उपन्यासकार मीरा गोतामेको उपन्यास ‘निती’ माथि परिचर्चा

उपन्यासकार मीरा गोतामेको उपन्यास ‘निती’ माथि परिचर्चा


साहित्यकार मीरा गोतामेको उपन्यास 'निती'माथि समीक्षा गरिएको छ। शनिबार अनामनगरस्थित डालो रेष्टुरेन्टमा आयोजित कार्यक्रममा सो कृतिमाथि समीक्षा गरिएको हो। 

साहित्यिक पत्रकार संघको आयोजनामा भएको कार्यक्रममा विभिन्न साहित्यकार तथा पत्रकारहरुले कृतिमाथि समीक्षा गरेका थिए। उपन्यासकार गोतामेको पहिलो कृति निती नारी विषयवस्तु माथि लेखिएको छ। 

कृतिमाथि समीक्षा गर्दै साहित्यकार दामोदर पुडासैनी किशोरले उपन्यास लेखन गहन विषय भएको र पहिलो प्रयासमै साहित्यकार गोतामेले महत्वपूर्ण काम गरेको बताए । मानिसको जीवनमा साना घटनाक्रमले पनि ठूलो प्रभाव पार्ने विषय उपन्यासमा प्रवेश भएको भन्दै समाज रुपान्तरणमा यसले महत्वपूर्ण भूमिका निभाएको उल्लेख गरे। उनले निती उपन्यास अंग्रेजी साहित्यकार ओहेनरीको कृति पढे जस्तो लाग्ने विचार व्यक्त गरे। उपन्यासलाई अंग्रेजीमा अनुवाद गर्नु पर्ने बताउँदै पुडासैनीले प्रस्तुत भएको भाषा सरल र सहज रहेको बताए।

यस्तै साहित्यकार मणि लोहनीले उपन्यास नितीमा आधुनिक समाजको झल्को भेटिने बताए। यसमा आम पुरुषको स्वभाव भेटिने र मानिसले खोज्ने प्रेम तथा अपूर्णता यसमा देखिएको बताए । उपन्यासमा हरेक घटनाले अब के हुन्छ भन्ने कौतुहता उत्पन्न गराउने हुँदा पठनिय रहेको उनको भनाइ थियो । उपन्यासमा नारीले समाजमा सधैं हार्छन् भन्ने विषय रहेकाले यो यर्थाथपरक जस्तो लाग्ने लोहनीले बताए। 

कृतिमाथिको परिचर्चामा डा.शान्तिमाया गिरीले उपन्यासकार गोतामेलाई समाजलाई शुक्ष्म अध्ययन गर्ने साहित्यकारको उपनाम दिँदै पुस्तकले हरेक पाठकलाई उत्सुकता जगाउने बताइन्। हरेक घटनाक्रमले प्रश्न उब्जाउने र जवाफ पनि सँगै भेटिने उनको भनाइ थियो । समाजमा महिला र पुरुषबीच अझै विभेद रहेको र नारीको हक, हित र विद्रोहको प्रतिक बनेर उपन्यास निती उभिएको बताइन्।

नियात्राकार युवराज नयाँघरेले नितीको उपस्थिती नेपाली साहित्यमा दर्विलो भएको तर्क राखे। उनले नारी समाजको कथानकता यसमा समावेश भएको र उपन्यासमा नेपाली समाजको अन्तरद्वन्द्व भेटिने बताए। पात्रहरु धेरै छन्, विषयवस्तुको उठान ठूलो छ, विद्रोह सानो छ भन्दै यसमा लेखकले ध्यान दिनु पर्ने उनले सुझाव दिए। 

समीक्षा गर्दै उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारतीले कृतिले समाज रुपान्तरणमा उल्लेख्य भूमिका खेलेको बताए । यस्तै अन्तर्राष्ट्रिय नेपाली समाजका केन्द्रीय उपाध्यक्ष बाबा बस्नेतले नेपाली साहित्यको उपन्यास विधामा महिलाहरुको उपस्थिती महत्वपूर्ण रहेको र यसमा मीरा गोतामे र उपन्यास नितीले अर्को ईंटा थपेको बताइन्। 

कार्यक्रममा लेखक स्वयंले आफूले देखेका, भोगेका विषयवस्तुलाई निकै चुनौती मोलेर निती लेखिएको बताउँदै यसले आगामी दिनमा थप जिम्मेवारीबोध भएको उल्लेख गरिन् । आगामी कृतिहरुमा पहिलो कृतिका कमजोरी हटाउँदै अघि बढ्ने उनको भनाइ थियो। 

उपन्यास निती माथि समालोचक प्रमोद प्रधान, नरेन्द्रबहादुर श्रेष्ठ, हिरण्यकुमारी पाठक, पारु तिमल्सिना, रामप्रसाद पन्त लगायतले समीक्षा गरेका थिए । कार्यक्रम साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न भएको थियो। 

Logo