ज्ञान वा आत्मिक गुणको शक्ति हो बुद्धि ।

मन डराउँछ, प्रश्न उठाउँछ, शरीरलाई सक्रिय राख्छ, तपाईंलाई सचेेत पार्छ तर निर्णय गर्न सक्तैन । यहाँ निर्णायक भूमिका निभाउँछ बुद्धिले । बुद्धि नभएर मन मात्र भएका मान्छे कति सिल्ली हुन्छन्, तपाईंले देख्नु भएको छैन र ? केही मनकारी छ भने त्यो ‘कारी’ भनेकै बुद्धि हो भनेर बुझे के जान्छ र तपाईंको ? बुद्धि चाहिँ भएको तर मन नभएको मान्छे कहीँ कतै भेटिए हेर्नुहोस् न ती पनि सिल्ली नै हुन्छन् । मन र बुद्धिलाई तपाईं एक अर्कोको परिपूरक ठान्नोस् । यी दुवै हुन जरुरी छ मान्छेमा । जति मन भावजस्तै तरल र सरल हुन्छ त्यति नै गहन र ठोस देखापर्छ बुद्धि । बुद्धि सोच्छ, विचार्छ, खुरापात गर्छ, उपाय खोज्छ अनि निक्यौल गर्छ । मनबाट जाग्रित हुने भाव वा कार्यमा बुद्धिकै बोलवाला हुन्छ । मनले उठाएका कुरोलाई चुरोमा र्पुयाउने काम बुद्धिकै हो । मन अस्थिरताको प्रतीक हो भने बुद्धि धैर्यको । मनबाट गरिएको जुनसुकै काममा बुद्धिको प्रयोग गर्न सक्नुभएन भने तपाईं कतै कुनै काममा पनि सफल हुन सक्नुहुन्न ।

विनाबोध, विनासमझ, विनाआशय, विनानिर्क्यौल, विनानिश्चय कसले गरेको कार्य सफल भएको छ र यो सृष्टिमा ? बोध, समझ, आशय, निर्क्यौल, निश्चयजस्ता हरेक ठाउँमा बुद्धिको प्रयोग छ, छ । मनद्वारा गरिने प्रत्येक सोच र कार्यमा बुद्धिको उपस्थिति अनिवार्य हुन्छ, अझै भनौँ, जोडिएकै हुन्छ ।

यदि मन इच्छा, चाहना, कामना वा तरल भाव हो र बुद्धि समझ, उपाय, बोध, निक्यौल हो भने फेरि विवेक के हो ? मन र बुद्धिसँग विवेकको के काम ? मन र बुद्धिको कार्यमा कहाँनेर उपस्थित हुन्छ त विवेक ? मनले इच्छा गरेर बुद्धिले निर्क्यौल गरिसकेपछि फेरि विवेकको के काम ?

राम्रो नराम्रो, ठीक बेठीक, असल खराब छुट्याउने क्षमता नै विवेक हो भने त्यसलाई सहीतिर लागू गराउने काम पनि विवेककै हो । आत्मालाई सत्य र असत्यको ज्ञान गराउने शक्ति पनि विवेक नै हो । मान्छेले गर्ने सफल असफल सबै काम वा कार्यको क्षमता पनि विवेक नै हो । तपाईंलाई यथार्थताको बोध गराउने शक्ति पनि विवेक नै हो । मान्छेलाई प्रकृति र पुरुष बीचको भिन्नताको अनुभव वा महसुस गराउने ज्ञान पनि विवेक नै हो, त्यसैले विवेक समझ हो, विवेक विचार हो, विवेक ध्यान-विचार हो, विवेक ज्ञान हो ।

विनाविवेक मन र बुद्धिको आयु जति नै लामो भए पनि त्यसको समाजमा कुनै इतिहास हुन्न किनभने विवेकरहित मनले क्रूरताको मात्रै इतिहास रच्ने गर्छ भने विवेकरहित बुद्धिले गलत वा कूकाम मात्र गर्न उक्साउँछ । मान्छेले गर्ने गराउने सबै कार्य वा वृत्तिमा यदि विवेक रहेन भने कल्पना गर्नुहोस् यो संसार र संसारका मान्छे कस्ता हुन्थे होला ?

