एकैसाथ कविता र गजल कृति लिएर आए मोफसलका स्रष्टा दयाल

एकैसाथ कविता र गजल कृति लिएर आए मोफसलका स्रष्टा दयाल


मोफसलमा रहेर निरन्तर साहित्य साधनामा सक्रिय कवि एवं गजलकार कर्ण दयालका नवीतम दुई कृति बजारमा आएका छन् । दयालका पछिल्ला दुई कृति ‘बेवारिसे लौरो’ कवितासंग्रह र ‘लकडाउन’ गजलसंग्रह हालै प्रकाशित भएका हुन् ।

बैतडीमा रहेर राष्ट्रिय विषय र जनजीविकाका सवालहरु टपक्क टिपेर सृजनामा ढाल्ने स्रष्टा दयालका पछिल्लो समय सृजित रचनाहरू उल्लेखित कृतिमा समाविष्ट छन् ।  

समाजका विभिन्न पक्षहरू –सामाजिक, सांस्कृतिक, आर्थिक, नैतिक एवं राजनीतिक पक्षका बारेमा देखेर, भोगेर, नियालेर केही लेख्ने कोशिस गर्दै जाँदा कविता संग्रहले आकार लिएको कवि दयाल बताउँछन् । उक्त संग्रहमा पछिल्लो दुई–तीन वर्ष यता रचना गरिएका विविध भावका ३९ वटा कविता समाविष्ट छन् ।

कविता संग्रहबारे कवि राजेन्द्र तारकिणी भन्छन्–‘दयालको कविताका विषयवस्तु सिस्नो, च्याउ, कोदो, नासपातीदेखि राजनीतिक क्रान्ति अनि परिवर्तनका नाउँमा भएका धोकाधडीसम्म छन् । देश र जनताको मुहार फेर्ने हुङ्कारका साथ भएका जनयुद्ध एवं क्रान्तिका दौरान सोझासीधा जनता केवल ‘लौरो’ बनेको कारुणिक यथार्थ उनले उद्घाटन गरेका छन् ।

यस्तै, ‘लकडाउन’ गजलसंग्रह विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारीको पीडामाझ जन्मिएको कृति हो । संक्रामक रोग कोभिड नियन्त्रणका लागि विश्व नै लकडाउनमा जानु परेको, त्यसले जनजीवन अस्तव्यस्त बनाएको, नेपालले पनि उक्त कठोर नीति चाल्दा त्यसबाट सृजित समस्याहरू गजलमार्फत व्यक्त गरिएको छ । मानिसहरु रोजगारविहीन हुनु, घरभित्रै थुनिनु, अकालमा ज्यान गुमाउनु तर आफन्तले छुनसम्म नपाउनु जस्ता भयावह क्षणका प्रतिध्वनिका रुपमा यस संग्रहभित्रका गजलहरु रहेका छन् ।

संग्रहबारे गजलकार श्रेष्ठ प्रिया ‘पत्थर’ भन्छिन्–‘लकडाउनमा गरि खाने जनतालाई आफ्नै खालको पीडा छ । स्वतन्त्र जीवन, स्वतन्त्र विश्वको चाहनालाई लकडाउनले अस्तव्यस्त पारिदिएको छ । लकडाउनका यावत पीडालाई समेटेर गजलकारले यस सङ्ग्रहमा आफ्नो भावना व्यक्त गरेका छन् ।’

यसअघि पनि ‘आमने सामने’ लगायत चारवटा गजलकृति प्रकाशित भइसकेका छन् । उनका पछिल्ला कृति ‘बेवारिसे लौरो’ र ‘लकडाउन’ सम्पादन हाउसको सहकार्यमा काठमाडौँबाट युरेका पब्लिकेशनले बजारमा ल्याएको हो । ‘सम्पूर्ण किताब’ वितरक रहेको दुवै कृतिको मूल्य रु २०० राखिएको छ ।

Logo