उमा पौडेलको पहिलाे कृति ‘घुम्टी’ बिमोचन

उमा पौडेलको पहिलाे कृति ‘घुम्टी’ बिमोचन


उमा पौडेलद्वारा लिखित पुस्तक घुम्टीको बिमोचन गरिएको छ। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा सचिव एकनारायण अर्याल, सुरक्षित आप्रवास परियोजनाका टिम लिडर सीता घिमिरे, लेखक तथा पत्रकार होम कार्की लगायतले पुस्तक बिमोचन गरेका हुन् । घुम्टी रोजगारीका शिलशिलामा विदेशिएका युवाहरू र उनीहरूको पखाईमा बस्ने परिवारको भावना समेटिएको वास्तविक कथा हो।  

घुम्टीको समीक्षा गर्दै पत्रकार कार्कीले प्रायजसो श्रीमानहरू विदेश जानुपर्ने बाध्यता, श्रीमान् विदेशमा हुँदा नेपालमा श्रीमतीबाट हुने धोका र छलकपटका बारेमा मात्रै चर्चा हुने गरेकोमा यो पुस्तकमा श्रीमानलाई कुरेर जीवन बिताएका श्रीमती र परिवारको दुःख समेटिएको बताए। 'सामान्यतया वैदेशिक रोजगारीमा जानेहरूको मात्रै दुःख लेख्ने गरिएको छ, उनीहरूको समस्या मात्रै उठाउने गरिएको छ' कार्कीले भने, 'तर घुम्टीमा विदेशमा आफन्त पठाएर नेपालमा बस्ने परिवारको दुःख र असजिलाहरूको बारेमा उठाइएको छ। नदेखिएको वा नखोजिएको पाटोको उजागर पुस्तकले गरेको उनको भनाइ थियो । 

सुरक्षित आप्रवास परियोजनाका टिम लिडर घिमिरेले घुम्टी वर्तमान समाजको यर्थाथ चित्र बोकेको पुस्तक भएको बताए। घिमिरेले वैदेशिक रोजगारको सामाजिक मूल्य सम्बन्धि विषय उठान गर्दा लैगिंक संवेदनशिलतालाई ध्यान दिनुपर्ने बताउँदै यसबारेमा अझै धेरै कलम चलाउनु पर्ने आवश्यकता रहेको औंल्याए। पुस्तकले आप्रवासनसँग सम्बन्धित महिला तथा बालबालिकाको प्रतिनिधिमूलक कथा बोलेको बताउँदै यसबाट आगामी दिनमा सुरक्षित आप्रवासनको क्षेत्रमा गर्नुपर्ने काम अझै धेरै रहेको देखिएको धारणा राखे।

यस्तै सचिव अर्यालले बैदेशिक रोजगारीमा जानु नेपाली युवाहरूको बाध्यता रहेको बताउदै बैदेशिक रोजगारीको क्षेत्रलाई सकेसम्म सुरक्षित बनाउनको लागि सरकारले काम गरिरहेको बताए। बिदेशबाट फर्किएर आएकाहरूलाई सीप र क्षमताको आधारमा काम गर्ने वातावरण बनाइदिने तथा अनुदान रकम दिने काम सरकारले गरिरहेको बताउँदै सचिव अर्यालले यसले विदेशबाट फर्किएकाहरूको जीविको पार्जनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। घुम्टी जस्ता  पुस्तकले सरकारी निकायलाई नीति बनाउन तथा गैह्रसरकारी संघ सस्थालाई पैरवी गर्नमा सघाउ पुग्ने पनि सचिव अर्यालको भनाइ थियो । 

लेखक पौडेलले सुरक्षित आप्रवासनको क्षेत्रमा काम गर्ने क्रममा भेटिएका पात्र र उनीहरूका कथा आफूले मात्रै सुनेर चित्त नबुझेकाले पुस्तकका रूपमा सबै सामु ल्याएको बताइन्। पुरुषहरूलाई धन कमाउन विदेश पठाएका महिलाहरूले नेपालमा एक्लै संघर्ष गर्नुपर्दाका दुःख,  अझ परिवारका भरोसा मानेका पुरुषलाई उतै गुमाउनु पर्दाको पीडाले विक्षिप्त महिला र उनीहरूको जीवन रक्षाको लागि सबै पक्षले काम गर्नुपर्ने लेखक पौडेलको भनाइ छ। 

लेखक पौडेलको यो पहिलो कृति हो । पुस्तकभित्र विदेश गएका आफन्तको पखाईमा रहेका नेपालका प्रियजनहरूको भावना मिश्रित वास्तविक कथाहरू रहेका छन्। वर्षौंदेखि विदेश गएका श्रीमानको पखाईमा बसेका श्रीमती, बेपत्ता श्रीमानको खोजीमा भौंतारिएका श्रीमती, अनुहारै नचिनेका तर आफ्ना बा को पखाईमा रहेका छोराछोरीका कथा पुस्तकमा छ। धन कमाउन माया गर्ने मनहरू यतै छोडेर गएका युवाहरू र उनको पखाईमा बसेका परिवारबीचको विछोडको कथा पुस्तकमा छ।

Logo