कविताः आक्रोश

कविताः आक्रोश


रेडियो,
टि.भी,
सामाजिक संजाल,
युट्युव,
जता ततै
एउटै शब्द
छाईरहेका छन्।
अक्जिजन खै?
आज,
अक्सिजन नपाएर
तल्लो घरे काकाले ज्यान गुमाउनु पर्यो।
अनि,
अक्सिजन नपाएर नै छिमेकी भाउजुलाई अकालमा गुमाउनु पर्यो ।
अस्पतालको बेडबाट मेरी हजुरआमाले
मलाई बचाउ बचाउ
भनिरहँदा 

केहि गर्न सकिरहेको छैन्।

लकडाउन,
सिल,
निषेधाज्ञा
सरकारले गरेको छ,
जनता,
रोगले भन्दा पनि
भोकले मरिन्छ भनेर
बिहान बेलुकाको छाक टार्न
दौड धुप गरिरहेका छन्।
  केहि मानिस कति निर्दयी छन्,
अब मौका यहि हो, भनिरहेका छन्।
गरिब दुःखीलाई लुटीरहेका छन्।
तीन रुपैयाँ पर्ने माक्सलाई तीससम्म लिन भ्याएका छन्।

ए सरकार
त किन मौन छस्
मेरो एक भोटले हैन तँ कुर्सीमा पुगेको?
हामी छट्पटाएर मृत्युको शैयामा पुगेका छौं
तर त किन चुप छस्?
नेपालको झन्डा हल्लाएर
महङ्गो गाडिमा हिड्नुको साटो
एक सिलिन्डर अक्सिजन लिएर किन आउँदैनस् 
जनता बचाँउन्
आईज मलाई  बचा
अनि
म बाँचे भने
तेरो ऋण
चुक्ता गर्ने छु
एक भोट तँलाई नै दिनेछु।
भनेर 
जनता
सरकार तँलाई नै गुहारिरहेका छन्।
तर,
सरकार तँ
आफूलाई बचाउँन लागेको  छ,
जनता कोहि होइनन् झैं गरेको छ।
आफ्नो कर्तव्यबाट भागिरहेको छ।
किरा, फट्याङग्रा मरेझैं गरिरहेको छ।
जनता
दिन प्रतिदिन मरिरहेका छन्,
कसैले बुवा गुमाएका छन्

कसैले आमा,
कसैले दाइ,
कसैले भाइ गुमाईसकेका छन्।
अक्सिजन नपाएर,
श्रीमती अस्पतालको बेडमा छट्पटाइ रहेकी,
आँखाभरि आँसु पारेर,
निरिह बनेर श्रीमान् टुलुटुलु बस्नुको विकल्प छैन,
भेन्टिलेटरमा पुर्याएका बुवालाई
कुर्दा  कुर्दै
छोरो
आफैं  लास भएर
घर ल्याइनु परेको  छ। 
यहाँ मृत्युको समय चलिरहेको छ।
छोरोको  तोते बोलिले
बा आमा शब्द सुन्न नपाई
बा आमाहरुले
संसार छोड्नु परेको।
सन्तान अभिभावक बिहिन हुनुपरेको छ।
कति ठाउँमा सरकार चुकेको छ,
धेरै ठाउँमा हामी आफैं चुकेका छौँ।
आफू बाँच्न हामीले नै संघर्ष गर्नु पर्छ
आफ्नो नियम आफैं बनाएर
सतर्कतापूर्वक घरमा बस्नै पर्छ।
सतर्कतापूर्वक घरमा बस्नै पर्छ।

लेखकः–शर्मिला आचार्य
लेटाङ्ग नगरपालिका वडा नं. ६, मोरङ

(लेखक–नेपाली भाषामा र साहित्यमा स्नातकोत्तर सम्पन्न गरि अहिले अध्यापन कार्यमा सक्रिय छिन्।)

Logo