‘मालामा नउनिएका फूलहरू’ : अनुभूतिको अनमोल सङ्गालो

‘मालामा नउनिएका फूलहरू’ : अनुभूतिको अनमोल सङ्गालो


  • लक्ष्मीकिशोर सुवेदी

हामी कस्तो समाज चाहन्छौँ ? निःसन्देह हरेक मानिस सभ्य,आदर्श र मानवीय आचारले परिपूर्ण समाज चाहन्छ । अनि, हामीले चाहे जस्तो समाज कसरी बन्छ ? समाज त्यतिबेला मात्र सभ्य र आदर्श बन्छ, जतिबेला समाजका सबै मानिसका व्यवहार सभ्य र आदर्श हुन्छन्,जब हामी सबै मान्छे सुध्रिन्छौ, वास्तवमै हामी सबै मान्छे, मान्छे बन्छौँ । यस्तो समाजको निर्माणको आरम्भ आफूबाट हुन्छ तर हामी आफ्नो व्यवहार आदर्श हुन् कि नहुन् समाज भने आदर्श चाहन्छौ । यसको अर्थ हो–हरेक मान्छे आदर्श समाज निर्माणको काम अरूबाट आरम्भ गर्न चाहन्छ । अर्थात्, समाजको सुखद परिवर्तनकालागि आफू परिवर्तन हुनुपर्ने अन्तिम मान्छे हुन चाहन्छ । यही कारण हामी आदर्श समाज निर्माणको लक्ष्य पुग्न सकेका छैनौँ र सजिलै पुग्न सक्ने पनि देखिँदैन । 

आजको प्रसङ्ग लोकप्रिय स्रष्टा डा. खगराज बरालद्वारा लेखिएको पुस्तक ‘मालामा नउनिएका फूलहरू’सँग सम्बन्धित छ । अनुभूतिको सँगालोका रूपमा आएको, शिखा बक्सद्वारा प्रकाशित कुल ३२४ पृष्ठको यस पुस्तकमा फरक फरक स्वादका २० ओटा आलेखहरू रहेका छन् । यी आलेखहरूफरक फरक रङ्ग र सुगन्धका कुसुम भए पनि आदर्श समाज निर्माणको बृहत् उद्देश्यको मिहिन धागोमा यी सबै उनिएर एउटा सुन्दर पुष्पहार झैँ देखिन्छन् । यसो भन्दै गर्दा मैले पुस्तकको शीर्षकमा राय बझाएको किमार्थ होइन तर एउटा फराकिलो उद्देश्य र सिलसिलामा यी सबै फूलहरूविशिष्ट लय, मधुर मकरन्दका साथ मोहक आकारमा समेटिएका छन् भन्न खोजेको मात्र हो ।यस कृतिमार्फत लेखक बरालले आदर्श समाजको निर्माणको आफ्नो पावन उत्कण्ठा प्रकट गरेका छन् ।

अब, पुस्तकको सार संक्षेप तर्फ लागौँ । ‘आमा बाबुका कुरा’ शीर्षकको पहिलो आलेखले ज्यान न्यौकावर गरेर सन्तानमाथि माया पोख्ने, आफ्नो सबै खुसी थाँती राखेर लालन पालन गर्ने आमाबाबु बुढेसकालमा उपेक्षा, अपमान र एक्लोपनको सिकार हुने सामाजिक परिवेशको हृदय विदारक तस्बिर प्रस्तुत गर्दै सन्तानको यो प्रवृत्तिमाथि प्रहार गरेको छ । आमाबुबाका साथ रहेका सन्तानले ‘मैले आमाबाबु पालेको छ’ु भन्नु आमाबाबुको अपमान हो । यसलाई ‘म आमा बुबासँग छु’ अथवा ‘मैले आमाबुबासँग रहने सौभाग्य पाएको छु’ भन्नु उत्कृष्ट हुने कुरा लेखकले सुझाएका छन् । आमाबाबुका नाममा अवसर,सुविधा र सहानुभूति लिने तर तिनै आमाबाबुलाई उपेक्षा, अपमान, अवहेलना गर्ने सन्तानप्रति लेखकले कडा शब्दमा विमति राखेका छन् । 

     ‘हिजो र भोलि’ शीर्षकको दोस्रो आलेखमा हिजोका बालकले हुर्किँदा प्राप्त गरेको परिवेश र आजका बालकले भोग्दै गरेको परिवेश बिलकुल भिन्न भएको उल्लेख गर्दै लेखक भन्छन्– आजका बालकले अत्याधुनिक सुविधा अवश्य भोग गरून् तर आफ्नो मौलिक संस्कृति,परम्परा र नेपालीपन नभुलुन् । त्यसमाथि गर्व गर्न सिकुन् । आफ्नो पुर्खा, मातापिता, राष्ट्र र समाजप्रति आदर गर्न सिकुन् ।झगडा र विवादजन्यतर्कभन्दा सिर्जनात्मक प्रश्नहरू गर्न सिकुन्  । तेस्रो आलेख ‘बिहाका कुरा’मा लेखकले धरामा मानिसको जैविक निरन्तरता र एउटा सामाजिक पारिवारिक भूमिका निर्वाहका लागि हरेक मानिसले बिहा गर्नुपर्ने बताएका छन् । त्यस्तै, बिहाले सकारात्मक सामीप्य, उत्साह र उर्जा मात्र होइन, पेसागत र व्यावसायिक जीवनमा सफलताका लागि समेत मद्दत गर्छ भन्ने कुरा उनले प्रस्ट्याएका छन् । 

‘खाना सबैको लागि’ शीर्षकको चौथो आलेखमा लेखक भन्छन् –‘अरू सबै दानभन्दा अन्न(खाना)दान उत्कृष्ट दान हो किनभने अरू दानमा जति पायो प्रापकमा उति धेरैलालच बढ्छ तर खानादान मात्र एउटा यस्तो दान हो, जसमा दान पाउने मान्छे एउटा विन्दुमा पुगेर पूर्ण तृप्त हुन्छ र थप प्राप्तिको आशा राख्दैन ।’‘वर, पिपल र समी’ शीर्षकको पाँचौँ आलेखमा वर,पिपलको वैज्ञानिक तथा सांस्कृतिक महत्त्वको बयान गर्दै त्यसलाई उमार्ने विधिबारे उल्लेख भएको छ । यस सवालमा सुर्खेतका प्रधानाध्यापक नारायण सिग्देलको प्रेरक अनुभव समेटिएको छ ।

‘कृष्णसारको कष्ट’ शीर्षकको छैटौँ आलेखमा बर्दियाको कृष्णसार संरक्षण क्षेत्र भ्रमणको अनुभवसँगै कृष्णसारबारेको धार्मिक विश्वास, तिनको आनीबानी, विशेषता सम्बन्धमा बताइएको छ । सातौँ आलेख ‘कुकुरका कुरा’ शीर्षकमा छ । महाभारतको प्रसङ्गबाट सुरु भएको यो आलेखले कुकुरका कष्टहरू, घरपालुवा र भुस्याहा कुकुरमा फरक, भुस्याहा कुकुरको संरक्षण र व्यवस्थापनमा रवि कर्माचार्यले गरेको पावन कार्य र उनमा रहेको जनावरप्रतिको प्रेमको मार्मिक बयान छ । कुकर पाल्दा पालन कर्ताले गर्नुपर्ने न्यूनतम प्रबन्ध, कुकुरका गुण र लाभको बारे पनि यस आलेखमा बताइएको छ । ‘मृगसँग बातचित’ शीर्षकको आठौँ आलेखमा केन्याको नौरेवी नेसनल पार्क भ्रमणको अनुभव र त्यस अवधिका मृगसँग भएको काल्पनिक संवाद रहेको छ । मृगसँगको मनोसंवादमार्फत लेखकले मान्छेमा रहेका ह्रिंसक र प्रकृति विरोधी प्रवृत्तिको आलोचना गर्दै जीवजन्तुको संरक्षणमा पक्षमा मर्मस्पर्शी ढङ्गमा आवाज बुलन्द गरेका छन् । यसमा मृगवाणीमार्फत् नेपालले भोगिरहेको बाल मृत्यु, मातृ मृत्युदर आदि समस्याबारे बताइएको छ ।