हुन त जसले जति सेवाको गुड्डी हाँके पनि अस्पताल खोल्नेले पनि आफ्नो भातभान्सा चलाउन नै अस्पताल खोलेका हुन् । स्कुल कलेज खोल्नेले पनि आफ्नो भातभान्सा चलाउन नै स्कुल कलेज खोलेका हुन् । ज्ञानको स्रोत दिन्छु भनेर पुस्तक लेख्ने र प्रकाशन गर्नेले पनि आफ्नो भातभान्सा चलाउन नै पुस्तक लेख्ने र प्रकाशन गर्ने काम गरेका हुन् । दिनरात खटिएर कमाएको गोजीको आफ्नो धन सकेर कसले समाज सेवा वा राजनीति गर्न सक्छ ? यो पनि तिनको भातभान्सा चलाउन खेलिने एउटा खेल नै हो । को छ कुनै किसिमको लाभविना कुनै काम गर्ने ? घरको भात खाएर, आफ्नो धन खर्च गरेर मेरो काम तपाईं कति वर्ष, महिना, दिन वा समय गर्न सक्नुहुन्छ ? सेवाको नाममा गरिने काममा त यो हालत छ भने अरू पेशा वा वृत्तिको के कुरा गर्नु ?

सबै किसिमका नाता, सम्बन्ध, काम, वृत्ति मात्र स्वार्थसँग जोडिएका हुन्छन् । विनास्वार्थ बाँच्ने कोही हुँदैनन् । मात्र फरक- स्वार्थको प्रतिशतको हो । मन र बुद्धिको तपाईंको खेलमा कति र कहिले विवेक उदाउने हो कुरो यति मात्र हो । भातभान्सा चलाउन वा बाँच्नका लागि गरिएका जुनसुकै कार्यमा मान्छेले थोरै विवेक राखिदिए पुग्छ ।

डाक्टरमा विवेक मर्दै गएको छ त्यसैले अस्पताल ठगी र रोग ब्युँताउने प्रयोगको अखडा अनि मान्छे मार्ने मसान बन्दै गइरहेछ । शिक्षक र प्राध्यापकमा विवेक खस्कँदै गइरहेछ त्यसैले वर्षभरि तिनले खाएको तलब भत्ताले स्कुल कलेजमा उत्तीर्ण सङ्ख्या दुई चार प्रतिशतमा झरेको छ त्यसैले स्कुल कलेज व्यापार र राजनीतिको अखडा साबित हुँदै गइरहेको छ । विवेक मर्दा व्यापार जनता ठग्ने भाँडो मात्र बनेका छन् । राजनीति र प्रशासन भ्रष्टाचार र मनोपलीको चारखाल बनेका छन् । हरेक तप्का र क्षेत्रमा नैतिकता, इमानदारिता मरेको छ । रौ बराबर विवेक मान्छेले आफ्नो कर्म क्षेत्रमा राखिदिने हो भने घर, परिवार, समाज, देश र विश्व नै परिवर्तन हुनेछ ।

अब तपाईं नै भन्नोस् मन, बुद्धि र विवेकको कति धेरै लयता वा विलयता हुनुपर्ने हो ? तपाईं तपाईंका मनले उठाएका कुरामा काम गर्दा कति बुद्धिको प्रयोग गर्नुहुन्छ अनि त्यसमा के र कति विवेकको प्रयोग गर्नुहुन्छ ? कतै व्यक्तिगत स्वार्थमा डुबेर आफ्नै सन्तति वा देशलाई जाक्दै त हुनुहुन्न ? तपाईं आफैले आफ्नो लागि नगरे कसले गर्छ ?आफ्नो लागि गर्न नसक्नेले कसैको लागि केही गर्न सक्तैन ।

तपाईं आफ्नै लागि गर्न सक्नुहुन्न भने अर्कोले तपाईंका लागि केही किन गरिदिन्छ ? तपाईं चाहनुहुन्छ मैले कसैको लागि केही गर्नु नपरोस् तर मेरो लागि अर्कोले  सधैँ गरिदिइरहोस् ? तपाईंमा विवेक मरेको योभन्दा ठूलो प्रमाण दिनुपर्छ र अझै मैले ? मान्छेले प्रत्येक काम गर्दा मात्र एक पल विवेक जगाउन सके तपाईंको घर, परिवार र संसार स्वर्ग हुनेछ ।

वास्तवमा मन, बुद्धि र विवेक एक आपसमा मिलेर बसेका हुन्छन् र मिलेर नै काम पनि गर्दछन्, त्यसैले मनमा जतिसुकै भाव उठे पनि बुद्धिले सोच्न नलगाए वा बुद्धि सक्रिय नभए ती विचारमा परिणत हुन सक्तैन, त्यसैले मन भाव हो, बुद्धि सोच हो र विवेक विचार हो भन्ने मेरो ठोकुवा छ । तपाईं माने मान्नोस् नमाने नमान्नोस् ।

प्रकाशित: १९ साउन २०७५ १३:४८ शनिबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी