साहित्य प्रदेश १
नियात्रा

नियात्राः ‘द गड अफ साइट’ को गाउँ पुग्दा...

15 Shares

मेरो जन्मस्थल पाँचथर जिल्लासँग सिमाना जोडिएको सुन्दर हिमाली जिल्ला ताप्लेजुङलाई कर्मभूमि बनाएको पनि एक वर्ष भइसकेको थियो । 

विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीले २०७६ को चैत २० देखि देश नै ठप्प भएसँगै बन्द कोठामा फुर्सदिलो भएर बसिरहेका थियौं ।

यसैबीच ताप्लेजुङलाई कार्यक्षेत्र बनाएर बसिरहेका हामी रामबहादुर बस्नेत, सुन्दर बान्तावा, तेजेन्द्र तामाङ, अनुप दाइ  र म सहित पाँच जनाको टोली ओलाङचुङगोला घुमघाममा निस्किने भयौं। 

जुन गाउँ डा. सन्दुक रूइतको जन्मथलो पनि हो। तिलगंगा आँखा केन्द्रका निर्देशक उनी सन् २००६ मा ‘रमन म्याग्सेसे पुरस्कार’ पाउने चर्चित नेत्र रोग विशेषज्ञ हुन्। समुद्र सतहदेखि यो गाउँको उचाइ ३ हजार १०० मिटर हो। जहाँ घुमघाममा निस्किने सल्लाहपछि चाहिने सामानहरू जोहो गर्दै गाडीको बन्दोबस्त गर्यौं।

०००
२९ वैशाखको बिहान करिब ७ बजे। मन फुरुङ्ग बनाउँदै सदरमुकाम फुङलिङबाट ‘दोभान–ओलाङचुङगोला’ कच्ची सडक हुँदै अघि बढ्यौं।

करिब ४ घण्टाको यात्रापछि फक्ताङलुङ गाँउपालिकाको केन्द्र तापेथोक पुग्यौं।
त्यहाँ साथी सन्तोष श्रेष्ठको निमन्त्रणा थियो। निमन्त्रणा नस्वीकार्ने कुरै पनि भएन। र, पुग्यौं उहाँकोमा। बिहानको खाना उहाँकैमा खायौं। 

खानापछि यात्राले पुनः निरन्तरता पायो। करिब दुई घण्टाको यात्रामा रानीपुल पुग्यौं। यहाँभन्दा उता चाहिँ मोटरबाटो रहेनछ। हामी सवार गाडीलाई फुङलिङ फर्कायौं। अनि, झोलुङ्गे पुल हुँदै तमोर नदी पार गर्यौं। नदी पारी चाहिँ लेलेपको उकालो।

उकालै उकालो हुँदै पुग्यौं–कञ्चनजङ्घा संरक्षण क्षेत्रको कार्यालय। त्यहाँ चिया नास्ता खायौं। उसै त उच्च पहाडी क्षेत्र। रोमाञ्चक नहुने कुरै भएन। प्रफुल्लित हुनु त छँदैछ। यसपछि भने हाम्रो यात्रामा दुई जना यात्री थपिए। थपिएका यात्रीहरू कार्यालयकै कर्मचारी।

यहाँदेखि गन्तव्य पुग्न अझै थुप्रै बाँकी छ। फेरि उकालो चढ्यौं। साँझ लुङलुङ पुग्यौं। थकानले हामी लखतरान। बिसायौं भारी। त्यहीं बास बसाइ भयो।

०००
भोलिपल्ट बिहान चिया नास्ता खायौं। र, सुरु भयो यात्रा। यात्रा गर्नुमा बेग्लै मजा छ। त्यसमाथि प्राकृतिक छटाको दृश्यालोकन गर्दै। यसरी पुग्यौं, करिब तीन घण्टाको यात्रापछि इलाडाँडा। त्यही खाना खायौं र फेरि हिँडयौं। 

यात्रामा कहिले तमोर वारि त कहिले पारि गर्यौं। ठूलाठूला चट्टानहरू अनि मालिङ्गोका घारी छिचोल्दै बढ्यौं। करिब चार घण्टाको यात्रापछि चाहिँ कच्ची मोटरबाटो भेट्यौं।

तिब्बत सरकारले बनाएको रहेछ। थाहा भएअनुसार टिपताला भञ्ज्याङबाट उनीहरूकै उपकरण र जनशक्तिबाट बनाएको रहेछ। जुन नेपाल–तिब्बत सीमा क्षेत्रमा पर्छ।

