सन्दीपा र सन्जीवलाई कांस्य

सन्दीपा र सन्जीवलाई कांस्य


सन्दीपा अमगाईं र सन्जीव नेपालीले स्पेनमा भएको २०औं ओपन अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा नेपाललाई पदक दिलाएका छन् ।

स्पेनको बार्सिलोनामा सम्पन्न च्याम्पियनसिपमा सन्दीपा र सन्जीव दुवैले कांस्य पदक जितेका हुन् । मार्सल आर्टस् फेडेरेसन अफ क्याटलानको आयोजनामा बारबेरा डेल भ्याली एरिनामा भएको खेलमा दुवैले फाइटतर्फ पदक जिताउन सफल भएको नेपाली टोलीका प्रशिक्षक अमरराज लामाले जानकारी दिए ।

फाइटतर्फ महिला ४९ केजी तौलसमूहको सेमिफाइनलमा आयोजक राष्ट्रका खेलाडीसँग समान १५–१५ स्कोर भए पनि रेफ्री निर्णयको आधारमा स्तब्ध भएपछि सन्दीपा कांस्य पदकमै सीमित भइन् । पुरुषको ८४ केजीको फाइटमा प्रतिस्पर्धा गरेका सन्दीप पनि आयोजकका खेलाडीसँग सेमिफाइनलमै पराजित भएका थिए ।

त्यस्तै जापानमा भएको नवौं सितोरियो कराँते विश्व च्यामिपयनसिपका रजत विजेता दिगम्बरप्रसाद पन्त र कांस्य पदक विजेता विजय श्रेष्ठ तथा राष्ट्रिय खेलकुद परिषद्की सदस्य इन्दिरा निरौला स्वदेश फर्किएका छन् । सागका स्वर्णधारी कुशल श्रेष्ठ प्रशिक्षणमा जापान गएको नेपाली टोली मंगलबार राती स्वदेश फर्किएको हो । उक्त प्रतियोगितामा नेपालले १७ वर्षपछि पदक जितेको हो ।

 

 

Logo