ब्याडमिन्टन खेलको सामान खरिदमा भ्रष्टाचार भएको निष्कर्ष

ब्याडमिन्टन खेलको सामान खरिदमा भ्रष्टाचार भएको निष्कर्ष


काठमाडौं ।

दश महिना अघि सम्पन्न भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को ब्याडमिन्टन खेलको सामान खरिदमा अनियमितता भएको पाईएको छ । साग प्रतियोगिताको दौरानमा ब्याडमिन्टन खेलाडीको जुत्ता र म्याट खरिदमा अनियमितता भएको भन्दै छानविन गर्न युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई निर्देशन दिएको थियो ।

मन्त्रालयको निर्देशन अनुसार राखेपले भदौ ३ गते बोर्ड सदस्य गोबिन्द भट्टराईको नेतृत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको थियो । समितिले झण्डै डेढ महिना लगाएर तयार पारेको छानविन प्रतिवेदन हिजो (मंगलबार) राखेप सदस्य सचिव रमेशकुमार सिलवाललाई बुझाएको छ । समितिले ब्याडमिन्टनको जुत्ता खरिदमा प्रष्ट रुपमा अनियमितता भएको देखिएको बताएको छ । जुत्ता किन्न खेलाडीको पैसा निकासा भएको तर खेलाडीले सामान नपाएको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

‘ब्याडमिन्टनको जुत्ता खरिदमा प्रष्ट रुपमा अनियमितता देखिएको छ । खेलाडीको जुत्तामा पैसा निकासा भएको छ । तर खेलाडीले पाएका छैनन् ।’ छानविनका एक सदस्यले बताए । समितिले ब्याडमिन्टनको म्याट खरिदमा समेत अनियमितता भएको निष्कर्ष निकालेको छ । ब्याडमिन्टनको म्याच गुणस्तरहिन पाइएको छ । पैसा अनुसारको सामान देखिएको छैन । समितिका सदस्य छानविनको क्रममा स्थलगत निरिक्षणका लागि पोखरा समेत पुगेका थिए । निरिक्षणको क्रममा म्याटको दुर्दशा देखेर आफूहरु चिन्तित बनेको समितिका अर्का एक सदस्यले बताए ।

म्याट खरिदमा लगाईएको आरोपमा आंशिक सत्यता देखिएको छ । तर पोखरामा निरिक्षणको क्रममा ब्याडमिन्टनको हलमा पानी चुहिएको देखियो । म्याट काम नलाग्ने अवस्थामा पुगेको छ । जति रकममा किनेपनि संरक्षण नहुँदा खेलकुद सम्पत्तीको बिजोग देखिन्छ । उनले भने । समितिले छानविनको क्रममा २३ जनासँग बयान लिएर ४१ पेजको प्रतिवेदन राखेप सदस्य सचिव समक्ष बुझाएको छ । समितिले सामान खरिद वितरणमा नीतिगत सुधारको सुझाव दिदै प्रक्रियागत भ्रष्टाचार देखिएको निष्कर्ष निकालेको हो ।

समितिले प्रतियोगिताको दौरानमा राखेप र संघहरु बीच समन्व्यको प्रष्ट अभाव देखिएको बताएको छ । संघका पदाधिकारीसँग छानविनका क्रममा सोधपुछ गर्दा आफूलाई कुनै जानकारी नभएको जवाफ दिएको छ । सबै काम राखेपका कर्मचारीले गरेको हुँदा त्यसको जिम्मेवार पनि उनीहरु नै हुने संघका पदाधिकारीको बयान छ ।

परिषद्का बोर्ड सदस्य सुबास श्रेष्ठले सागमा ब्याडमिन्टनमा खेलाडीको जुत्ता तथा म्याट खरिदमा अनियमितता भएको भन्दै छानविन गर्न माग गरेपछि मन्त्रालयको निर्देशनमा राखेपले छानविन समिति गठन गरेको थियो ।

समितिमा बोर्ड सदस्य भट्टराईसहित अर्जुन बिक, महेन्द्रकुमार राई, नारायण अर्याल, पासाङ शेर्पा सदस्य रहेका थिए । परिषद्ले समितिलाई छानविनका लागि १५ दिनको समय दिएको थियो । तर सरकारले उपत्यकामा गरेको निषेधाज्ञाका कारण छानविन निर्धारित समयमा पुरा हुन पाएको थिएन । लगत्तै राखेपले १५ दिनको समय थप गरेको थियो । समितिले मंगलबार मात्र प्रतिवेदन राखेप समक्ष बुझाएको हो ।

प्रतियोगिता सम्पन्न भएको १० महिना बिते पनि राखेपले सागको खर्च विवरण सार्वजनिक गरेको छैन । कार्यविधिले प्रतियोगिता सम्पन्न हुने बित्तिकै खर्च विवरण सार्वजनिक गर्नुपर्ने उल्लेख छ ।

Skip This
Logo