कवि न्यौपानेको कविताले जुटायो वीरबहादुरलाई सहयोग

कवि न्यौपानेको कविताले जुटायो वीरबहादुरलाई सहयोग


शक्तिशाली कविता लेख्ने कविको परिचय बनाएका भोजराज न्यौपानेको कविता ‘सिंहदरवारको रङ’ पढेर अस्ट्रेलियाका युवा व्यवसायी रामजी बस्नेतले सोही कविताका पात्र वीरबहादुर सुनुवारलाई ५० हजार रुपैयाँ सहयोग गरेका छन्।

केही दिनअघि कान्तिपुरमा प्रकाशित समाचारबाट प्रभावित भएर न्यौपानेले वीरबहादुर सुनुवारको विषयमा कविता लेखेका थिए।

‘मैले कविताको लिंक पठाएको थिएँ,’ न्यौपानेले भने, ‘रामजीले मलाई भित्रैदेखि ‘टच’ गर्याे, सहयोग गर्छु भनेर पचास हजार पठाइदिनुभो।’

दोलखाका पुराना नेता वीरबहादुर सुनुवार केही दिनअघि सिंहदरबार पुगेका थिए। एकपटक मन्त्री–प्रधानमन्त्रीसँग भेट्न मन लागेर मन्त्रालय पुगेका उनलाई कान्तिपुरका पत्रकार सुरज कुँवरले सिंहदरबार परिसरमा भेटे। कुराकानी गर्दा थाहा भयो– ९० वर्षका वीरबहादुर आर्थिक सहायता माग्न सिंहदरबार धाएका थिएनन्। ७७ वर्षे पत्नीको उपचार खर्च जुटाउन आफैं रङ लगाउने काम गर्न चाहन्थे। 

पत्रिकामा समाचार पढेपछि भोजराजको कवि मन भत्कियो। उनले वीरबहादुरकै नाममा कविता लेखे–सिंहदरबारको रङ। 

साहित्य पोष्टमा छापिएको यही कविताका माध्यमबाट कविताकै पात्रलाई सहयोग जुट्न पुग्यो। त्यो पनि अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसकै दिन।

छोरी मीना सुनुवारको साथमा आएका वीरबहादुरले आफूलाई माया दर्शाउने सबैप्रति कृतज्ञता प्रकट गरे। 

Logo