‘अतिथि आसनमा अलमल’ शीर्षकको नवौँ आलेखमा लेखकले नेपालीहरूमा रहेको कार्यक्रमको प्रमुख अतिथि बन्ने लालशाप्रति व्यङ्ग गर्दे व्यक्तिको महत्त्व ऊ कुन दर्जाको अतिथि कुर्सीभन्दा विराजित छ भन्दा पनि अतिथिको त्यो कुर्सीबाट उसले कुन र कस्तो विचार सम्प्रेषण गर्छ भन्नेमा हुन्छ भन्ने कुरा बताएका छन् । अतिथिको कुर्सीक्रम, आसन ग्रहणको प्रबन्धप्रति आक्रोशित भएर अतिथिले कार्यक्रम बहिष्कार गरेको, पुरै कार्यक्रम भाँडिएको अनुभव यदाकदा म आफैँले पनि भोगेको छु ।कार्यक्रममा अतिथि कुन ठुलो भन्नेमा मेरो एउटा मान्यता छ–‘राष्ट्रपति, प्रधानमन्त्री वा अरू कुनै सम्मानित व्यक्तित्वहरू जन्ती पक्षमा रहेका हुन सक्लान् तर छोराको बिहामा सम्धी भेटको सम्मान बेहुलाका बाबुले नै पाउँछ र पाउनुपर्छ । त्यसैले अतिथि को ठुलो भन्ने कुरा कार्यक्रम कसले गरेको र कुन प्रकृतिको हो भन्नेमा आधारित हुनुपर्छ । 

दशौँ आलेख ‘विद्वान र बुद्धिजीवी’ले पर्यायका रूपमा प्रयोग हुँदै आएका यी दुई शब्दको अर्थ खुट्याएको छ । वास्तवमै यी दुई फरक कुरा हुन् । विद्घान बुद्धिजीवी नहुन सक्छ र हरेक बुद्धिजीवीसँग औपचारिक शिक्षा र विद्वता नहुन पनि सक्छ । लेखक भन्छन्–‘विद्वानहरू जानकारी(दिमाग)बाट काम गर्छन् भने बुद्धिजीवीहरू विवेक(मुटु)बाट । त्यसैले विद्वानभन्दा बुद्धिजीवी माथिल्लो कोटिमा पर्छ ।’

‘के राम्रो के नराम्रो’शीर्षकको एघारौँ आलेखमा लेखकले मृत्यु संस्कारमा रहेका समाजगत भिन्नताको कुरा उठाएका छन् । शव यात्रामा शङ्ख फुक्ने, गुहार भन्ने र मलामीलाई दक्षिणा दिने जस्ता प्रचलनहरू र तिनको अन्तर्यका प्रसङ्ग यसमा समेटिएका छन् । ‘अपरिचित परिचित भएपछि’ शीर्षकको बाह्रौँ आलेखको मूल कथा दृष्टिविहीन डिबी सरको संस्मरणको रूपमा रहेको छ । यस आलेखमा डिवी सरको प्रतिभा, मानवीय भावना, सजग,सभ्य र सुकोमल व्यवहारका प्रसङ्ग जोड्दै लेखकले आफूभित्र रहेको सच्चा र सहृदयी मानव स्वरूपलाई सुन्दर ढङ्गबाट प्रकट गरेका छन् । यो आलेख निकै मर्मस्पर्शी छ । ‘तीन पोर्टको रहर’शीर्षकको तेह्रौँ आलेखले नेपालीले राख्ने वैदेशिक यात्राको अतिशय लालशा र त्यसको वितरणमा अख्तियारवालाबाट हुने गरेका पक्षपातलाई उदाङ्ग पारेको छ । साथै यसमा कुनै तालिम, गोष्ठी वा सेमिनारमा सहभागी हुन जाँदा कार्यक्रमको मूल विषयभन्दा घुम्ने, किनमेल गर्ने र फोटो खिच्ने काममा बढी रुचि राख्नेनेपाली प्रवृत्तिमाथि प्रहार गरिएको छ ।

