कविता-‘बा’

कविता-‘बा’


छोरी त पढ्न जा भनेर दिदीको हात समात्न लगाई
आफू हलो र जुवा बोकेर बारीतिर लाग्नु भएको
मेरी छोरीलाई टिफिनको खाजा भनेर
स्याउ र अंगुर पठाएर
आफू

मकैका ठेट्नाहरु चपाउँदै
डोको र नाम्लो बोकेर
पाखातिर लाग्नु भएको
यस्ता दृष्यहरुले मेरा मानसपटल भरिएका छन्
थाहा थिएन

आधा पेट खाएर
मेरा लागि तपाईंहरुले यति दुःख गरिरहनु भएको छ।

अनि

म तपाईंहरुलाई नै दुःख दिएर
मेरा आवश्यकताहरु माग गरिरहेकी थिए।
कति बेला मेरी छोरी आउँछे,
भोकाई होली
के खाई होली
भन्दै
मेरो बारेमा मात्रै सोचेर
म आउने बाटो हेरेर
तपाईंको आँखा टोलाइरहेको

अनि

म घर आइपुग्दा
तपाईंको अनुहार हँसिलो भएको ,

त्यो शरीरले दशै बाहेक कहिल्यै नयाँ लुगा फेर्न पाएन
खाली गोडा
कति काँडा बिझे
तिखा ढुङ्गाले पैताला छिया छिया पारे
अँह
तपाईंलाई कहिल्यै दुखेन

तर
मलाई
स्कुल जाँदा साथीहरूले नगिज्याउन भनेर
मास्टरको  कुटाईले मेरा आँखा नरसाउन भनेर आफू खाली गोडा गएर
मलाई नयाँ जुत्ता किनेर ल्याइदिने तपाईं
च्यातिएको पुरानो लुगा लगाएर
मलाई  नयाँ कपडा ल्याइदिने  तपाईं
आज

आफूलाई निकै भाग्यमानी ठान्छु
बुवाले सिकाउनु भयो सहनशीलता
आमाले सिकाउनु भयो ममता
प्रेरणाको श्रोत हजुरहरु
मलाई म बनाउने
दुनियाँमा कोही छैनन् अरु
खुसी छु

संसारकै भाग्यमानी भएर जन्मिएकी रहेछु
आजसम्म पनि तपाईंको
आँट, हिम्मत, जोस र जाँगरले
मलाई हौसला मिलेको छ
कुनै कार्य गर्दा निडर हुने
कसैसँग नडराउने आँट मिलेको छ।

अरुको नामले होइन
आफ्नै नामले चिनिनु पर्छ
प्रेरणा मिलेको छ ।
बा
आज

मलाई यो स्थानसम्म ल्याइदिनु भएको छ

ऋणी छु
तपाईंको मायाको
पालो मेरो आएको छ
आराम तपाईं गर्नुस्
आवश्यकताहरुको माग गर्नुस्
पुर्याइदिने अब हामी छौँ।

सम्पूर्ण बुवाहरुप्रती नमन
बुवाको मुख हेर्ने दिन विशेष

लेटाङ्ग नगरपालिका वडा नं. ६, मोरङ
(लेखक–नेपाली भाषामा र साहित्यमा स्नातकोत्तर सम्पन्न गरि अहिले अध्यापन कार्यमा सक्रिय छिन्।)
 

Logo