चन्द समूहको गतिविधि बढेको आशङ्कामा हुम्लाका गाउँ-गाउँमा सुरक्षा गस्ती शुरु

चन्द समूहको गतिविधि बढेको आशङ्कामा हुम्लाका गाउँ-गाउँमा सुरक्षा गस्ती शुरु


हुम्ला ।

पछिल्लो समय हुम्ला जिल्लामा राज्यबाट प्रतिबन्धित नेत्रविक्रम चन्द समूहको गतिविधि बढेको आशङ्कामा तीनवटै सुरक्षा निकायले आफ्नो गस्ती परिचालनलाई बढाएको छ । जिल्लाको शान्ति, सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय हुम्ला र सशस्त्र प्रहरी बल हुम्लाले संयुक्तरूपमा नागरिकको सुरक्षाका लागि गाउँस्तरसम्म पहिलोपटक गस्ती परिचालन शुरु गरेको छ ।

सशक्तरूपमा सुरक्षा सतर्कता बढाउन संयुक्त टोली मङ्सिर ६ गतेदेखि विकट गाउँमा सुरक्षा गस्ती गर्न थालेको सशस्त्र प्रहरी बल हुम्लाका प्रहरी नायब उपरीक्षक मोहन विष्टले जानकारी दिए । पहिलोपटक मङ्सिर ६ गतेदेखि जिल्ला सदरमुकामबाट परिचालित टोली तल्लो क्षेत्रको सर्केगाड लगायतका गाउँसम्म गस्ती गरेर सिमकोट फिर्ता भएको छ भने पुनः जाने तयारी भइरहेको विष्टले जानकारी दिए ।

पन्ध्र नेपाल प्रहरी र १५ सशस्त्र प्रहरी बलका गरेर ३० जना सुरक्षाकर्मीको टोलीले केही दिन अगाडि गाउँसम्मै गस्ती गरेर सदरमुकाम फिर्ता भएको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए। जिल्ला प्रहरी कार्यालयले हुम्ला हरपल जनताको सुरक्षा लागि सधैँ तत्पर रहेको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेर केही दिनमा पुनः गाउँस्तरसम्म गस्ती परिचालन गरिने भएको छ । केही दिन अगाडि सदरमुकाम सिमकोटस्थित कृषि विकास कार्यालयको मूलगेटमा दुईवटा सकेट बम राखिएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले आफ्नो गस्तीलाई बढाएका छन् । गाउँगाउँमा सुरक्षा गस्ती परिचालन भएको हुम्लामा पहिलोपटक हो ।रासस

Logo