भीसीटीएस प्रणालीको जानकारी अभावमा साना व्यवसायी अन्योलमा

भीसीटीएस प्रणालीको जानकारी अभावमा साना व्यवसायी अन्योलमा


वीरगन्ज,
व्यवसायी महेशचन्द्र पटवाल सुनचाँदीको गरगहना राख्ने डिब्बा, लत्ता कपडा तथा घरायसी सामानको व्यापार गर्छन् । सरकारले साउनदेखि लागू गरेको भेइकल एण्ड कन्साइन्मेन्ट ट्र्याकिङ सिस्टम (भीसीटीएस) लागू गरेपछि बिल कसरी काट्ने भन्ने अन्योलताले गर्दा वीरगन्ज उद्योग वाणिज्य संघमा पुगे । तर वीरगन्ज उद्योग वाणिज्य संघमा पनि त्यसको विषयमा कुनै जानकारी नभएकाले उनले त्यहाँबाट समस्याको हल पाउन सकेनन् ।

आइतबार दिउँसो पिताम्बर ब्याग उद्योगका विनयकुमार आन्तरिक राजस्व कार्यालय वीरगन्जमा पुगे । शिवशक्ति केमो प्लास्टबाट खरिद गरेको बोरा उनले अन्य ठाउँमा पठाउनुपर्ने थियो । नयाँ नियम अनुसार विल चलानी काट्ने जानकारी नभएपछि शिवशक्ति केमोप्लास्टबाट अनलाइनमा दर्ता गरेको बिल सहित उनी आन्तरिक राजस्व कार्यालय पुगेका हुन् । त्यहाँ उनले कार्यालयका कर अधिकृत समक्ष आफूले माल पठाउने पर्ने भएकोले विल कसरी काट्ने ? कसरी पठाउने भन्ने जानकारी लिन खोजे । आन्तरिक राजस्व कार्यालयबाट पनि शिवशक्ति केमोप्लास्टबाट अनलाईन दर्ता गरिएको चलानी स्क्यानिङ गरेर हेर्ने प्रयास भयो । तर, आन्तरिक राजस्व कार्यालयका कर्मचारीले पनि त्यसको प्राविधिक जानकारी नभएकोले राजस्व अनुसन्धान कार्यालय पथलैयामा सम्पर्क गर्न सुझाव दिए ।

यी दुई व्यावसायीहरू प्रतिनिधिपात्र मात्रै हुन् । उनीहरू जस्ता सयौं साना व्यवसायी यस्तो समस्या लिएर वीरगन्ज उद्योग वाणिज्य संघ र आन्तरिक राजस्व कार्यालयमा धाउने गरेका छन् । तर, समस्याको समाधान भने पाउन नसक्दा निराश हुने गरेका छन् । सरकारले पूर्वाभ्यास विनानै एक्कासी यस्तो नियम लागू गर्दा साना व्यावसायीहरूलाई यस्तै समस्या बेहोर्नुपर्ने गुनासो गरेका छन् । भेइकल कन्साइन्मेन्ट ट्र्याकिङ सिस्टम (भीसीटीएस) लगाउनुभन्दा अघि यसको बारेमा पर्याप्त जानकारी नगराउँदा यस्तो समस्या आएको व्यावसायीहरू बताउछन् । राजस्व अनुसन्धान विभागले यसका लागि कुनै हेल्पडेस्क (सहायता कक्ष) हरू पनि राखेको छैन । व्यवसायीहरूलाई भीसीटीएसको प्रत्यक्ष प्राविधिक जानकारी लिनुपरेमा बाराको पथलैया स्थित राजस्व अनुसन्धान कार्यालयमा नै पुग्नुपर्ने बाध्यता छ ।

यस्तै झन्झटका कारण व्यवसायीहरूले यसको विरोध गरेका हुन् । समस्या पर्दा सहज रूपमा बताईदिने सहायता कक्ष भए व्यवसायीहरूलाई पनि सजिलो हुने उनीहरूको भनाइ छ । तर, राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख अनुसन्धान अधिकृत राजनकुमार विसीले भने यसमा खास समस्या नरहेको दाबी गर्छन् । उनले चलानी विलहरू पहिले जस्तै काट्दै जाने र कम्प्युटरमा अपलोड गरेर पठाउनुपर्ने बताए । उनका अनुसार विल चलानी काट्दा पहिले जसरी काटेको हो सोही अनुसार विल निरन्तर काट्दै जाने र कहाँ को मार्फत पठाउनुपर्ने हो त्यसलाई कम्प्युटरमा अनलाइन दर्ता गर्नुपर्ने बताए । थोक विक्रेता हो र सामान ढुवानी आफैंले गर्ने हो भने, आफैंले कम्प्युटरमा अपलोड गर्ने तथा ढुवानी व्यवसायीमार्फत ढुवानी गर्ने हो भने, ढुवानी व्यवसायीमार्फत कम्प्युटरमा अनलाइन दर्ता गर्नुपर्ने बताउँछन् ।
कारोबारबाट

Logo