महिलाहरूको कथा समेटिएको ‘म’ कथासंग्रह लोकार्पण

महिलाहरूको कथा समेटिएको ‘म’ कथासंग्रह लोकार्पण


महिलावादी लेखकहरूद्वारा लिखित 'म' कथासंग्रह  दोस्रो श्रृंखलाको लोकार्पण गरिएको छ । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच उक्त कथासङ्ग्रहको लोकार्पण गरिएको हो ।

महिलावादी कथा श्रृंखला अन्तर्गत लुम (तान नेपाल)ले उक्त पुस्तक प्रकाशन गरेको हो । 'म' कथासङ्ग्रह अघिल्लो महिलावादी कथाको निरन्तरता हो । यसअघि 'म' कथासङ्ग्रहको पहिलो श्रृंखला प्रकाशन भइसकेको छ । जसमा महिलावादी लेखकहरूका जीवन जिउने शैली र सङ्घर्ष समेटिएका छन् । 'म कथा लेख्छु' भनेर लेखिएका यी कथाहरूले महिलाका अन्तरसम्बन्ध पहिचान र सवालहरूबारे महिलावादी आन्दोलनहरूलाई जानकार गराउँदै सोही अनुरूपका एजेन्डा तयार गर्न सहयोग पुर्‍याउने अपेक्षा रहेको लुमका अध्यक्ष ज्योत्स्ना मास्केले जानकारी दिइन् ।

लोकार्पण कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगकी सदस्य सलोनी प्रधान सिंहले महिलाहरूको जीवनभोगाई समेटिएको कथासङ्ग्रले अब महिलाहरूले पनि आफ्ना संघर्षका कथाहरू बाहिर ल्याउनुपर्छ भन्ने सन्देश दिएको बताइन् । अधिकारकर्मी मोहना अन्सारीले महिलाको कुरा आउँदा जात, धर्म, भाषा, वर्गको कुरा नभएर महिला भएर मात्र विषयको उठान हुने बताइन् । महिलाका कथा बाहिर आउने समस्या रहेको भन्दै उनले अब बिस्तारै महिलाका कथाहरू पनि बाहिर आउनेक्रम सुरु भएको बताइन् ।

अधिकारका क्षेत्रमा क्रियाशील देशभरका महिला लेखकहरूले लेखेको कथासङ्ग्रमा १३ वटा स-साना कथाहरू समेटिएका छन् । पुस्तकको सम्पादन कैलाश राईले गरेकी छिन् भने भाषा सम्पादन वन्दना ढकालले गरेकी छिन् ।

Logo