रूपक अलङ्कारको महाकाव्य ‘विश्रान्त’ लोकार्पण

रूपक अलङ्कारको महाकाव्य ‘विश्रान्त’ लोकार्पण


कवि तथा लेखक रुपक अलंकारको नविनतम् महाकाव्य ‘विश्रान्त’ सार्वजनिक भएको छ। शनिबार एक कार्यक्रमका बिच नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रतिष्ठानका सदस्य सचिव प्रा.जगतप्रसाद उपाध्याय, समालोचक प्रा.डा रामप्रसाद ज्ञवाली, समालोचक तथा लेखक महेश पौड्याल र लेखक शैलेन्द्र अधिकारीले कृतिको सार्वजनिक गरेका हुन्। 

फुटकर कविता र निबन्ध लेख्ने अंलकारले पहिलो कृतिका रूपमा महाकाव्य ल्याएका हुन्।

सदस्य सचिव उपाध्यायले नेपालका राजनीतिक नेतृत्वमा देखिएको व्यक्तिवादको चरित्रलाई कृतिले प्रश्न मात्र गरेको छैन, काव्यिक तरिकाले झापड हानेको बताए। कला कृतिको कोटीमा यो महाकाव्य अब्बल रहेको उनले बताए । 

त्यसैगरी समालोचक प्रा.डा.रामप्रसाद ज्ञवालीले महाकाव्यले नेपालको पछिल्लो २५ वर्षमा भएको राजनीतिक परिवर्तनमा एक व्यक्तिले गरेको संघर्षलाई वृहतरुपमा प्रस्तुत गरेको बताए। उनले महाकाव्यमाथि समीक्षात्मक टिप्पणी गर्दै भने, ‘विश्रान्त’ महाकाव्यको काव्यिक र ध्वान्यात्मक हिसाबले पनि उत्कृष्ट रहेको छ। 

डा. ज्ञवालीले महाकाव्यको विषयवस्तुबारे मुख्य पात्रले भोगेको जीवनचरित्र अहिलेको राजनीतिक नेतृत्वको प्रतिविम्ब रहेको प्रकाश पारे। उनले भने, ‘समाजले साहित्यलाई अनुत्पादक ठाने पनि यस कृतिले नेपाली समाजले भोगेको राजनीतिक संघर्षमा एक व्यक्तिको राजनीतिक आरोह–अवरोहमार्फत समाजको चित्रण गरेको छ। 

उनले अहिले लेखकहरू साहित्य र समाजका लागि नभई आफूलाई स्थापित गर्न लागि परिरहेको गम्भीर आरोप लगाए । यसैबीच अलंकारले ल्याएको उक्त कृतिले समाजले नै फरक सिराबाट सोच्न बाध्य बनाउने ठोकुवा गरे ।

यस्तै, समालोचक महेश पौड्यालले सुदूर गाउँबाट अवसरका लागि काठमाडौँ आएको एक पात्रले गर्ने क्रान्ति र त्यो क्रान्तिको मिलन बिन्दुमा पुग्दा के प्राप्त गर्छ भन्ने प्रश्न कृतिले उठाएको बताए। नयाँ समाजको परिकल्पनामा क्रान्तिमा होमिएको एक व्यक्ति क्रान्ति असफल हुँदा अक्सर उसमा नैराश्य पैदा भई कि साधु बन्ने कि आत्महत्या गर्ने भन्दै यस कृतिमा मुख्य पात्र साधु रहेको प्रष्ट्याए। समग्रमा भन्दा यस कृति साधुले सुनाएको वृतान्त नै महाकाव्यको मुख्यविन्दु हो, पौड्यालले भने । 

पछिल्लो समयमा आएका महाकाव्यभन्दा यस महाकाव्यमा फरकपन रहेको उनले बताए । यस महाकाव्यमा परम्परागत शैलीलाई पनि छोडेको छैन भने नयाँ प्रयोग पनि गरेको छु । पौड्यालले भने, ‘यस्तो भन्दै गर्दा कृति त्रृटिरहित भने छैन । कृतिले प्रश्न मात्र गरेको छ । जवाफको खोजी भने गरेको छैन । 

अर्का लेखक तथा समालोचक शैलेन्द्र अधिकारीले विश्रान्त महाकाव्यले वर्तमान नेपाली राजनीतिको विसङ्गत पक्षलाई उजागर गरेको व्यक्त गरे। राजनीतिक परिवर्तन भए पनि जनताको आकांक्षा भने पूरा हुन नसकेको विषय महाकाव्यको विषय बनेर आएको पनि उनले बताए। उनले महाकाव्यको महत्व साहित्यमा व्यापक रहे पनि यसलाई पढ्ने पाठकको कमी किन भइरहेको भन्ने खोजी गर्नेु पर्ने धारणा व्यक्त गरे । नेपालका विश्वविद्यालयमा एकाध महाकाव्यको मात्र पढाई हुन्छ। 

जसले गर्दा हामीले महाकाव्यको महत्वलाई बढोत्तरी गर्न सकेका छैनौं, अधिकारीले भने, ‘महाकाव्य पढ्ने पाठकको वृद्धि गर्न यस कृति सफल हुनेमा म विश्वस्त छु।

महाकाव्यलाई शिखा बुक्सले प्रकाशनमा ल्याएको हो। पुस्तकको मूल्य ३ सय ७५ राखिएको छ।

Logo