एक सातामा १४ घुस्याहा कर्मचारी पक्राउ

एक सातामा १४ घुस्याहा कर्मचारी पक्राउ


काठमाडौं

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही महिनायता दैनिकजसो कर्मचारीलाई घुससहित रंगेहात पक्राउ गरिरहेको छ । तैपनि कर्मचारीतन्त्रमा घुसखोरी रोकिएको छैन । घुस प्रकरणमा अघिल्लो मंगलबार यता १४ कर्मचारी पक्राउ परेका छन् ।

मंगलबार एक प्रहरी पनि घुससहित पक्राउ परेका छन् । वैदेशिक रोजगार विभागको काठमाडौं कार्यालय ताहाचलबाट प्रहरी जवान गणेश लोहार १७ हजार रुपैयाँ घुस सहित पक्राउ परेका हुन् । सहज रूपमा श्रम स्वीकृत मिलाइदिने भन्दै उनले घुस लिएका थिए ।

यस्तै सोमबार आन्तरिक राजस्व कार्यालय जगाती, भक्तपुरका नायब सुब्बा सबिन सुवेदी घुस सहित पक्राउ परेका थिए । स्वास्थ्य चौकी भवन निर्माण सम्पन्नपछि नियम अनुसार पाउने धरौटी रकम फिर्ता लिन कर समायोजन पत्र बनाउने प्रयोजनका लागि उनले १५ हजार घुस लिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले उनलाई कार्यकक्षबाटै पक्राउ गरेको हो ।

गत शुक्रबार एकै दिन अख्तियारले भ्रष्टाचारको आरोपमा पाँच कर्मचारीलाई पक्राउ गरेको थियो । बाराको सिमरास्थित डिभिजन वन कार्यालयका प्रमुख अधिकृत शिवशंकर ठाकुर, सहायक वन अधिकृत गौरीशंकरप्रसाद केशरी र कार्यालय सहयोगी रामचन्द्र अधिकारी घुससहित पक्राउ परेका हुन् । ठाकुर र केशरीलाई २५ हजार तथा कार्यालय सहयोगी अधिकारीलाई ९० हजार घुससहित पक्राउ गरेको अख्तियारले जनाएको छ । कवाडी मालसामानको ठेक्काका लागि उनीहरूले अग्रिम घुस लिएका थिए । ठेकेदारले पहिल्यै अख्तियारलाई खबर गरेपछि तीन जना फन्दामा परेका हुन् ।

त्यस्तै मोरङको लाटिझोडास्थित सबडिभिजन वन कार्यालयका सहायक वन अधिकृत सलाउद्दिन अन्सारी पनि शुक्रबार नै घुस सहित समातिएका छन् । वन पैदावार उपलब्ध गराउन सिफारिस गरिदिएबापत सेवाग्राहीसँग उनले ३५ हजार घुस लिएका थिए । अख्तियारको टोलीले उनलाई डिभिजन वन कार्यालय विराटनगरबाट पक्राउ गरेको हो ।

शुक्रबार नै प्रदेश २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका उपसचिव वीरेन्द्र सिन्हा पनि पक्राउ परेका थिए । तारेखमा गएका वेला उनलाई अख्तियारले हिरासतमा लिएको थियो । तत्कालीन कृषि विकास कार्यालय पर्साका प्रमुख रहँदा उनले लाखौँ अनियमितता गरेको प्रमाण भेटिएपछि नियन्त्रणमा लिएको स्रोत बताउँछ ।
नयाँ पत्रिकाबाट

Logo