सयपत्री राष्ट्रिय सम्मान गंगा सुवेदी र लाकोजू दम्पतीलाई

सयपत्री राष्ट्रिय सम्मान गंगा सुवेदी र लाकोजू दम्पतीलाई


महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औं जन्मजयन्तीको अवसरमा सयपत्री प्रतिष्ठान नेपाल जनागालले शनिबार साहित्यकार सूर्यप्रसाद लाकोजू र उनकी श्रीमती सविताकुमारी लाकोजू श्रेष्ठ तथा साहित्यकार गंगा सुवेदी र उनका श्रीमान् दिनेश सुवेदीलाई नगद, सम्मान पत्र, दोसल्ला, फलफूलसहित सयपत्री राष्ट्रिय सम्मान २०७८ ले सम्मानित गरेको छ। 

उनीहरुलाई नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. जगतप्रसाद उपाध्यायले सम्मानित गर्दै सयपत्री प्रतिष्ठानले उपयुक्त पात्रहरू छनौट गरेर सम्मान गरेको बताए। उनले स्रष्टाहरुको साहित्यिक योगदानमा जीवनसाथीको उल्लेखनीय योगदान रहने हुनाले दम्पत्तीसहित सम्मानित गर्ने परम्परा सहि भएको र आफूलाई निकै प्रभावित भएको बताए। र यो ऐतिहासिक कार्य रहेको चर्चा गरे । एक अर्को प्रसंगमा उनले आफूभित्र रहेको नकारात्मक उर्जालाई हटाई चेतनाको दीयो मनमा वालेर समाजको लागि केही गर्नु पर्ने भनाइ राख्दै प्रज्ञा प्रतिष्ठानले निकट भविष्यमा नै महाकवि देवकोटाको संग्रहालय संचालनमा ल्याउने बताएका थिए।

सयपत्री प्रतिष्ठानका सल्लाहकार तथा वरिष्ठ साहित्यकार मोहन दुवालले साहित्यकार एवं साहित्यिक संस्थाले कुनै पनि वादमा नलागी जनताको लागि सेवा गर्नुपर्ने कुरामा जोड दिँदै सयपत्रीले सदैव उत्कृष्ट कार्य गरेकोले आफूले साथ दिइरहेकाे बताए।

कार्यक्रममा सम्मानित साहित्यकार गंगा सुवेदीले सयपत्री राष्ट्रिय सम्मान पाउँदा आफूलाई ४० वर्ष अघि आफ्नो विवाहको स्मरण आएको बताएकी थिइन् भने अर्का सम्मानित साहित्यकार सूर्यप्रसाद लाकोजूले यो सम्मानले आफूलाई थप जिम्मेवार बनाएको र सामाजिक रूपमा आफ्नो अक्षरकर्म अनुमोदन भएको बिचार राखे। कार्यक्रममा सम्मानित स्रष्टाहरुको व्यक्तित्व र कृतित्वका बारेमा वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ “रोदन“ले प्रकाश पारेका थिए भने सयपत्री प्रतिष्ठानका अध्यक्ष राजेन्द्र श्रेष्ठले सयपत्रीको गतिविधि र सयपत्री राष्ट्रिय सम्मानका बारेमा जानकारी दिएका थिए। 

सो कार्यक्रममा नेपाल साहित्यिक पत्रकार महांसघका वरिष्ठ उपाध्यक्ष मातृका पोखरेल, उपमहासचिव चेतनाथ धमला, सयपत्री प्रतिष्ठानका अध्यक्ष राजेन्द्र श्रेष्ठ लगायतले मन्तव्य ब्यक्त गरेका थिए।

Logo