सोही मोटरबाटो हुँदै अगाडि बढ्यौं। सडक क्षेत्रमा क्या ! फाँटिला चौर। थचक्क बसेर बोकेको पानी र खाजा खानुको आनन्द नै फाल्टो।

त्यसमाथि ठूलाठूला लेकाली सल्लाका वन। वनको सुसाइमा सुसेली खेल्नु त छँदैछ। जवानीताका पुराना तर प्रेमील गफ गर्दै बढ्दै थियौं।

बाटो छेउको सल्लाको हाँगामा बसिरहेको हाब्रे (रेडपाण्डा) देख्यौं। जसले हाम्रो ध्यान खिच्यो। हाब्रे वन्यजन्तुमध्येमा लजालु मानिन्छ। करिब एक मिटर नजिक गएर फोटो खिच्यौं र हाब्रेलाई नियाल्यौं।

हाब्रेको लजालुपन देखेर सहयात्री सुन्दर बान्तावालाई पुरानो प्रेमील क्षणको सम्झना आएछ। र, भन्नुभयो–‘आईएस्सी पढ्न धरान गएको थिएँ, पहिलोचोटी युवतीसँग प्रेममा परें, त्यसबेला युवती आफूसँग लजाइन्, आज हाब्रेको लजाइले त्यसबेलाको याद दिलायो।’

अर्का सहयात्री रामबहादुर बस्नेत सरले पनि त्यस्तै खालको अनुभव सुनाउनुभयो। उहाँको अनुभव सुनाइ हाँस्यपरक थियो। खित्का छोडेर धीत मरुञ्जेल हाँस्न बाध्य भयौं। जसले थकानलाई बिर्सायो।

केहीबेरको यात्रापछि नाक छुने डाँडा चढ्न थाल्यौं । थोरै देखिए पनि करिब १०० एकसय मिटर उचाइको रहेछ। पाइला सार्न निकै मुस्किल पर्यो ।

तैपनि करिब एक घण्टामा उकाली छिचोल्न सक्यौं। छिचोलेपछि काठको चौतारी रहेछ। बस्यौं। त्यहाँदेखि ओलाङचुङगोला बजार देखिँदोरहेछ। फराकिलो चौरमा चौंरीहरू पनि देखियो।

अनि त्यसमाथि तमोर नदीको सुस्केरा। वा ! क्या गज्जब। केहीबेर मन्त्रमुग्ध भयौं। यहाँदेखि त गन्तव्य नजिकियो पनि। साँझ पनि पर्न लाग्यो।

केहीबरेको पैदलपछि गन्तव्यस्थल प्रवेशद्वार पुग्यौं। स्वागतार्थ पर्खाइमा देखिए मानेहरू। जो बौद्ध धर्म परम्पराअनुसर निर्मित हुन्। जसलाई स्मारक पनि भनिन्छ। 

यसरी मानेको दर्शनपछि अघि बढ्दा चौंरीका दूध दुहुन लागेका भेटिए मानिसहरू। हामी नजिकैको होटलमा बस्यौं। त्यसबेलासम्ममा साँझको घाम डुब्न आँटिसकेको थियो । चिया खाएपछि घुमघाममा निक्लियौं।

यात्रामा कहिले तमोर वारि त कहिले पारि गर्यौं। ठूलाठूला चट्टानहरू अनि मालिङ्गोका घारी छिचोल्दै बढ्यौं। करिब चार घण्टाको यात्रापछि चाहिँ कच्ची मोटरबाटो भेट्यौं।

त्यसपछि थाहा भयो कि तमोर नदी नेपालतिरकै भूभाग टिपताला भञ्ज्याङबाट बगेर आएको छ। जबकि, लोकसेवाका किताबहरूमा चाहिँ तिब्बततिरबाट बगेर आएको भनेर पढेका थियौं। झुट रहेछ। 

अनि तमोर किनारमै रहेछ ओलाङचुङगोला। जो नेपालको उत्तरी क्षेत्रको पुरानो व्यापारिक नाका हो।

ओलाङचुङगोलामा पहिले १०२ घर थियो अरे। क्रमशः व्यापार घट्दै जाँदा हाल ५८ घर मात्र रहेछ। मुख्य व्यवसाय थर्मस, ब्लाङ्केटलगायत चाइनिज सामानहरूको रहेछ।
ती सामानहरू ताप्लेजुङ सदरमुकाम फुङलिङ हुँदै नेपाली बजारमा भित्र्याइने गरिएको थाहा भयो। 