‘अमेरिकी प्रोफेसरको सरल मन्तव्य’ शीर्षकको चौधौंआलेखमा उक्त प्रोफेसरले उठाएको‘क्याचर इन द राइ’  शीर्षकको पुस्तकको प्रसङ्ग जोड्दै आजको संसार अपशब्दले ग्रसित छ भन्ने सार लेखकले प्रकट गरेका छन् । यस आलेखमा शिक्षालय,शौचालय, मठ मन्दिर र बिरुवामा अपशब्द लेख्ने हाम्रो प्रवृत्तिप्रति लेखकले तीव्र विमतिराखेका छन् । ‘बालीको वास’ शीर्षकमा रहेको पन्धौं आलेखले इन्डोनेसियाको बाली भ्रमणको अनुभव समेट्दै हरेक समाजले आफ्नो संस्कृतिप्रति गर्व गर्न सिक्नुपर्ने सन्देश दिएको छ । जातीय विभेदरहित समाजअन्तर्गत जातीय शुद्धता र नस्ल संरक्षणको प्रसङ्ग अनौठो र घत लाग्दो छ । यस आलेखले विकास र पर्यटन प्रबद्र्घनका कुरा पनि उठाएको छ । 

सोह्रौँ आलेख ‘फिलिपिन्सको सङ्घीयता’ शीर्षकमा छ । विकेन्द्रीकरणको उत्तम अभ्यास भएको एकात्मक मुलुक फिलिपिन्सले क्षेत्रीय विकास र शासनमा सबै तप्का, वर्ग र भावनाको सहभागिताका लागि सङ्घीय स्वरूपमा जान अध्ययन थालेको प्रसङ्ग यसमा रहेको छ ।साथै, यस आलेखले फिलिपिन्सको स्वतन्त्रता आन्दोलन र राजनीतिक इतिहासको संक्षिप्त विवरण समेटेको छ । सत्रौँ आलेखको रूपमा ‘संसद् विघटनदेखि संसद् विघटनसम्म’ शीर्षकमा छ ।  यस खण्डमा २०५१ सालदेखि २०७७ सालसम्म भएका संसद् विघटन र सरकार निर्माणका कुराहरू उल्लेख छन् । बारम्बारको संसद् विघटनका कारण देशका उत्पन्न भएको अस्थिरताले विकास र लोकतन्त्रप्रतिको जनआस्थामा मात्र धक्का पुगेको मात्र होइन, लेखक जस्तै आम पेसाकर्मीले समेत त्यस बापत अनाहकमा प्रताडित हुनु परेको वास्तविकता यस आलेखमा उल्लेख छ ।

अठारौँ आलेख ‘नेपालको शिक्षा मेकालेको मनोमानी’ शीर्षकमा छ । यस आलेखमार्फत लेखकले भनेका छन्–‘ब्रिटिस भारतमा आएको मेकालेको शिक्षा पद्धति त्यताबाट नेपालसम्म छि¥यो  । यस पद्धतिले पठित नेपाली युवा पुस्तामा उद्यमशीलताभन्दा जागिरे प्रवृत्तिको विकास ग¥यो । यसले सदियौँदेखि प्रचलित गुरुकुल शिक्षा पद्धतिलाई मात्र विस्थापित गरेन, पूर्वीय दर्शन, साहित्य र संस्कृतिमाथि अतिक्रमण गरी त्यसको स्थानमा पश्चिमा दर्शन, साहित्य र संस्कृति थोपरिदियो । यसैको घातक परिणाम आजसम्म पनि हामी भोगिरहेका छौं । यसमा पुनर्विचार नगरेसम्म हाम्रो अधोगति रोकिने छैन । ’

