ओमिक्रोन महामारीका कारण नेपाल-भारत साहित्य महोत्सव स्थगित

ओमिक्रोन महामारीका कारण नेपाल-भारत साहित्य महोत्सव स्थगित


काठमाडौंमा आगामी फेब्रुअरी २६-२८, २०२२ मा आयोजना गर्ने भनिएको त्रिदीवसीय नेपाल-भारत साहित्य महोत्सव ओमिक्रोन महामारीको कारण हाललाई स्थगित गरिएको छ। परिस्थिति सहज भएपछि महोत्सवको मिति तोकिने भएको छ। 

महोत्सवका संयोजक साहित्यकार राधेश्याम लेकाली र मेरठ लिटरेचर फेस्टिभल (क्रान्तिधरा मेरठ साहित्यिक महाकुम्भ) आयोजक समितिका अध्यक्ष डा. विजय पण्डितसहितको संयुक्त बैठकबाट सो निर्णय गरिएको हो । 

महोत्सव हाललाई स्थगित गरिए पनि महोत्सवको तयारी भने रोकिने छैन। महोत्सवमा लोकार्पण गरिने स्मारिकालगायतका कामहरु सुचारु रहने महोत्सवका सहसंयोजक नरेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए। यसैगरी कार्यपत्रहरुको तयारी गर्ने जानकारी सदस्य प्रमोद प्रधानले गराए। 

महोत्सवको लागि समितिहरुको निर्माणको कामबारे सचिव मुरारी सिग्देलले र आर्थिक स्रोतको काम नियमित गरिनेबारे आर्थिक समितिकी मन्जिला अनिलले गराए। 

नेपाल भारतबीचको सम्बन्धलाई भाषा साहित्यका माध्यमबाट अझ सुदृढ बनाउने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको हो। 

महोत्सवमा पुस्तक प्रदर्शनी, साहित्यिक परिचर्चा, पुस्तक विमोचन, वरिष्ठ लेखक एवम् संस्कृतिकर्मीसँग साक्षात्कार, लघुकथा वाचन, अनुवाद सत्र, साँस्कृतिक कार्यक्रम, कवि सम्मेलन, स्मारिका प्रकाशन, सम्मान समारोह लगायत हुनेछन् । 

सम्मेलनमा भारतबाट १५० जना साहित्यकारहरूको सहभागिता हुनेछ । साथै नेपालबाट सातै प्रदेशको प्रतिनिधित्व हुनेछ।

Logo