मुख्य उत्पादन चाहिँ भेडाको ऊन। त्यही ऊनबाट निर्मित गलैँचा। यसका अतिरिक्त चांैरीका घिउ, छुर्पीलगायत उत्पादन पनि रहेछ।

उत्पादित सामानहरूको बजार चाहिँ तिब्बत रहेछ। तिब्बत सरकारले नै यहाँको सबै बासिन्दालाई तिब्बत छिर्न पाउने र व्यापार गर्न पाउने पास उपलब्ध गराएको रहेछ । बसाइ चाहिँ तिब्बती मूलका शेर्पा समुदायको। त्यसो भएकोले त्यहाँ बसोबास रहेका उनीहरूको बच्चा जन्मिने बित्तिकै तिब्बती प्रशासनमा ‘इन्ट्री’ गराउने व्यवस्था पनि रहेछ।

फेरि, भेडाको ऊनबाट निर्मित गलैंचाको जति पुरानो हुँदै जान्छ, त्यति धुँदै जाँदा चहकिलो हुँदै जाने विशेषता रहेछ।

ऊनको मुल्य १५ हजार पर्दोरहेछ। प्रत्येक घरका महिलाले तान लगाएर गलैंचा बुनिरहेको देखियो।

र, तिब्बत सरकारले बनाई दिएको सडक राम्रै देखियो। तर, हिउँ परिरहने हुँदा दैनिक उपभोग्य वस्तुको ढुवानीको भरपर्दो माध्यम याक नै रहेछ।

तिब्बती सुरक्षाकर्मी सीमामा देखियो। पूर्वाधारका संरचनासहित उनीहरू व्यवस्थित ढंगले बसेका रहेछन्। 

यता नेपालतिरका सशस्त्र प्रहरीको सीमा सुरक्षा बल सीमावर्ती टिपताला भञ्ज्याङ् (५ हजार १०० मिटर उचाइ) बाट २३ किलोमिटर तल ओलाङचुङगोलामा रहेछ। 

टिपतालामा भौतिक संरचना अभावले त्यहाँ बसेको थाहा भयो। सीमा सुरक्षाकर्मीको नेतृत्व सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर’ ले गरेका रहेछन्। 

अर्कोतर्फ नाकामा रहेको भन्सार कार्यालय बन्द जस्तै रहेछ । स्थानीय खोल्सोबाट लघु जलविद्युत उत्पादन गरी विद्युतीकरण भएको रहेछ।

यसरी घुम्दाघुम्दै झमक्कै रात पर्यो। हामी होटलतिर लाग्यौं। ‘घ्याम्जाङ नाच’ (पाहुनालाई स्वागत गर्ने स्थानीय शेर्पा परम्परा) को आतिथ्यता ग्रहण गर्यौं। अनि सुत्यौं।

०००
भोलिपल्ट बिहान सबेरै उठेर नित्यकर्म सकेपछि नजिकै डाँडामा रहेको ‘डिकि छयोलिङ गुम्बा’मा दर्शन गर्न पुग्यौं।

यो गुम्बा करिब ४०० पुरानो वर्ष पुरानो मानिँदोरहेछ। स्थानीयले एसियाकै दोस्रो पुरानो गुम्बा भएको दाबी पनि गरे। प्राचीन समयमै माटोको हाते इँटाबाट निर्मित रहेछ।

तीनतले सो गुम्बामा दुर्लभ बौद्ध धार्मिक पुस्तक ‘दोमङ’ ५००० जति रहेछ । पुरातात्विक महत्वले भरिपूर्ण गुम्बामा पूजापाठ दर्शन गरिसकेपछि नजिकै रहेको चौंरी याकको सिङ र ढुङ्गामा कुँदिएको बौद्ध मन्त्रहरू नियाल्यौं।

वपरपर चाहिँ चिमल, लालीगुराँस राताम्मे फुलेका। वारिपारि सेताम्मे देखिने हिउँले ढाकिएका डाँडाहरू। चौरभरी रमाइरहेका चौंरीयाकहरू। आहा ! क्या मजा। क्या रोमाञ्चित।

आँखामा यी रोमाञ्चक दृश्यहरू कैद गर्दै ‘द गड अफ साइट’ उपमा पाएका विश्वविख्यात नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतको गाउँ पुग्यौं। पुग्न पाएकोमा दंग भयौं र फर्केर सदरमुकाम फुङलिङ आयौं।

(नियात्रा लेखक तामाङ घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका उद्योग अधिकृत हुन्)

प्रकाशित: २६ जेष्ठ २०७८ १६:०४ बुधबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी