काभ्रेली साहित्यकार सूर्यप्रसाद लाकोजूको ‘पनौती’ प्रकाशित

काभ्रेली साहित्यकार सूर्यप्रसाद लाकोजूको ‘पनौती’ प्रकाशित


काभ्रे जिल्लाको पनौतीमा जन्मेर नेपाली भाषा र साहित्यको लामो समयदेखि सेवा गर्दै नेपालको भूगोल र त्योभन्दा परसम्म आफ्नो ख्याति फैलाइसकेका साहित्यकार हुन् सूर्यप्रसाद लाकोजू। 

विगत पाँच सात महिना यता उनको स्वर्णिम धुन नामक मुक्तक संग्रह, आसामको स्पर्श नियात्रा सङ्ग्रह, घाम फुल्ने याम कविता संग्रह, बालबालिकालाई लक्षित गरी दुई पुस्तक मकरको कथा र स्टोरी अफ मकर प्रकाशनमा आएको छ। हालै पनौतीलाई चिनाउने पुस्तक पनौतीको परिमार्जित र पुनर्लिखित संस्करण पनि प्रकाशनमा आएको छ।   

पनौती नगरपालिकाबाट प्रकाशित सो पुस्तकको लोकार्पण हालै एक कार्यक्रमका बीच पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेले गरे। उनले सो पुस्तकले पनौतीका बारेमा जान्न चाहनेहरूका लागि उपयोगी हुने विचार ब्यक्त गरे। प्राचीन नगर पनौतीको गरिमा उच्च रहेको विचार पनि उनले ब्यक्त गरे। 

प्रकृति र संस्कृतिको संगम स्थलको रुपमा रहेको यो स्थलको धार्मिक गरिमा पनि उच्च रहेको छ। हरेक बाह्र वर्षमा लाग्ने मकरमेला यही स्थानको त्रिवेणी घाटमा लाग्ने गर्दछ। त्यसो त पनौतीलाई उत्तर प्रयाग, पावनधाम, सचीतिर्थ जस्ता उपनामले पनि पुकार्ने गरिन्छ। कहिल्यै भूकम्पले असर नगर्ने सहरको रुपमा प्रसिद्धी कमाएको पनौतीको एतिहासिकता, धार्मिक गरिमा, सांस्कृतिक विविधता, प्राकृतिक सुन्दरता, कला, साहित्य, शिक्षा जस्ता विषयको वरपर पनौती पुस्तक घुमेको छ। सोही कार्यक्रममा मकरमेलासँग सम्बन्धित नेपाल भाषाको गीत पनि लोकर्पण गरिएको थियो। 

कार्यक्रममा प्रमुख प्रशाशकीय अधिकृत इन्द्रप्रसाद अधिकारी, कृतिकार सूर्यप्रसाद लाकोजू, पूर्व नगरप्रमुख सप्तकाजी बुद्धाचार्य, लेखक तुयुकाजी ताम्राकार, संगीतकार सुरेश अधिकारी, रामचन्द्र नास्नानी, पुरूषोतम कर्माचार्य लगायतले मन्तब्य ब्यक्त गरेका थिए।

विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा समेत क्रियाशिल बन्दै आएका छन्। नेपाली साहित्यका विविध विधामा कलम चलाउँदै आएका लाकोजूका कविता, बालसाहित्य, कथा, नियात्रा, निबन्ध जस्ता साहित्यिक विधाका २ दर्जनभन्दा बढी कृति प्रकाशित छन्।

Logo