महाकवि देवकोटा कस्ता थिए? यस्ता छन् जान्नै पर्ने रोचक तथ्य (यात्री र पागल कवितासहित)

महाकवि देवकोटा कस्ता थिए? यस्ता छन् जान्नै पर्ने रोचक तथ्य (यात्री र पागल कवितासहित)


नेपाली साहित्याकाशमा महाकवि लक्ष्मीप्रसाद देवकोटाजस्तो उज्जवल नक्षत्र अर्को छैन। उनलाई दिइएको ‘महाकवि’ को उपाधिले नै नेपाली कविता फाँटमा रहेको उनको महत्तम उपस्थितिलाई उद्बोधन गर्दछ। ‘जन्मजात’ कवित्वका साथै देवकोटा गद्य विधामा पनि उत्तिकै फलामे योगदान पुर्याउने व्यक्तित्व हुन्। उनका कृतिहरू संख्यामा जति धेरै छन्, अर्थवत्तामा पनि उत्तिकै उत्कृष्ट छन् र उनका यी कृतिहरूले नेपाली भाषामा मानवतावादी भाव अभिव्यक्त गरिरहेका हुन्छन्। उनको नाम, यश र गौरवपूर्ण लिगेसी नेपालभित्र मात्र सीमित छैन, मुलुकभन्दा धेरै टाढा रसियामा समेत उनका कृतिहरू अझै पढिन्छन् र पाठकहरू आनन्दित हुन्छन्।

व्यक्तिगतरूपमा देवकोटा एक पहेली जस्ता थिए, मानौं उनको एक किसिमको रहस्यमयी व्यक्तित्व थियो। हामीले पढेका र सुनेका छौं, कसरी देवकोटाले एकपटक आफूले लगाएको कोट नै फुकालेर कुनै एकजना भिखारीलाई दिएका थिए। हामीले यो पनि सुनेका छौं, उनी कसरी चुरोटका खोलहरूमा कविता लेखिरहन्थे। देवकोटाले केवल नौ दिनमै आठ सय पृष्ठ लामो ‘शाकुन्तल’ जस्तो महाकाव्य लेखिसिद्ध्याएको प्रसंगबारे पनि हामीले पढेकै छौं। यी बाहेक हामी पाठकहरू समक्ष उनै महाकविका सम्बन्धमा थप दसवटा तथ्य राख्ने प्रयास गरिरहेका छौं–

१. देवकोटा केही लेखिरहेको बेला कस्तो विधि एकाग्र हुन पुग्थे भने थाहा नपाइकन आफ्नै कविताका पानाहरू चुरोटमा बेरिरहेका अथवा सिंगान पुछिरहेका हुन्थे।

२. जुवाका पनि अम्मली मानिएका देवकोटा हार्मोनियम बजाउन रुचाउँथे। हार्मोनियम बजाएरै उनी सिंगो रात बिताइदिन सक्थे।

३. देवकोटा गरिब थिएनन् बरु केटौले पाराका अव्यवहारिक थिए। जतिजति बेला उनीसित पैसा हुन्थ्यो, उनी त्यसलाई कसरी खर्च गरिहाल्ने भनेर सोच्न थाल्थे। एक दिन उनीसित प्रसस्तै रकम हुन्थ्यो तर भोलिपल्ट उनी भोकै सुत्नुपर्ने अवस्थामा हुन्थे। उनको यस्तो बहुलठ्ठीपूर्ण व्यवहारको एउटा प्रमुख कारण उनकी पत्नी मनदेवी थिइन् जो अत्यन्तै धार्मिक प्रकृतिकी थिइन् र धार्मिक कार्यहरू भन्दै अनियन्त्रित रकम स्वाहा पार्ने गर्थिन्। मानवतावादी सोच र स्वभावका महाकविलाई यो पटक्कै चित्त बुझ्दैन थियो, त्यसकारण उनी आफ्नो कमाइको थोरै रकम मात्र घर लिएर जान्थे।

४. सन् १९५३ मा रोमानिया भ्रमणमा गएको बेला महाकविले कम्बल, डसना र तकिया घरबाटै लिएर गएका थिए र हरेक समय आफूसँगै राखेका थिए। स्वभाविक तवरले मानिसहरू उनलाई अनौठो मानेर हेर्थे र उनले आफ्नो ओछ्यान बोकेर हिँडेको देखेर छक्क पर्थे।

५. उनी त्यतिबेला १६ वर्ष पुगेका थिए जतिबेला उनको विवाह मनदेवी चालिसेसित भएको थियो।

६. जतिबेला महाकविले ‘उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक’ भन्ने कविता लेखे, धेरैले उनलाई बहुलाएको आरोप लगाए। तर संयोगवश विक्रमाब्ध २०१६ भदौ २९ गते महाकविको मृत्यु भयो, त्यसै दिन सोभियत संघको लुना–९ नामक यान चन्द्रमामा अवतरण गरेको थियो। मानिस पहिलोपटक चन्द्रमामा पुगेको थियो।

७. पढाइमा अत्यन्त मेधावी महाकविलाई दरबार हाइस्कुलमा पढ्दै गर्दा कक्षा आठबाट एकैचोटि कक्षा दशमा बढुवा गरिएको थियो।

८. भारतको राँचीमा उनको तथाकथित ‘पागलपन’ को उपचार भइरहँदा डाक्टर ओवेन बर्कले–हिलले भनेको थिए, ‘देवकोटा जस्तो प्रतिभा नेपालमा जन्मनु भौगोलिक भूल हो। उनी पागल छैनन्, बरु उनलाई पागल भन्ने र भन्न लगाउने तिमीहरू नै पागल हौ।’

९. देवकोटालाई मदन पुरस्कार दिइएन। वास्तवमा, मदन पुरस्कारको स्थापना गर्ने रानी जगदम्बाले उनी र उनका कृतिहरूबारे थाहा पाएको भए महाकविलाई त्यो पुरस्कार दिने मात्र नभई संरक्षकत्व नै प्रदान गर्ने  थिइन्। महाकविलाई रानी जगदम्बाको निकट जान नदिन अथाह षडयन्त्रहरू भएका थिए।

१०. देवकोटाले कहिल्यै कुनै योजना बनाएर त्यस अनुकूल काम गरेनन्, न त उनले कुनै महत्वपूर्ण निर्णय नै आफैँले गरे। बालसुलभ स्वभाव पाएका देवकोटाले आजीवन त्यही बालसुल निर्दोष चरित्रले दिनसक्ने परिणति भोगिरहे।

महाकवि देवकोटाका यी दुई चर्चित कवितामा के छ त्यस्तो ?

आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती। नेपाली साहित्यजगतका अग्रज तथा महान व्यक्तित्व देवकोटाको जन्म आज लक्ष्मीपूजाको दिन भएकाले नै उनको नाम लक्ष्मीप्रसाद राखिएको हो।

वि.सं. १९६६ कार्तिक कृष्ण औंसीका दिन तिलमाधव देवकोटा र अमरराज्यलक्ष्मी साइँला छोराका रूपमा जन्मेका देवकोटाले दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेको बताइन्छ।

महाकवि देवकोटाका दर्जनौं कृति अझै पनि उत्तिकै चर्चित छन्। देवकोटाले साहित्यका अधिकांश बिधामा कलम चलाएका छन्। मुनामदन सबै भन्दा मन पराइएका कृति हुन्। भारतका महापण्डित राहुल सांकृत्यायनले समेत देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको एउटै रूप भनी टिप्पणी गरेका थिए। नेपालका नाट्यसम्राट बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीनपटक जन्मेको बताएका थिए।

विसं २०१६ मा शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गराउन र  प्रज्ञा–प्रतिष्ठानको स्थापनामा महत्त्वपूर्ण भूमिका खेलेका थिए। देवकोटाको क्यान्सरका कारण बि.सं. २०१६ सालमा निधन भएको थियो।

