कथा अनेक प्रकारका हुन्छन् । काल्पनिक, भावनात्मक, सत्य वा पौराणिक कथा । हामीले पढ्ने र सुन्ने धेरैजसो कथा काल्पनिक हुने गरेपनि पौराणिक कथा पनि समाजमा उस्तै प्रचलित छ ।
जनश्रुतिमा आधारित यस्ता कथाहरु कतै पुराणमा उल्लेखित हुन्छन् त कुनै कथाहरु कतैपनि उल्लेख नभएपनि रोचक हुन्छन् । त्यस्तै कथाहरुको संग्रह लिएर यसपटक साहित्यकार विजु सुवेदी (विजय) आम पाठक माझ आएका छन् । सत्य पौराणिक कथाहरु नाम दिइएको यस संग्रहले हामीले सुनेका प्रचलित कथाहरुले पुस्तकको आकार पाएका छन् । जुन निकै रोचक मात्र छैन हराएका र हराउने क्रममा रहेका कथाहरुले पनि जिवन्तता पाएका छन् ।
यसमा करिव ३ दर्जन जति छोटा, लामा कथाहरु संग्रहित छन् । सबै कथाहरु रमाइला पनि छन् । पढ्दै जाँदा रोचक लाग्छन् । आफूले पिता पुर्खाबाट सुन्दै आएका कुराहरुलाई सत्यकथाको आडमा रहेर यी कथाहरु रचना गरेको लेखक स्वयंले बताएका छन् । मान्छेको मुखमै सिमित रहेका लोककथा, किंबदन्तीका कथा, पौराणिक लगायतका सत्य कथाहरु पुस्तकमा समावेश छन् । जुन कालान्तरमा एउटा इतिहास मात्र रहँदैन भावी पुस्ताका लागि पनि एउटा प्रेरणाको स्रोत बन्ने छ ।
हामीले पुराणमा धेरै कुराहरु पढ्ने गरेका छौं । सुनेका पनि छौं। वेदमा पनि यस्तै कथाहरुले प्रवेश पाएका हुन्छन् । संस्कृतिको धनी देश नेपालमा बसोबास गर्ने सबै जातजातीका आफ्ना आफ्ना इतिहास समेटिएका धार्मिक ग्रन्थ पनि छन् । सबैको आफ्नै ठाउँमा महत्व उत्तिकै छ । तर सबैले न वेद पढ्न पाउँछन् न पुराण नै ।
तर, त्यसभित्र रहेका केहि अंश त पक्कै पनि पढ्न मन लाग्छ । ती सबैलाई सबै ठाउँमा भेटाउन पनि गाह्रो छ । यसकै लागि पाठकहरुको पढ्ने इच्छा मेटाउन अब भने वेद र पुराण पल्टाउनुपर्ने छैन । सुवेदीको प्रस्तुत कथासंग्रहमा सबै कुराहरुको ज्ञान लिन सकिने भएको छ । यसर्थ पनि यो एउटा संग्रहणिय ग्रन्थ बनेको छ ।
मानिसलाई नैतिकताको पाठ सिकाउने खालका कथा दिएका छन् सुवेदीले । सबै कथाले केहि न केहि शिक्षा दिने नै छन् । केहीमा रोचक व्यंग्य पनि पाइन्छ , केही सत्य पनि छन् । कुनै कथाहरुले समाजमा व्याप्त विकृति र विसंगति त्यागेर सहिमार्गमा हिड्न प्रेरित पनि गरेका छन् । प्रेम, घृणा, हाँसो, रोदन तथा भक्ति, सन्देश लगायत समाजमा हुने गरेका विषय पनि कथामा समावेश छन् ।
नराम्रो कुरा ग्रहण नगरौं, मानिसको सम्पति क्षणभरको मात्र हो । इमान्दारी र नैतिकता किनेर पाईंदैन । प्रयास गरि सकारात्मक सोच राख्नु सबैभन्दा ठूलो कर्म हो, विकृति छोडौं, प्रेम अंगालौं, अहिंसा परमोधर्म, सत्य जुनसुकै धर्मको पनि मूल हो लगायतका शिक्षाको खानीका रुपमा प्रस्तुत कथा संग्रह रहेको छ । जो अहिलेको समाज र पछिल्लो पुस्ताका लागि पनि सकारात्मक मार्ग निर्देशकका रुपमा रहने निश्चित छ । यस कारण पनि यो एउटा संग्रहणीय पुस्तकका रुपमा रहेका छ ।
यसका प्रतिनिधी कथा मध्ये गणेशको लड्डु, शिवरात्री, कुरुक्षेत्र , कालभैरव , दिव्य माछा , अष्टावक्र, श्रवणकुमार, बालक ध्रुव , कर्ण लगायतका छन् । कथाका विविध पक्षहरुलाई साहित्यमा नौलोरुपमा प्रस्तुत गर्ने लेखक सुवेदीको यस कथा संग्रहलाई भने रत्न पुस्तक भण्डार, काठमाडौंले बजारमा ल्याएको हो । पुस्तकको मूल्य ३९५ रुपैयाँ छ ।
प्रकाशित: ११ फागुन २०७५ १३:३० शनिबार