साहित्यकार पवन आलोकको नियात्राकृति “पहाड र लमतन्न समुद्र”को लोकार्पण

साहित्यकार पवन आलोकको नियात्राकृति “पहाड र लमतन्न समुद्र”को लोकार्पण


नियात्रा समाज नेपालले आज डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा आयोजना गरेको नियात्राकार पवन आलोकको नियात्राकृति "पहाड र लमतन्न समुद्र"को लोकार्पण भयो।              

नियात्रा समाज नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा बोल्दै समाजका अध्यक्ष एवं साहित्यकार प्रतीक ढकालले पवन आलेकका नियात्राले पाठकलाई नढाँट्ने दावी गरे। यस्तै समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतमले आलोक नियात्रामा सिधा भन्ने गरेकाले उनका नियात्रा पढ्न पाठकलाई सहज हुने बताए। 

कार्यक्रममा बोल्दै साझा प्रकाशनका महाप्रबन्धक एवं साहित्यकार प्रल्हाद पोखरेलले साझा प्रकाशनको अवस्था बारेमा बताउँदै साझलाई साथ दिन लेखक कविहरुलाई आग्रह गरे। उनले आलोकको नियात्राकृतिले पाठकको मन जित्नेमा आफू विश्वस्त रहेको बताए ।  

यस्तै कार्यक्रममा बोल्दै साहित्यकार किशोर पहाडीले पुराना स्रष्टाहरुका पनि नियात्रा कृतिहरु अध्ययन गर्नु पर्ने बताउँदै आलोकको लेखनशैलीको प्रशंसा गरे।  

यसैगरी कार्यक्रममा बोल्दै साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले लामो साहित्यिक यात्रा तय गरेका आलोकको साहित्यिक सिर्जना लोभलाग्दा भएको बताए। उनले आलाेकसँग कुनै तडकभडक नभएको जिकिर गरे। 

कार्यक्रममा साहित्यकार विधान आचार्यले लेखक आलोकको लेखन प्रवृत्तिको चर्चा गर्दै नियात्राकार इमान्दार हुनुपर्ने बताए। 

यस्तै कार्यक्रममा नियात्राकार जय छाङ्छाले नियात्रामा लेखकले छलछाम गर्ने प्रवृत्ति बढेको बताउँदै, नियात्रामा ढाँट्नु अपराध जस्तै हुने बताए । यसैगरी साहित्यकार श्रीओम श्रेष्ठ रोदनले पवन आलोक प्रतिबद्ध लेखक भएका कारण उनका नियात्रा ढाँटछलबाट टाढै रहेको बताए। 

यस्तै साहित्यकार प्रा.डा. गोविन्दमान सिंह कार्कीले नियात्राकार आलाेक सरल र शिष्ट लेखक भएको बताए । कार्यक्रममा लेखक भारती गौतमले निरन्तर लेख्न सक्नु ठूलो कार्य भएको बताइन् र कवि ठाकुर बेलवासेले पवन आलाेकको जीवन पद्धति जस्तै लेखन सरल र शिष्ट रहेको बताउँदै युवापुस्ताका लागि आलोक अनुकरणीय भएको बताए। 

कार्यक्रममा उपस्थित साहित्यकारहरू प्रतीक ढकाल, प्रल्हाद पोखरेल, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, किशोर पहाडी, विधान आचार्य, श्रीओम श्रेष्ठ, राधेश्याम लेकाली, प्रा.डा. गोविन्दमान सिंह कार्की, जय छाङ्छा, जयदेव भट्टराई, देवीका तिमल्सिना, प्रद्युम्न जोशी, राजेश खनाल, शंकर भारती, भारती गौतम, गीता रेग्मी, ठाकुर बेलवासे, छविरमण सिलवाल, रञ्जना निरौला र रेखा कँडेल, र मुना बोहोरालगायतले संयुक्तरुपमा पुस्तक सार्वजनिक गरेका थिए।

Logo