आख्यानकार केशरीको उपन्यास ‘दुङाल’ माथि अन्तरसंवाद

आख्यानकार केशरीको उपन्यास ‘दुङाल’ माथि अन्तरसंवाद


आख्यानकार मालिका केशरीद्वारा लिखित उपन्यास दुङालमाथि अन्तरसंवाद सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघको सभाहलमा आज भएको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुले उपन्यास दुङालले उठान गरेको विषयवस्तुमाथि छलफल गरेका थिए। 

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका पूर्वआयुक्त मोहना अन्सारीले लेखकले उपन्यासभित्रका पात्रहरुलाई न्याय गरेको बताइन्। उनले हरेक व्यक्तिलाई आफ्नो भूमि, भाषा, संस्कृतिको माया हुने भन्दै यस उपन्यासले तिब्बती शरणार्थीको मुद्दालाई उठान गरेको बनाइन्। 

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले नेपालले तिब्बती शरणार्थीका बारेमा बिर्सिसकेको भन्दै यस उपन्यासले तिब्बतीको समस्या समेटेको बताए। उनले तिब्बती शरणार्थीको समस्या राजनीतिक समस्या भएतापनि यसलाई राजनीतिको आँखाबाट मात्र होइन मानवीय आँखाबाट पनि हेरिनु आवश्यक रहेको भन्दै दुङालले तिब्बती समस्यालाई मानवीय समस्याको रुपमा हेर्न प्रेरित गरेको बताए। 

हिमालयन बुद्धिजम अन्वेषक डा.रमेश ढुंगेलले तिब्बती शरणार्थीको मुद्दा पछिल्लो समय नेपालमा हराउँदै गएको अवस्थामा यस कृतिले केहीहदसम्म शरणार्थीको मुद्दालाई उजागर गरेको बताए। उनले दुङाललाई आधुनिकतावादमा परम्परा र इतिहासको समिश्रण रहेको बताए। 

कार्यक्रममा टिएन भट्टले यस उपन्यासमा शरणार्थी बन्नुपर्दाको पीडा साथै मानवीय संवेगलाई स्पष्टरुपमा उतारिएको बताए। पत्रकार एवं समीक्षक राजकुमार बानियाँले नेपालमा तिब्बती विषय चीन विरोधीरुपमा लिने गरिएको भएता पनि यस उपन्यासले नितान्त मानवीय संवेग र प्रेमलाई समेटेको बताए।  

कार्यक्रममा तिब्बती शरणार्थी एवं पाठक टाँसी छिरिङले उपन्यासले यथार्थमा आफ्नो कथा समेटेको बताउँदै पहिचान र राष्ट्रविहिन हुँदा धेरै समस्या झल्नुपरेको बताए।  

सांग्रिला बुक्सद्वारा प्रकाशित दुङालको मूल्य चारसय चौरासी रुपैयाँ रहेको छ । केशरीको दुङाल तेस्रो उपन्यास हो।

Skip This
Logo