स्व. पत्रकार पुष्करलाल श्रेष्ठको ‘नेपाल किन बनेन ?’ सार्वजनिक

स्व. पत्रकार पुष्करलाल श्रेष्ठको ‘नेपाल किन बनेन ?’ सार्वजनिक


लोकप्रिय सिने मासिक कामनाका संस्थापक प्रधानसम्पादक तथा नेपाली आधुनिक पत्रकारिताका संस्थापक स्व. पुष्करलाल श्रेष्ठद्वारा विभिन्न समयमा गरिएका सटिक राजनीतिक विश्लेषणयुक्त आलेखहरुको संग्रह ‘नेपाल किन बनेन ?’ नामक पुस्तक सार्वजनिक भएको छ।

स्वर्गीय श्रेष्ठले ‘नेपाल किन बनेन ?’ शीर्षकमा लेखेको लेख नै उनको जीवनको अन्तिम लेख बन्यो, जो २०७५ साल मंसिर १४ मा नेपाल समाचारपत्रमा प्रकाशित भएको थियो । उनको अन्तिम लेखको शीर्षकबाटै किताबको नाम राखिएको हो ।

कामना समूहका संस्थापक श्रेष्ठको तृतीय वार्षिक पुण्यतिथिका अवसरमा सार्वजनिक ‘नेपाल किन बनेन ?’ उनको दोस्रो पुस्तकाकार कृति हो । यसअघि गतवर्ष मंसिर १५ मा कामना समूहको वार्षिकोत्सवका उपलक्ष्यमा ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ यात्रा संस्मरण प्रकाशित भएको थियो । यात्रा संस्मरणमा उनले युरोप, अमेरिका, दक्षिण अमेरिका, अफ्रिका र एसियाका विभिन्न मुलुकको भ्रमणका क्रममा प्राप्त गरेका रोचक र मार्मिक अनुभव एवं अनुभूतिहरु समेटेका थिए  भने ‘नेपाल किन बनेन ?’ ले मुलुकको राजनीतिक तथा सामाजिक प्रवृत्तिगत अवस्थाको विस्तृत चित्रण गरेको छ ।

कामना न्यूज पब्लिकेसन्स् प्रालिद्वारा प्रकाशित यस पुस्तकमा समेटिएका आलेखहरुको विशेषता गहिराइसम्म पुगेर गरिएको तटस्थ विश्लेषण हो। पुस्तकका सम्बन्धमा प्रकाशक तथा कामना न्यूज पब्लिकेसन्स्का प्रमुख कार्यकारी अधिकृत दिरेकलाल श्रेष्ठ भन्छन्, ‘नेपाली पत्रकारिताको उत्थान र मिडिया उद्योगको प्रवर्द्धनका लागि मेरा ड्याडीले एक प्रकारले हामी परिवारका सदस्यलाई नै बिर्सेर जीवन सुम्पनुभएको हो । उहाँका आलेखहरुमा सत्यता र निर्भीक विश्लेषण तथा देशप्रतिको चिन्ता र माया देखेर नै मैले पुस्तकका रुपमा प्रकाशित गर्न आवश्यक ठानेको हुँ।’ किताबमा प्रकाशक श्रेष्ठले पत्रकार पिताका विषयमा दुई मार्मिक लेख पनि समावेश गरेका छन्।

सिईओ श्रेष्ठले ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ कृतिलाई आम पाठकले मन पराइदिएकोमा धन्यवाद पनि व्यक्त गरे। स्वदेश र विदेशको अवस्थालाई तार्किक तथा मार्मिक ढंगले गरिएको तुलनात्मक विश्लेषण, नेपाली पत्रकारिताको विकासमा प्राप्त उपलब्धि र चुनौती, राजनीतिक विकृति तथा पछिल्ला दुई दशकमा स्वदेश तथा विदेशमा घटेका अनेकौं प्रभावशाली घटनाका सन्दर्भ समेटिएको त्यस पुस्तकले कोरोना महामारीलाई चिर्दै राम्रो व्यापार गरेको थियो ।

नेपालको अवस्था बुझ्न चाहने हरेक पाठकका लागि ‘नेपाल किन बनेन’ निकै सहयोगी स्रोत सामग्री हुनेछ । आज देश चुनावको माहोलमा गइसकेको छ। यस पुस्तकमा लेखक श्रेष्ठले विगत ३० वर्षका सन्दर्भलाई समेटेर नेपाल नबन्नुका कारण खोतलेका छन्, जो मतदानमा जान लागेका हरेक नेपालीलाई असल उम्मेदवार छान्न अभिप्रेरक हुनसक्छ। सम्भवतः अविश्वासका साथ मतदानमा उभिन लागेका मतदाताले निर्वाचनमा जानुअघि यस किताबबाट सायद राम्रो मार्गनिर्देशन पाउनेछन्।

किताबमा सञ्चारविद् प्रा. रामकृष्ण रेग्मी, महिला मानवअधिकार अभियन्ता बन्दना राणा, वरिष्ठ पत्रकारद्वय डा. कुन्दन अर्याल तथा देवप्रकाश त्रिपाठी र वरिष्ठ साहित्यकार एसपी आसाबाट लेखक तथा पत्रकार पुष्करलाल श्रेष्ठप्रति अभिव्यक्त धारणाहरु पनि समेटिएका छन् । २०७६ वैशाख ४ गते ६१ वर्षको अल्पायुमै दिवंगत भएका श्रेष्ठ नेपालमा व्यवसायिक विकासका संस्थापक मानिन्छन्। मिडिया उद्योगलाई स्थायित्व प्रदान गर्न चाहने हरेक नेपालीका लागि उनको जीवन बुझ्नका निम्ति पनि यो पुस्तक सहायक हुनेछ।

पुष्करलालले ६० वर्षपछि सक्रिय पत्रकारिता तथा मिडिया व्यवस्थापनको नेतृत्वबाट आंशिक अवकाश लिने र चारवटा किताब लेख्ने जानकारी गराएका थिए। यसमा यात्रा वृत्तान्त, राजनीतिक गतिविधि, आम सञ्चार र आत्मकथा गरि चार विधामा कलम चलाउने र पहिलो पुस्तक ६१औं जन्मोत्सवका दिन २०७६ साल श्रावण २५ गते विमोचन गर्ने उनको योजना थियो । हरेक दिन डायरी लेख्ने उनीसँग पुस्तकका लागि पर्याप्त सामग्री पनि थिए । तर, उनीसँग समय रहेनछ, बीचमै यस संसारलाई छोडेर जानुपर्यो । उनको सोही इच्छा पूरा गर्ने यो दोस्रो प्रयास हो । उनी स्वयंले लेख्ने जीवन–कथा प्रकाशनको सपना उनको जीवनसँगै समाप्त भएको छ, तर बाँकी तीन विधामा उनले लेखेका आलेखहरु कामना समूहसँग सुरक्षित छन्।

कुल ३०० पृष्ठको पेपर ब्याकमा प्रकाशित ‘नेपाल किन बनेन’ किताब मात्र रु. ६०० मा प्राप्त गर्न सकिन्छ। 

Logo