उन्नाइसौँ आलेख ‘वैदिक दर्शन: गुरुकुलीय शिक्षाको आधार’ शीर्षकमा रहेको छ । यस आलेखमा लेखकले वैदिक दर्शन के हो ? वैदिक ग्रन्थहरू कसरी लेखिए ?परापूर्व कालदेखि ज्ञानको वितरण र हस्तान्तरण कसरी हुँदै आयो जस्ता विषयमा गम्भीर विचार व्यक्त गरेका छन् । वैदिक कालमा ऋषि मुनिहरूले तपस्या र ध्यानबाटै ज्ञान आर्जन गरेको प्रसङ्गसँगै यस आलेखमा लेखकले बुद्धको ज्ञान प्राप्ति, चार आर्यसत्य, अष्टाङ्गिक मार्ग, पञ्चशीलका कुरा उल्लेख गरेका छन् । ब्रह्म, मोक्ष आदिलाई परिभाषित गर्दै योग र ध्यानको महत्त्व समेत बताएका छन् । 

अन्तिम तथा बिसौँ आलेखको शीर्षक ‘अदावी’ छ ।यो आलेख असाध्यै मार्मिक छ । यस खण्डमा लेखकले आफूले नपाउने सुविधा र सेवाका लागि दाबी गर्ने हामी नेपालीको प्रवृत्तिमाथि प्रहार गर्दै देशको उन्नतिका लागि हामीमा अदावी अर्थात् त्यागको संस्कृतिको विकास जरुरी भएको सन्देश दिएका छन् ।  दधिची, शिवी, राम, कर्ण, हरिश्चन्द्र, वलि, युधिष्ठिर लगायतका पौराणिक पात्र देखि सर्वोच्च नेता गणेशमान, लालबहादुर शास्त्री, नेल्सन मण्डेला हुँदै शिव कङ्गाल र लोकबहादुर लामासम्मका व्यक्तित्वहरूका त्यागका प्रेरक प्रसङ्ग लेखकले समेटेका छन् । यस आलेखले पाठकलाई अदावीका लागि राम्ररी प्रोत्साहित गरेको छ ।

वास्तवमा व्यक्ति आफू नसच्चिएसम्म समाजको सुधार सम्भव छैन भन्ने सारका साथ उनले यस कृतिमार्फत आदर्श समाज निर्माणको आफ्नो तीव्र चाहना र परिकल्पना प्रस्तुत गरेका छन् । यसमा आम मानिसले पालना गर्न नसक्ने कुराहरू कुनै छैनन् । त्यसैले, यो पुस्तक अनुभूतिको अनमोल सङ्गालो हो भन्ने म ठान्दछु । पुस्तक सरल र सरस छ । पठनीय र सङ्ग्रहनीय छ । यस अघि मलाई लेखक बरालका ‘सिकाइ र सहयोग’, ‘सिकाउने शैली’ जस्ता अनुभूतिजन्य कृति तथा यथार्थ घटनमा आधारित औपन्यासिक शोक रसको कृति ‘स्यानी’ पढ्ने सौभाग्य मिल्यो । यी सबै एक पटक पढ्नै पर्ने कृतिहरू हुन् भन्ने मेरो बुझाइ छ । यो नयाँ कृतिका लागि लेखक बराललाई धेरै धेरै बधाई । उनका थप कृतिहरू लगातार पढ्न पाइयोस् । सफलताको अशेष शुभकामना  ।

Logo