देवकोटाका चर्चित दुई कविता 

यात्री

कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो
कुन सामग्री पुजा गर्ने, साथ कसोरी लाने हो
मानिसहरूको काँध चढी, कुन देवपुरीमा जाने हो
हाडहरूका सुन्दर खम्बा, मांसपिण्डका दिवार
मस्तिष्कको यो सुनको छाना, इन्द्रियहरूका द्वार
नसा-नदीका तरल तर, मन्दिर आफू अपार
कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरको द्वार र
मनको सुन्दर सिंहासनमा, जगदिश्वरको राज
चेतनाको यो ज्योति हिरण्यमय, उसको शिरको ताज
शरिरको यो सुन्दर मन्दिर, विश्वक्षेत्रको माझ।
भित्र छ ईश्वर बाहिर आँखा, खोजी हिड्छौ कुन पुर
ईश्वर बस्तछ गहिराइमा, सतह बहन्छौ कति दुर
खोजी गर्छौ हृदय लगाऊ, बत्ति बाली तेज प्रचुर
साथी यात्री बीच सडकमा, ईश्वर हिड्छ साथ
चुम्दछ ईश्वर काम सुनौला, गरिरहेका हात
छुन्छ तिलस्मी करले उसले, सेवकहरूको साथ ।

सडक किनार गाउँछ ईश्वर, चराहरूको तानामा
बोल्दछ ईश्वर मानिसहरूका, पिडा, दुस्खको गानामा
दर्शन किन्तु कहिँ दिँदैन, चर्म चछुले कानामा ।
कुन मन्दिरमा जान्छौ यात्री, कुन नवदेश बिरानामा
फर्क फर्क हे १ जाऊ समाऊ, मानिसहरूको पाउ
मलम लगाऊ आर्तहरूको, चहराइरहेको घाउ
मानिस भइ ईश्वरको त्यो, दिव्य मुहार हँसाऊ ।।

पागल

जरूर साथी म पागल
यस्तै छ मेरो हाल।
म शब्दलाई देख्दछु
दृश्यलाई सुन्दछु
बासनालाई संबाद लिन्छु।
आकाशभन्दा पातला कुरालाई छुन्छु।

ती कुरा,
जसको अस्तित्व लोक मान्दैंन
जसको आकार संसार जान्दैन
म देख्दछु, ढुङ्गालाई फूल
जब, जलकिनारका जल चिप्ला ती,
कोमलाकार, पाषाण,
चाँदनीमा,
स्वर्गकी जादूगर्नी मतिर हाँस्दा,
पत्रिएर, नर्मिएर, झल्किएर,
बल्किएर, उठ्दछन् मूक पागलझैँ,
फूलझैँ एक किसिमका चकोर फूल

म बोल्दछु तिनीसँग, जस्तो बोल्दछन् ती मसँग
एक भाषा, साथी
जो लेखिन्न, छापिन्न, बोलिन्न,
बुझाइन्न, सुनाइन्न।
जुनेली गङ्गा किनार छाल आउँछ तिनको भाषा
साथी १ छाल छाल
जरुर साथी म पागल
यस्तै छ मेरो हाल
तिमी चतुर छौ, वाचाल

तिम्रो शुद्ध गणित सूत्र हरहमेशा चलिरहेको छ
मेरो गणितमा एकबाट एक झिके
एकै बाँकी रहन्छ
तिमी पाँच इन्द्रियले काम गर्छौ,
म छैटौँले
तिम्रो गिदी छ साथी
मेरो मुटु।

तिमी गुलाफलाई गुलाफ सिवाय देख्न सक्तैनौ,
म उसमा हेलेन र पद्मिनी पाउँछु,
तिमी बलिया गद्य छौ
म तरल पद्य छु
तिमी जम्दछौ जब म पग्लन्छु,
तिमी सँग्लन्छौ जब म धमिलो बन्छु,
र ठीक त्यसैका उल्टो

तिम्रो संसार ठोस छ।
मेरो बाफ
तिम्रो बाक्लो, मेरो पातलो
तिमी ढुङ्गालाई वस्तु ठान्दछौ,
ठोस कठोरता तिम्रो यथार्थ छ।
म सपनालाई समात्न खोज्दछु,
जस्तो तिमी, त्यो चिसो, मीठो अक्षर काटेको
पान्ढीकीको बाटुलो सत्यलाई

मेरो छ वेग काँडाको साथी
तिम्रो सुनको र हीराको
तिमी पहाडलाई लाटा भन्दछौ,
म भन्छु वाचाल।
जरुर साथी।
मेरो एक नशा ढिलो छ।
यस्तै छ मेरो हाल

Logo